प्रधानमन्त्री कपमा किरणको दोस्रो शतक

गण्डकी र कोशीविरुद्ध शतकीय इनिङ्स खेलेका किरण ठगुन्ना ३३७ रनका साथ सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमका किरण ठगुन्नाले प्रधानमन्त्री एकदिवसीय क्रिकेट (पिएम) कपमा दोस्रो शतकीय इनिङ्स खेलेका छन् । किरणले आइतबार लहमीमा कोशी प्रदेशविरुद्ध ११५ रन बनाएका हुन् । उनकै शतकीय सहयोगमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाएर २४२ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा कोशी ४५.१ ओभरमा २११ रनमा समेटियो । किरणले यसअघि गण्डकी प्रदेशविरुद्ध १२१ रन बनाएका थिए । प्रतियोगितामा उनी व्यक्तिगत सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लेका छन् । 

पिएम कपमा किरणले आठ इनिङ्समा ३३७ रन जोडेका छन् । त्रिभुवन आर्मी क्लबका तृतराज दास दोस्रो स्थानमा झरेका छन् । उनले आठ इनिङ्समा ३३३ रन जोडेका छन् । लुम्बिनीका प्रज्वल थापा २७० रनका साथ तेस्रो स्थानमा छन् । प्रतियोगितामा सुदूरपश्चिमको यो तेस्रो जित हो । ६ अंकका साथ सुदूरपश्चिम सातौँ स्थानमा छ । कोशी २ अंकका साथ नवौँ स्थानमा छ । 

कोशीविरुद्ध चम्के किरण
सुदूरपश्चिमले कोशीविरुद्ध गतिलो ब्याटिङ गर्न सकेन । किरणबाहेक अन्य कोही खेलाडी चल्न सकेनन् । छैटौँ क्रममा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा १२ चौका र चार छक्का प्रहार गरी टोलीलाई मध्यम योगफलसम्म पु¥याएका थिए । उनी क्रिजमा आउँदा सुदूरपश्चिम ६५–५ को अवस्थामा थियो । कोशीले सुदूरपश्चिमलाई ३२ अतिरिक्त रन दिएको थियो । सुदूरपश्चिमका ओपनर टेक रावतले २२ बलमा १६ तथा कप्तान नारायण जोशीले २६ बलमा १४ रन जोडेका थिए । बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४८ रन खर्चेर सर्वाधिक चार विकेट लिए । प्रत्युत्तरमा कोशीका लागि ओपनर सकिब हकले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ६६ बलमा ११ चौका प्रहार गरेका थिए । कोशीका ऐस भट्टराईले ९० बल खेलेर ३६ रन बनाए ।  

आर्मी १३१ रनले विजयी
प्रतियोगिताको ३५औँ खेलमा त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकाल्यो । सिद्धार्थनगरमा पहिलो ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनायो । प्रत्युत्तरमा लुम्बिनी २७.१ ओभरमा ११२ रनमा समेटियो । लुम्बिनीलाई सस्तैमा अलआउट गर्न सहाब आलमले सर्वाधिक चार विकेट लिए । 

सुझावित समाचार