कुल गार्हस्थ्य उत्पादनमा सुधार

ऋणात्मक रहेका क्षेत्रमा देखियो सुधार

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण
  • ०८१/८२ को पहिलो त्रैमासको तुलनामा २.२ प्रतिशत र गत आवको दोस्रो त्रैमासको तुलनामा ५.१ प्रतिशत जिडिपी वृद्धि , कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक 

चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासमा पहिलो त्रैमासको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा २.२ प्रतिशतको वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा यस्तो वृद्धिदर ०.७ प्रतिशत मात्रै थियो । नेपालमा आर्थिक वर्षलाई त्रैमासिक आधारमा छुट्याएर हेर्दा पहिलो त्रैमासभन्दा दोस्रो त्रैमासमा आर्थिक गतिविधि बढ्ने भएकाले वृद्धिदर स्वाभाविक भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईले बताए । यद्यपि, गत आवको दोस्रो त्रैमासको तुलनामा देखिएको वृद्धिले भने थोरै सुधारको अनुभूति हुने उनको विश्लेषण छ । 

गत आर्थिक वर्ष ०८०/८१ को दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने तथ्यांक कार्यालयले जानकारी दिएको छ । गत आवको दोस्रो त्रैमासमा यस्तो वृद्धिदर ४ प्रतिशत मात्रै थियो । चालू आवको दोस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धि हुनुमा यातायात क्षेत्र, निर्माण क्षेत्र, कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयले जानकारी दिएको छ । 

समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ । खासगरी यस अवधिमा शिक्षा क्षेत्र, आवास तथा भोजन क्षेत्र र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको कार्यालयले जनाएको छ ।

ऋणात्मक रहेका क्षेत्रमा देखियो सुधार
चालू आवको पहिलो त्रैमासमा ऋणात्मक वृद्धिदर रहेका सात क्षेत्र दोस्रो त्रैमासमा सुधार भएका छन् । चालू आवको पहिलो त्रैमासमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन, पानी आपूर्ति तथा फोहोर व्यवस्थापन, निर्माण, व्यापार, पेसागत तथा वैज्ञानिक सेवा र प्रशासनिक तथा सहयोगी क्षेत्रको वृद्धिदर ऋणात्मक थियो । 

पहिलो त्रैमासमा १५.२ प्रतिशत ऋणात्मक देखिएको खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर दोस्रो त्रैमासमा २.३ प्रतिशत धनात्मक छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ०.५ प्रतिशत ऋणात्मकबाट २.६ प्रतिशत धनात्मक बनेको छ । पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर पहिलो त्रैमासमा ०.८ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा ०.८ प्रतिशत धनात्मक देखिएको छ । निर्माण क्षेत्रको वृद्धिदर १.४ प्रतिशत ऋणात्मक रहेकोमा दोस्रो त्रैमासमा ३.१ प्रतिशतले बढेको छ । थोक तथा खुद्रा व्यापार क्षेत्र ३ प्रतिशत ऋणात्मक रहेकोमा ३.४ प्रतिशतले धनात्मक देखिएको छ । पेसागत क्षेत्र ०.२ प्रतिशत ऋणात्मक रहेकोमा ०.३ प्रतिशत धनात्मक बनेको छ । प्रशासनिक तथा सहायक क्षेत्र १.२ प्रतिशत ऋणात्मक रहेकोमा ०.४ प्रतिशतले धनात्मक देखिएको छ ।

लामो समयदेखि मन्दीमा गएजस्तो देखिएको निर्माण क्षेत्रमा उल्लेख्य सुधार भएको छ । चालू आवको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको उत्पादन र आयात दुवैमा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०८०÷८१ को पहिला तीन त्रैमासमा ऋणात्मक वृद्धिदर व्यहोरेको निर्माण क्षेत्रले अन्तिम त्रैमासमा धनात्मक वृद्धिदर कायम राखेको थियो । तर, चालू आवको पहिलो त्रैमासमा पुन १.४ प्रतिशतले ऋणात्मक देखिएको निर्माण क्षेत्रको वृद्धिदरमा दोस्रो त्रैमासमा भने सुधार भएको छ । चालू आवको दोस्रो त्रैमासमा निर्माण क्षेत्रमा ३.१ प्रतिशतको वृद्धिदर हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १८ वटा औद्योगिक क्षेत्रमध्ये दुई क्षेत्रमा भएको ऋणात्मक वृद्धि तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि भएको हो । यद्यपि, यातायात तथा भण्डारण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ । ऊर्जा र आवास तथा भोजन सेवा क्षेत्र ऋणात्मक छन् । ऊर्जा क्षेत्रको वृद्धिदर ४.८ प्रतिशतले ऋणात्मक छ भने आवास तथा भोजन क्षेत्रको वृद्धिदर २.७ प्रतिशतले ऋणात्मक रहेको तथ्यांकले देखाएको छ । 

यातायात तथा भण्डारण क्षेत्रमा सबैभन्दा बढी ६.४ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउँदै वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर सामान्य वृद्धि २.६ प्रतिशत रहने कार्यालयको अनुमान छ । 

सुझावित समाचार