हेटौँडा उपमहानगरपालिकाले नियमित औषधि प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले क्षयरोगका बिरामीलाई सम्मान गरेको छ । उपमहानगरले विश्व क्षयरोग दिवस ‘मार्च २४’को सन्दर्भमा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन गरिरहेका १० जना बिरामीलाई सम्मान गरेको हो ।
नियमित औषधि सेवन, नियमित स्वास्थ्य परीक्षण र नियमअनुसार उपचार पूरा गरेका १० जनालाई पोषणयुक्त खानेकुरा र यातायात खर्चसहित सम्मान गरिएको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार बिरामीसहित नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामध्ये बिरामीको तथ्यांक दुरुस्त राखेको भन्दै सहरी स्वास्थ्य केन्द्र हेटौँडा– ११ की प्रमुख मीनाकुमारीलाई पनि सम्मान गरिएको छ ।
उनीहरूलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले पुरस्कार तथा सम्मान प्रदान गरेकी हुन्। उनले क्षयरोग अन्त्य गर्न सकिने उल्लेख गर्दै बिरामी आफैँ र परिवारसँगै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने बताइन् । स्वास्थ्य शाखाको तथ्यांकअनुसार उपमहानगर क्षेत्रमा पाँचवटा केन्द्रमार्फत खकार जाँच हुने गरेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म हेटौँडामा २०७ जना बिरामी दर्ता रहेका छन् ।