अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका- ६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुंगे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुल खेती सुरु गरेका हुन् ।
हात्तीढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु. २५ हजार भाडा तिर्ने गरी भिरालो जग्गामा तरुल खेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु. एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।
किसान समूहले वन तरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वन तरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बिउ जंगलबाट नै संकलन हुने गरेको छ ।
गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बिउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।