सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी घटना दबाउन गाउँमै पञ्चायती बसेका वडासदस्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सिराहा जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको मंगलबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै वडासदस्य नथुनी साह सिराहा कारागार चलान भएका हुन् । ‘...निजको आरोपित कसुरमा संलग्नतामा विश्वास गर्न सकिने मनासिब आधार देखिएकाले पछि ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादी नथुनी साहलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय सिराहामा पठाइदिनू’ आदेशमा भनिएको छ । उनीमाथि जबर्जस्ती करणी मुद्दामा मिलापत्र गरेको, जातीय छुवाछुत तथा भेदभाव र आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।
अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार घटनामा संलग्न मुख्य आरोपी सांकेतिक नाम ०८१ लहान (ण)लाई नाबालक रहेकाले संरक्षकको जिम्मा लगाएको छ । फरार रहेका दुईजनाको हकमा कानुनबमोजिम हुने गरी म्याद जारी भएको छ ।
६ जनाबाट जनही डेढ लाख धरौटी माग, एकजना थुनामै
जबर्जस्ती करणी मुद्दामा मिलापत्रको मुद्दामा पक्राउ परेकामध्ये ६ जनासँग धरौटी माग भएकामा एकजना थुनामा गएका छन् । डेढ लाख धरौटी बुझाउन नसक्दा रामदेव सदा थुनामै रहेको अदालतका श्रेस्तेदार निरज पोखरेलले बताए ।
पञ्चायतीमा संलग्न रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भन्ने करिया मुसहर, सांकेतिक नाम ०८१ लहान ण ३ र ०८१ लहान ण ११ भने जनही एक लाख ५० हजार धरौटी बुझाएर छुटेका छन् ।
पञ्चायतीमा संलग्नको आरोप लागेका रामविनोद मण्डल र कमलेशकुमार दास भने साधारण तारेखमा छुटेका छन् । अदालतले रामविनय र कमलेश पञ्चायतीमा उपस्थित भई दर्शकको रूपमा रहेको देखिएको भनेको छ ।
गत २७ माघमा शौच गर्न घरबाट निस्किएकी रिंकुलाई अपहरण गरी सामूहिक बलात्कार गरेको घटना दबाउन २९ माघमा गाउँमै पञ्चायती बसेर एक लाख ५१ हजार जरिवाना गर्ने निर्णय सुनाइएपछि आरोपी पक्षको आग्रहबमोजिम ११ हजार छुट गरी एक लाख ४० हजार तिर्नुपर्नेबारेमा पुनः भोलिपल्टको पञ्चायतीमा पञ्चहरूबिच नै कुटाकुट भएको थियो । त्यही साँझ किशोरी आफ्नो घरको कोठामा शंकास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।
२३ फागुनसम्म किटानी जाहेरीमा नाम रहेका तीन किशोरमध्ये एक र पञ्चायती पाँचजना पञ्चमध्ये तीनजनासहित अन्य ६ गरी १० जनालाई पक्राउ गरी अदालतमा मुद्दा चलाइएको थियो ।
जाहेरी परेकामध्ये चारजना अझै फरार
जाहेरीमा नाम रहेका चारजना भने अझै फरार छन् । अपहरण तथा जबर्जस्ती करणीमा संलग्न दुई आरोपी किशोर र पञ्चायतीमा बसेका थप दुईजनासहित चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीको आरोप लागेका दुई नाबालक र पञ्चायतीमा बसेका रामपुकार मण्डल र रामप्रित साह फरार रहेको र खोजी भइरहेको डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
१ फागुनमा एकजनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरेको थियो । त्यसको एक सातापछि ८ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा मृतककी आमाले सामूहिक बलात्कारमा संलग्न तीनजना र पञ्चायत बसेका पाँचजना पञ्च गरी आठजनाविरुद्ध कर्तव्य ज्यान, बलात्कार र अपहरण तथा शरीर बन्धक, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुरमा पूरक जाहेरी दिएकी थिइन् ।