गौशालादेखि बानेश्वर, बालकुमारीसम्मै कर्फ्यु आदेश

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

राजावादी आन्दोलन उग्र हुँदै नियन्त्रणबाहिरै गएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु घोषणा गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले भर्खरै बानेश्वर–तीनकुनआसपासका क्षेत्रमा कर्फ्यु लगाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाइएको नयाँ पत्रिकालाई बताए। अहिले अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म चार किल्ला तोकी कर्फ्यु लगाइएको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को ६ (क) बमोजिम काठमाडौं महानगरपालिकाभित्रको पाँच क्षेत्रमा चार किल्ला तोकी कर्फ्यु लगाएको छ। कर्फ्यु लगाइएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ।

बानेश्वर तीनकुने क्षेत्रभित्रको गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुल र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु  घोषणा गरिएको छ।

सुझावित समाचार