भारत निकासी भएको ३४ ट्रक प्लाइउड रानीगन्ज भन्सारको नियन्त्रणमा

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण
भारत निकासी भएको ३४ ट्रक प्लाइउड रानीगन्ज भन्सारको नियन्त्रणमा

भारतीय सीमाक्षेत्र पानीट्यांकीमा रोकिएका नेपाली प्लाइउड बोकेका ट्रक

  • बिआइएस नलिएका वस्तुको भन्सार जाँचपास नगर्ने भारतीय अधिकारीको अडान, चाँडो ट्रक फिर्ता नगरे स्क्र्याप गर्ने चेतावनी

मेची भन्सार हुँदै निर्यात गरिएको ३४ ट्रक प्लाइउड तीन सातादेखि भारतको पानीट्यांकीस्थित रानीगन्ज भन्सार कार्यालयको नियन्त्रणमा छ ।

नेपाली प्लाइउडले भारत गुणस्तर चिह्न (बिआइएस) प्राप्त नगरेको भन्दै भारतीय पक्षले निकासीमा अवरोध गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख राजेन्द्रप्रसाद चुँडालले जानकारी दिए । ‘नेपालबाट भन्सार प्रक्रिया पूरा गरेर भारत प्रवेश गरेको ३४ ट्रक प्लाइउड पानीट्यांकीमा रोकिएको छ,’ उनले भने, ‘विगत तीन सातादेखि प्लाइउडको निर्यात ठप्प छ ।’

२ चैत ०८० मा भारतले राजपत्र प्रकाशन गरेर तयारी प्लाइउड निकासीका लागि गत १६ फागुनसम्म अनिवार्य बिआइएस लिनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिसम्म बिआइएस नलिएको प्लाइउडलाई निकासीमा भारतले अवरोध खडा गरेको चुँडालले जानकारी दिए । नेपाली व्यवसायीले बिआइएस प्राप्त गर्न आवश्यक शुल्क तिरेर प्रक्रिया पूरा गरे पनि ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्सले गुणस्तर चिह्न नदिँदा निकासी हुन नसकेको उनले बताए । 

हालसम्म नेपालीका तीन ठुला उद्योग सेन्च्युर, ग्रिन र श्याम प्लाइउड उद्योगले मात्र बिआइएस लिएका छन् । यी तीन उद्योगको प्लाइउड नियमित निकासी भइरहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार देशभर ८० प्लाइउड उद्योग छन् । जसमध्ये ४७ वटाले भारततर्फ प्लाइउड निर्यात गर्दै आएका छन् । 

नेपालको प्लाइउड भारतको भन्दा गुणस्तरीय भएकाले माग पनि उच्च रहेको उनले बताए । ‘भारतीय भन्सारमा रोकिएका ट्रकका सामान के हुने भन्ने चिन्ता छ । अहिलेसम्म भारतमा ट्रक रोकिँदा २५ लाख हाराहारी नोक्सानी भएको छ,’ उनले भने, ‘तर, त्योभन्दा ठुलो मानसिक तनाव छ । सबै हारगुहार गरेर लागिरहेका छौँ ।’

बिआइएस लिन भारतकै ढिलासुस्तीले समस्यामा परेको अध्यक्ष घिमिरेले बताए । बिआइएस प्राप्त गर्न प्रक्रिया अघि बढाए पनि ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्सले गुणस्तर चिह्न दिन ढिलासुस्ती गर्दा समस्या भएको उनको भनाइ छ । भारतीय प्लाइउडका साना उद्योगलाई बिआइएस लिने म्याद आगामी १२ भदौसम्म दिएको, तर नेपाली प्लाइउडमा अवरोध सिर्जना गरेको भन्दै नेपाली साना उद्योगीलाई पनि सोही म्याद दिन पहल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रहसमेत गरिएको अध्यक्ष घिमिरेले बताए । 

See More On

सुझावित समाचार