अनौपचारिक भए पनि युरोपेली सुरक्षा परिषद् ट्रम्पको भूराजनीतिक ‘विनाशकारी खेल’लाई मत्थर बनाउन र युरोपमा सुरक्षा प्रत्याभूति गराउन प्रयासरत छ
भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको आक्रमण र डोनाल्ड ट्रम्पको एट्लान्टिक गठबन्धन अस्थिर पार्ने प्रयाससँगै युरोपेली सुरक्षा परिषद्को प्रारम्भिक रूप विकसित हुँदै छ । अमेरिकाको सैन्य समर्थनविना युरोप लोकतन्त्रको रक्षा र रुसलाई रोक्न सक्षम हुने वा नहुनेबारे चाँडै परीक्षण हुनेछ । नेटो सोभियत संघलाई रोक्न र युरोपेली प्रतिद्वन्द्विता दबाउन अमेरिकाको नेतृत्वमा स्थापित भएको थियो, तर अहिले अमेरिकी असहभागिताले युरोपलाई आफ्ना परमाणु हतियारयुक्त संरक्षकविहीन बनाउने खतरा देखिन्छ । ट्रम्पले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताको मूल्यमा पुटिनसँग सम्झौता गर्न खोज्दा युरोपेली नेताले नेटो र युरोपियन युनियन किभलाई सुरक्षा प्रत्याभूति दिन सक्दैनन् भन्ने बुझेका छन् । अहिले ‘इच्छुक राष्ट्रको गठबन्धन’ले विभिन्न राष्ट्रलाई मिलाएर युक्रेनलाई समर्थन र युद्धविरामका लागि सुरक्षा बल जुटाउने प्रयास गरिरहेको छ । यसको केन्द्रमा बेलायत, फ्रान्स, जर्मनी, पोल्यान्ड र इटली रहेका छन्, जसलाई ‘इ–फाइभ’ भनिन्छ र यसले स्थायी सुरक्षा परिषद्को आधार बन्न सक्ने सम्भावना बोकेको छ ।
यी पाँच राष्ट्रसँग युरोपका धेरैजसो आर्थिक उत्पादन, सैन्य शक्ति र राजनीतिक प्रभाव रहेको छ । बेलायत र फ्रान्स युरोपका परमाणु शक्ति सम्पन्न राष्ट्र तथा राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि हुन् । जर्मनी युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र हो र उसले आफ्नो संवैधानिक ऋण सीमा खुकुलो पार्दै रक्षाखर्चमा उल्लेखनीय वृद्धि गरेको छ । पोल्यान्ड नेटोभित्र सबैभन्दा ठुलो कुल गार्हस्थ उत्पादन अनुपातमा रक्षा खर्च गर्ने मुलुक हो र यहाँ छिट्टै युरोपकै सबैभन्दा ठुलो सेना रहनेछ । तर, इ–फाइभ कुनै आदर्श स्वरूप भने होइन । युरोपेली रक्षा र स्थिरताका पक्षधर नेता रहेका आठ नर्डिक र बाल्टिक राष्ट्रलाई समेत उचित स्थान दिनुपर्ने देखिन्छ । अर्कातर्फ इटलीको स्थान मूलतः उसको युरोपियन युनियन संस्थापक राष्ट्रको हैसियत तथा प्रधानमन्त्री जियोर्जिया मेलोनीको ट्रम्पसँगको राजनीतिक सम्बन्धका कारण सुरक्षित देखिन्छ, न कि उसले युक्रेनका लागि सैन्य जोखिम मोल्न इच्छुक भएकाले ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले पहिलोपटक सन् २०१७ मा युरोपेली सुरक्षा पहलको प्रस्ताव गरेका थिए, जसको उद्देश्य बेलायतको युरोपियन युनियन परित्याग (ब्रेक्जिट) पछि उत्पन्न भू–राजनीतिक क्षतिको न्यूनीकरण गर्नु थियो । तर, त्यतिवेला ब्रेक्जिटका घाउ आला थिए र यो सम्भव भएन । म्याक्रोँले सन् २०२२ मा रुसको युक्रेनमाथिको आक्रमणपछि पनि प्रयास गरेका थिए । नतिजा ‘४४ राष्ट्रयुक्त युरोपेली राजनीतिक समुदाय’को स्थापना भयो । यो मञ्चले हालसम्म कार्यकारी अधिकार वा सचिवालय त पाएको छैन, तर कम्तीमा पनि ‘स्वतन्त्र युरोप’का नेतालाई रणनीतिक छलफलका लागि एक ठाउँमा ल्याएको छ । गत सेप्टेम्बरमा ‘गार्डियन’मा प्रकाशित एक स्तम्भमा मैले युरोप युक्रेनलाई त्यसरी नै समर्थन गरिरहेको छ, जसले उसलाई बाँच्न त मद्दत गर्छ, तर जित्न पर्याप्त संशाधन दिँदैन भनेको थिएँ । एक नेटो अधिकारीले मलाई युरोपेलीलाई आफ्नो रक्षा क्षमता अभिवृद्धि गर्न अझ ठुलो झट्का आवश्यक पर्न सक्छ, जसरी रुसको आक्रमणले पहिलो झट्का दिएको थियो, भनेका थिए ।
ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनले दोस्रो झट्का दिएको छ । केही साताभित्रै उनले युद्धको सुरुवातबारे मस्कोको भाष्य अपनाए, जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै अपमानित गरे, उनलाई ह्वाइट हाउसमा अपमानजनक व्यवहार गरियो र किभलाई अमेरिकी हतियार एवं गुप्तचर जानकारीको आपूर्ति गर्न बन्द गरिदिए । उनले ग्रिनल्यान्ड (युरोपियन युनियन सदस्य राष्ट्र डेनमार्कको हिस्सा हो) माथि अमेरिकी नियन्त्रण पुनः स्थापना गर्ने, पनामा नहर पुनः कब्जा गर्ने र क्यानडालाई अमेरिकी ५१औँ राज्यका रूपमा गाभ्ने कुरा उठाएर आफ्ना साझेदारलाई झस्काएका छन् । ट्रम्पले नेटोका सदस्य राष्ट्रलाई यदि उनीहरूले आफ्नो रक्षाखर्च पूरा नगरेमा अमेरिका तिनको रक्षा गर्न अघि नबढ्ने चेतावनी दिएका थिए । उनका उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलनमा युरोपेली लोकतान्त्रिक मूल्यको विरोध गर्दै आक्रामक भाषण दिए भने अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युरोपेली राष्ट्रलाई आफ्नो सुरक्षाको जिम्मा आफैँ लिन चेतावनी दिएका थिए ।
लन्डन र पेरिसले ट्रम्पलाई केही हदसम्म संयमित बनाउने र युक्रेनलाई बचाउन युरोपेली तयारी गर्ने प्रयासमा नेतृत्व लिएका छन् । युरोपेली आयोगले १५ खर्ब युरोको ऋणमार्फत सामूहिक पुनः शस्त्रीकरण योजना अघि सारेको छ । विभिन्न रिपोर्टअनुसार बेलायत, फ्रान्स, जर्मनी र नर्डिक राष्ट्र मिलेर आगामी ५–१० वर्षमा अमेरिकाको नेटो जिम्मेवारी क्रमशः युरोपले सम्हाल्ने योजना बनाइरहेका छन् । र, यसलाई जुन महिनाको नेटो शिखर सम्मेलनअघि ट्रम्पसम्मुख प्रस्तुत गरिनेछ ।
यी सबै संकेतले अनौपचारिक रूपमा भए पनि एउटा युरोपेली सुरक्षा परिषद् क्रियाशील भइसकेको, जसले ट्रम्पको भूराजनीतिक ‘विनाशकारी खेल’को असर कम गर्न र युरोपमा सुरक्षा अभाव हुन नदिन प्रयास गरिरहेको भन्ने देखाएका छन् । ट्रम्प प्रशासनले नेटोको सर्वोच्च सैन्य पद ‘सुप्रिम एलाइड कमान्डर युरोप’, जसले सन् १९५१ देखि ट्रान्सट्लान्टिक सुरक्षा प्रत्याभूति प्रदान गर्दै आएको छ, त्यसलाई त्याग्ने सम्भावनाबारे सोचिरहेको खबरले यो संक्रमण क्रमिक, सहमतिपूर्ण र वार्तामा आधारित हुने भन्दा पनि अचानक, एकपक्षीय र अव्यवस्थित हुने सम्भावना धेरै भएको देखाउँछ । यदि त्यसो भयो र मौजुदा विश्व एक–अर्कालाई शोषण गर्ने ठुला शक्तिको अराजक खेलमैदान बन्दै गएको अवस्थामा युरोपेलीले आफ्नै सुरक्षाको जिम्मेवारी सम्हाल्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्नको ठोस परीक्षण हुनेछ ।
(टेलर युरोपियन पोलिसी सेन्टरका वरिष्ठ भिजिटिङ फेलो हुन्)
द गार्डियनबाट