महाबोधिमा हिन्दु अनुष्ठानले निम्त्याएको विवाद

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

भारतभरका बौद्ध धर्मावलम्बीले उनीहरूको सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक ‘महाबोधि टेम्पल’माथि हिन्दु नियन्त्रणको विरोधमा प्रदर्शन गरिरहेका छन् । बोधगयामा रहेको सो स्थलको स्वामित्व वौद्ध समुदायलाई हस्तान्तरण गर्नुपर्ने प्रदर्शनकारीको मुख्य माग छ । प्रदर्शनप्रति उत्तरमा लद्दाखदेखि, पश्चिममा मुम्बई र दक्षिणमा मैसुरु सहरसम्मका बौद्ध संगठनले ऐक्यबद्धता जनाएका छन् । विरोधमा सामेल हुन बोधगयामा आउने बौद्ध धर्मावलम्बीको संख्या बढिरहेको अभियानको नेतृत्व गरिरहेका ‘अखिल भारतीय बौद्ध मञ्च (एआइबिएफ)’ का महासचिव आकाश लामाले बताए । 

त्यस्तै मागको समर्थनमा ३० हजारभन्दा बढी हस्ताक्षर र विश्वभरका ५०० भन्दा बढी बौद्ध संगठनको ऐक्यबद्धता समेटेर एआइबिएफले विहार सरकारसमक्ष ‘बोधगया मन्दिर ऐन १९४९’ खारेज गर्न ज्ञापनपत्र बुझाएको छ । तर, मञ्चले राज्यबाट अहिलेसम्म कुनै ठोस जवाफ पाएको छैन । त्यस्तै ‘महाबोधि टेम्पलमा बौद्ध नियन्त्रणको मागमा ऐक्यबद्धता’ नामक अन्तर्राष्ट्रिय याचिकामा पाँच हजारभन्दा बढी हस्ताक्षर गरिएका छन् । अहिले भारतीय बौद्धहरूको मागले विश्वको ध्यान तानेको छ । तथापि, भारतभित्रैका मिडियाले भने यस विषयलाई खासै महत्व दिएका छैनन् । 

लाउडस्पिकर र ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका गेरु वस्त्रधारी भिक्षुसहितका प्रदर्शनकारीले ७६ वर्षअघि लागू भएको ‘बोधगया मन्दिर ऐन, १९४९’ माग चर्काइरहेका छन् । विहार सरकारले बनाएको यो ऐनले दिएको शक्तिलाई प्रयोग गर्दै हिन्दु पुजारीहरूले महाबोधि मन्दरमा बौद्ध धर्मको भावनाविरोधी अनुष्ठान गर्ने गरेको तिनको आरोप छ । मन्दिरपरिसरमा ‘बोधगया मठ’ नामक हिन्दु मठले पूजा अनुष्ठान गर्दै आएको छ । बोधगया मठले शताब्दीयौँदेखि उक्त पवित्र स्थलको मर्मतसम्भारमा आफूहरूले मुख्य भूमिका निभाएको र कानुनले आफूहरूलाई अनुष्ठान गर्ने अधिकार दिएको भन्दै प्रतिरक्षा गरेको छ । तर, प्रदर्शनकारीले भने मन्दिरमा भइरहेको हिन्दु अनुष्ठान बुद्धले दिएको शिक्षाविपरीत रहेको आँैल्याएका छन् । 

पुरानो गुनासो
महाबोधि मन्दरमा टेम्पलमा अनुष्ठान हुने गरेको गुनासो पहिलेदेखि उठ्दै आएको थियो । विभिन्न बौद्ध संघसंस्थाले बौद्ध तीर्थस्थलमा हिन्दु अनुष्ठान रोक्न स्थानीय, राज्य र राष्ट्रिय अधिकारीसमक्ष माग पेस गर्दै आएका छन् । सन् २०१२ मा दुईजना बौद्ध भिक्षुले भारतको सर्वोच्च अदालतमा ‘बोधगाय टेम्पल एक्ट, १९४९’ खारेज गर्न माग गर्दै निवेदन नै दायर गरेका थिए । तर, १३ वर्षपछि पनि सो मुद्दालाई सुनुवाइको सूचीमा राखिएको छैन । हालैका महिना भिक्षुहरूले पुनः राज्य र केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाएर यो विषयको विराधमा सडकमा जुलुस निकाल्न थालेका थिए ।

यो मुद्दा फेब्रुअरी २७ देखि चर्कियो, जब मन्दिरपरिसरमा १४ दिनदेखि भोक हडतालमा बसेका दुई दर्जनभन्दा बढी बौद्ध भिक्षुलाई राज्य प्रहरीले मध्यरातमा जबर्जस्ती मन्दिरपरिसरबाट हटायो । ‘के हामी आतंकवादी हौँ ? हामीले आफ्नै तीर्थस्थलमा बसेर किन विरोध गर्न नपाउने ?’ पश्चिमी राज्य राजस्थानको जयपुरबाट १५ अन्य प्रदर्शनकारीसँग आएकी राष्ट्रिय बौद्ध महासंघकी सचिव प्रज्ञा मित्र बोधले भनिन् । प्रहरीको कारबाहीपछि यो विषयको विरोधले तीव्र रूप लिएको छ ।

