बागलुङमा आठ महिनामा १७९ नयाँ क्षयरोगका बिरामी

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

आज विश्व क्षयरोग दिवस, पछिल्ला दिनमा क्षयरोगको संक्रमण दर जिल्लामा भने बढ्दो अवस्थामा रहेको छ । जिल्लामा चालू वर्षको आठ महिनामा मात्रै १७९ क्षयरोगी भेटिएका छन् । जसमा ११४ पुरुष र ६७ जना महिला छन् । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षयरोगी सबैभन्दा बढी रहेको प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

दिवसको अवसरमा  कार्यालयले पत्रकारसँग अन्तर्क्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो । क्षयरोगको स्क्रिनिङ र कन्टयाकट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । सन् २०३५ सालभित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उनले बताए । 

अघिल्लो वर्षको आठ महिनामा २२७ क्षयरोगी भेटिएका थिए । यस वर्ष बडिगाड गाउँपालिकामा खोजी गर्न बाँकी छँदै यो संख्या आएको हो । गत वर्ष क्षयरोगकै कारण जिल्लाका १० जनाले ज्यानसमेत गुमाएको घिमिरेले जानकारी दिए । 

सबैभन्दा धेरै ढोरपाटनमा ४३ संक्रमित भेटिएका हुन् । त्यसपछि बडिगाडमा ३८ जना, गलकोटमा २८ जना, बागलुङ नगरपालिकामा २७ जना संक्रमित छन् । निसीखोलामा १४ जना, जैमिनीमा सात, बरेङमा चार, काठेखोलामा सात, ताराखोलामा चार र तमानखोलामा तीनजना संक्रमित भेटिएका हुन् । पछिल्लो समय खोज पनि बढाइएको घिमिरेले बताए । 

अझै पनि सम्भावित संक्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजबाट मात्र निवारण सम्भव भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताए । अहिले पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोग मुक्त बनाउने अभियानसमेत चलेको छ ।

गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन् । उक्त अभियानका लागि खोजलाई पनि तीव्रता दिइएको बताए ।
 

See More On

सुझावित समाचार