मोदीले भारत भ्रमणको निमन्त्रणा गरेको प्रधानमन्त्री ओलीको दाबी

समय भए जेठअघि नै भारत भ्रमण हुने ओलीको संकेत

आइतबार, २३ चैत, २०८१
डिजिटल संस्करण
मोदीले भारत भ्रमणको निमन्त्रणा गरेको प्रधानमन्त्री ओलीको दाबी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली

  •  मोदीसँगको भेटपछि थाइल्यान्ड भ्रमणमा रहेका प्रतिनिधिमण्डलका उच्च अधिकारीसँग ओलीले सुनाएका थिए–मैले उहाँलाई (मोदीलाई) निमन्त्रणाको सम्झना गराएँ । मोदीजीले पहिले तपाईं भारत भ्रमणमा आउनुस्, त्यसपछि अनुकूल मिलाएर म नेपाल आउँछु भन्नुभएको छ ।
  •  काठमाडौं ओर्लिएपछि विमानस्थलमा प्रधानमन्त्री ओलीले भने–सगरमाथा संवादलगायतका कारणले हामी अलिकति व्यस्त छौँ । तर, हामीले समय मिलायौँ भने भ्रमण सगरमाथा संवादअघि (सगरमाथा संवाद जेठ पहिलो साता हुँदै छ) पनि हुन सक्छ । 

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भारत भ्रमणको निमन्त्रणा प्राप्त भएको उच्च सरकारी अधिकारीहरूलाई जानकारी गराएका छन् । पछिल्लोपटक प्रधानमन्त्री बनेको करिब नौ महिनापछि ओलीले भारत भ्रमणका लागि निमन्त्रणा पाएका हुन् । 

प्रधानमन्त्री ओलीका अनुसार मोदीले शुक्रबार थाइल्यान्डको बैंककमा भएको एकान्त भेटवार्ताका क्रममा उनलाई भारत भ्रमणको निमन्त्रणा दिएका हुन् । ‘मैले उहाँलाई (मोदीलाई) निमन्त्रणाको सम्झना गराएँ । मोदीजीले पहिले तपाईं भारत भ्रमणमा आउनुस्, त्यसपछि अनुकूल मिलाएर म नेपाल आउँछु भन्नुभएको छ,’ ओलीले प्रतिनिधिमण्डलमा रहेका उच्च अधिकारीसँग भनेका थिए । 

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले जेठअघि नै भारत भ्रमण हुन सक्ने संकेत गरे । ‘सगरमाथा संवादलगायतका कारणले हामी अलिकति व्यस्त छौँ । तर, हामीले समय मिलायौँ भने भ्रमण सगरमाथा संवादअघि पनि हुन सक्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले विमानस्थलमा औपचारिक निमन्त्रणा पाएकोबारे थप खुलाएनन् । बरु, यसअघि पनि भारत भ्रमणका लागि समस्या नरहेको उनले जिकिर गरे । ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव थियो र ? कतिपय कारणहरू (कहिले के काम पर्या हुन्छ, कहिले के काम),’ ओलीले भने, ‘भारत भ्रमण अवरुद्ध भो जस्तो बाहिर जे भनिएको छ, त्यस्तो होइन । भारत भ्रमण गर्न कसैले काँडेतार लगाएको छ र ? यसलाई ठिकै ढंगले बुझ्नुपर्छ ।’ 

शुक्रबारको वार्तामा ओलीले मोदीलाई सगरमाथा संवादका लागि दिएको निमन्त्रणा स्मरण गराएका थिए । नेपालले सरकारले २ देखि ४ जेठ ०८२ मा आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन असमर्थता जनाउँदै मोदीले ओलीलाई नै भारत आउन आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई पठाएको औपचारिक निमन्त्रणापत्र दिल्लीस्थित नेपाली राजदूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई बुझाइसकेको छ । प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई पनि सगरमाथा संवादमा सहभागी हुन बेइजिङस्थित नेपाली राजदूताासमार्फत निमन्त्रणा पठाएका छन् । 

छिमेकी चीनको भ्रमण सकेर फर्कने क्रममा प्रधानमन्त्री ओलीले २० मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत भ्रमण ‘एरेन्ज गर्नुपर्छ’ भनेका थिए । उनले २३ मंसिरमा झापाको दमकस्थित व्यापारिक कम्प्लेक्स उद्घाटनका क्रममा भारत भ्रमणमा जाने उद्घोष गरेका थिए । ‘मान्छेहरूले पत्याएका छैनन् होला, तर केही समयपछि भारत भ्रमणमा पनि जाँदै छु,’ ओलीको भनाइ थियो । त्यसवेलासम्म ओलीलाई मोदीको निमन्त्रणा आइसकेको थिएन । 

प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमासम्बन्धी समस्या तथा पाँच वर्षअघि तयार भएर थन्किएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन बुझ्ने विषयमा चर्चा गरेनन् । त्यसबारेमा मोदीसँग छलफल भए–नभएको उनले खुलाएनन् । यसैगरी नेपालको पछिल्लो राजनीतिक परिवेशबारे कुराकानी भए–नभएको पनि उल्लेख गरेनन् । तर, छिमेकमा समस्या देखिए तत्कालै संवाद गरेर टुंग्याउने समझदारी भएको ओलीले बताए । 

‘कहिलेकाहीँ छिमेकमा कुनै सानातिना समस्या देखिन पनि त सक्छन् नि ! त्यस्तो भइहालेमा तत्कालै संवाद गरिहाल्ने र तिनीहरूलाई टुंग्याउने भन्नेमा यसपटक गहिरो समझदारी गरेका छौँ,’ ओलीले भने, ‘भेटघाटबाट खुसी छु । कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’ प्रधानमन्त्री ओलीको पछिल्लो कार्यकाल ३१ असारमा सुरु भएदेखि नै उनले भारत भ्रमणलाई प्राथमिकतामा राखेका छन् । तर, औपचारिक भ्रमणको चाँजोपाँजो अझै मिलेको छैन । 

सुझावित समाचार