स्वामित्व परिवर्तनको इतिहास
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको महाबोधि मन्दिर सम्राट् अशोकले निर्माण गरेका थिए । बुद्धले यस स्थानमा ज्ञान प्राप्त गरेको लगभग २०० वर्षपछि ईसापूर्व २६० मा भारतीय सम्राट् अशोक यस ठाउँमा आएका थिए । सम्राट्ले बुद्ध धर्म अँगालेपछि बुद्धसँग जोडिएका महŒवपूर्ण स्थानको भ्रमण गर्दै त्यहाँ स्मारक बनाउँदै हिँडिरहेका थिए । १३औँ शताब्दीसम्म यो मन्दिर बौद्ध व्यवस्थापनमा रहेको पटना विश्वविद्यालयका मध्ययुगीन इतिहासका प्राध्यापक इम्तियाज अहमद बताउँछन् । तुर्की–अफगान सेनापति बख्तियार खिलजीको भारतमाथिको आक्रमणपछि यस भेगमा बौद्ध धर्मको पतन सुरु भएको अहमद बताउँछन् । 

युनेस्कोका अनुसार ब्रिटिस शासकले पुनर्निर्माण सुरु गर्नुअघि १३औँ र १८औँ शताब्दीको बिचको समयमा यो मन्दिर धेरै हदसम्म परित्यक्त रह्यो । तथापि, मन्दिरको वेबसाइटले भने फरक दाबी गर्छ । हिन्दु मठले चलाउने सो वेबसाइटमा लेखिएअनुसार सन् १५९० मा एकजना हिन्दु पुजारी घमन्डी गिरी मन्दिरमा आएर बस्न थाले । पछि गिरीले पूजा अनुष्ठान गर्न थाले । उनै गिरीले बोधगया मठ नामक हिन्दु मठ स्थापना गरेको पनि बेवसाइटमा उल्लेख छ । त्यसवेलादेखि सो मन्दिर उनै गिरीका वंशजले नियन्त्रण गर्दै आएका छन् । 

१९औँ शताब्दीको अन्त्यमा श्रीलंका र जापानबाट आएका बौद्ध भिक्षुले त्यस बौद्ध तीर्थस्थलको स्वामित्व बौद्धहरूको हुनुपर्ने माग राख्न थाले । यस मागलाई तीव्र बनाउन तिनले ‘महाबोधि समाज’ नै गठन गरे । विवाद बढ्दै गएपछि सन् १९०३ मा भारतका तत्कालीन ब्रिटिस नागरिक भायसराय लर्ड कर्जनले हिन्दु र बौद्ध पक्षबिच वार्ता गराएका थिए । तथापि, दुई समूहबिच कुनै सहमति भएन । पछि दुवै पक्षले आफ्नो माग पूरा गर्न राजनीतिक समर्थन जुटाउने प्रयासलाई तीव्रता दिए । सन् १९४७ मा भारतले ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेको दुई वर्षपछि विहार सरकारले ‘बोधगया मन्दिर ऐन, १९४९’ पारित गर्यो ।

‘बोधगया मन्दिर ऐन, १९४९’ले महाबोधि मन्दिरको व्यवस्थापनको जिम्मेवारी ‘बोधगया मठ’बाट आठ सदस्यीय समितिमा हस्तान्तरण गर्यो । ऐनअनुरूप गठन भएको ‘बोधगया मन्दिर व्यवस्थापन समिति(बिटिएमसी)’मा चार बौद्ध र चार हिन्दु हुने व्यवस्था छ । यसको नेतृत्व समितिका नवौँ सदस्य जिल्ला मजिस्ट्रेट अर्थात् भारतमा जिल्लाका शीर्ष निजामती कर्मचारीले गर्छन् । जिल्ला मजिस्ट्रेट सधैँजसो हिन्दु समुदायकै हुने गरेका छन् । यसले गर्दा समितिमा हिन्दु भावना हाबी हुने बौद्धहरूको आरोप छ । त्यसबाहेक मन्दिरको व्यवस्थापनको जिम्मेवारी समितिको भए पनि मन्दिर रहेको जमिन ‘बोधगया मठ’को नाममा छ । मठले त्यहाँको दैनिक गतिविधिको नियन्त्रण गर्दै आएको बौद्धमार्गी बताउँछन् । 

बोधगया मठले गर्ने हिन्दु अनुष्ठान बुद्धले दिएका शिक्षाको विपरीत भएको बौद्ध भिक्षुको आरोप छ । मन्दिरपरिसरमा विवादास्पद शिवलिंग राखिएको, हिन्दु मन्त्रसहितको संस्कार गरिएको, बुद्धलाई हिन्दु देवताका रूपमा पूजा गरिएको, बुद्धलाई शिक्षकभन्दा पनि हिन्दु अवतारको रूपमा प्रस्तुत गरिने कार्यबाट उनीहरू रुष्ट छन् । ‘समिति सदस्यहरूले महाबोधि महाविहारपरिसरभित्रको सधैँ नै शिवलिंग रहेको जोड दिँदै आएका छन् । तर, सत्य त्यो होइन । ३० वर्षअगाडिसमेत त्यहाँ शिवलिंग रहेको कुनै तथ्यांक भेटिँदैन । महाबोधि महाविहारको क्रमिक ब्राह्मणीकरण औँल्याउने जापानका बौद्ध भिक्षु सुरै ससाईले सन् १९९६ त्यहाँ भ्रमण गरेका थिए,’ ‘अखिल भारतीय बौद्ध मञ्च (एआइबिएफ)’का अध्यक्ष अजम्बु लामा भन्छन् । 

‘पहिलेदेखि हिन्दुहरूको स्वामित्वमा थियो महाबोधि’
‘ऐतिहासिक सत्यताका लागि हामी चिनियाँयात्री तथा विद्वान् ह्युयन साङले सन् ६२९ मा भारतको भ्रमण गर्दा लेखेका टिपोट पनि हेर्न सक्छौँ । उनले महाबोधिपरिसरभित्र अवलोकितेश्वरको मूर्तिबाहेक अन्य धर्मको कुनै निसाना नभएको लेखेका छन्,’ अजम्बु लामाले भने । उसो त बुद्धलाई लिएर धेरै मिथक छन्, जसमध्ये सबैभन्दा चर्चित उनी विष्णुको अवतार हुन् भन्ने छ । यसले बौद्ध धर्मको मौलिक पहिचानमाथि आक्रमण गर्ने बौद्ध भिक्षु बताउँछन् । 

उता हाल बोधगया मठको संरक्षक रहेका हिन्दु पुजारी स्वामी विवेकानन्द गिरी विरोध प्रदर्शनबाट विचलित छैनन् । उनले आन्दोलन ‘राजनीतिक रूपमा प्रेरित’ भएको आरोप लगाए । गिरीका अनुसार यो वर्षको अन्त्यमा विहारमा राज्यसभा चुनाव हुन लागेका सन्दर्भमा यो मुद्दा उचालिएका हो । ‘हाम्रो मठको शिक्षाले भगवान् बुद्धलाई ‘भगवान् विष्णुको नवौँ अवतार’ मान्दछ । हामी बौद्धहरूलाई हाम्रा भाइ सहर मान्छौँ,’ गिरीले भने । 

गिरीका अनुसार खासमा व्यवस्थापन समितिमा बौद्धलाई चार सिट दिनु हिन्दु पक्षको उदारता हो । ‘यदि बोधगया टेम्पल एक्ट, १९४९’ ऐन खारेज गरियो भने मन्दिर पूर्णतः हिन्दु स्वामित्वमा आउँछ । किनभने, ऐन आउनुअघि यसको स्वामित्व हामीसँग नै थियो,’ गिरीले प्रदर्शनकारीको आलोचना गर्दै भने, ‘मुस्लिम शासकको आक्रमणपछि बौद्धहरूले यो स्थान त्यसै छाडेका थिए । हामीले मन्दिरको संरक्षण र हेरचाह गर्यौँ । त्यसमाथि हामीले बौद्ध आगन्तुकलाई कहिल्यै ‘बाहिरिया’जस्तो व्यवहार गरेका छैनौँ ।’

उता विरोध प्रदर्शनको नेतृत्व गरिरहेका आकाश लामा बौद्ध प्रदर्शनलाई मूलधारका भारतीय मिडियाले बेवास्ता गरेको बताउँछन् । ‘केही मानिस आउँछन् र हाम्रो तस्बिर र अन्तर्वार्ता लिन्छन् । तर, मुख्य धाराका मिडिया आएका छैनन् । सायद ती मिडियामा प्रायः ब्राह्मण वा उच्च जातका हिन्दुहरू रहेकाले यस्तो भएको हो कि ? हामी धेरै मानिसमाझ पुगेर बोधगयामा के भइरहेको छ भन्नेबारे थप जागरुकता फैलाउन चाहन्छौँ,’ आकाश लामाले भने । 

आलम र शर्मा विभिन्न अन्तर्राष्ट्रिय मिडियासँग सहकार्य गरेको अनुभव भएका स्वतन्त्र पत्रकार हुन् । 

(अल जजिराबाट)

सुझावित समाचार