ट्रम्प किन बन्द गर्न चाहन्छन् शिक्षा विभाग ?

आइतबार, १० चैत, २०८१
डिजिटल संस्करण

शिक्षा विभाग बन्द गर्न खोज्नु शिक्षामा संघीय सरकारको भूमिका घटाउनु र उग्र दक्षिणपन्थी विचारधारालाई प्रोत्साहन गर्नु हो

डाेनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातमै शिक्षा विभाग बन्द गर्ने बताएका थिए, जसलाई उनले २० मार्च २०२५ मा कार्यकारी आदेशद्वारा कार्यान्वयन थालनी गरेका छन् । यो निर्णय हेरिटेज फाउन्डेसनद्वारा प्रस्तावित ‘प्रोजेक्ट २०२५’ को हिस्सा हो, जसले १९७९ मा स्थापित शिक्षा विभागलाई समाप्त गर्ने योजना बनाएको छ । शिक्षा विभागले संघीय विद्यार्थी ऋण र के–१२ स्कुलका लागि अनुदानको व्यवस्थापन गर्दै सार्वजनिक विद्यालयलाई संघीय कानुन पालना गर्न निर्देशन दिन्छ । यसको वार्षिक बजेट दुई खर्ब ६८ अर्ब डलर थियो र यहाँ चार हजारभन्दा बढी कर्मचारी थिए । ट्रम्पले शिक्षा विभाग बन्द गर्न चाहनुका सम्भावित कारणमा संघीय नियन्त्रण कम गर्ने चाहना, शिक्षा नीतिमा राज्य र स्थानीय सरकारको भूमिका बढाउने सोच र उग्र–दक्षिणपन्थी विचारधारा समेटिएको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनको प्रभाव आदि हुन सक्छन् । ट्रम्पको मागा अभियानबारे मैले मानवशास्त्रीय अध्ययन गर्दै आएको छु । ट्रम्पको कार्यकारी आदेशका पछाडि निम्न कारण छन् :  

१. शिक्षा विभागको कथित ‘वोक’ मानसिकता : सबैभन्दा पहिले ट्रम्प र उनका समर्थक उदारवादीले सार्वजनिक शिक्षालाई बर्बाद गरिरहेका छन्, जसले उनीहरूले भन्ने गरेको ‘कट्टरपन्थी वोक एजेन्डा’ (प्रगतिशील विचारलाई अमेरिकाका दक्षिणपन्थी वोक शब्द प्रयोग गरेर हियाउँछन्) लागू गरेका छन्, जसले पहिचानको राजनीति र राजनीतिक रूपमा उचित मानिने सामूहिक चिन्तालाई प्राथमिकता दिन्छ । र, उनीहरूका भनाइअनुसार यसले पुरातनपन्थलगायत विचारधारा भएकाको स्वतन्त्र अभिव्यक्तिलाई खतरामा पार्छ । ट्रम्प समर्थकले ‘कट्टरपन्थी लैंगिक विचारधारा’ लागू गरेको आक्षेप लगाउँदै आएका छन्, जसले ट्रान्सजेन्डर विद्यार्थीलाई स्कुल खेलकुद समूहमा खेल्न दिने वा तिनको लैंगिक पहिचानअनुसार शौचालय प्रयोग गर्न दिनेजस्ता नीतिलाई प्रवद्र्धन गर्ने दाबी गर्छन् । ट्रम्पले बारम्बार नश्लीय विभेद र लैंगिकतालाई शिक्षाबाट हटाउने प्रतिज्ञा गर्दै आएका छन् । 

२. अमेरिकी माक्र्सवादी प्रोपोगान्डा : मागा समर्थकका लागि ‘कट्टरपन्थी वामपन्थी’ वोक प्रवृत्ति भएका उदारवादीको लामो समयदेखिको प्रयासको एक अंश हो, जसले आफ्ना कथित माक्र्सवादी विचारले अरूको ‘बुद्धि भुट्ने’ प्रयास गर्दै साम्यवादलाई समर्थन गर्छ । यो ‘अमेरिकी माक्र्सवाद’ ष्डयन्त्रको सिद्धान्तको एक तप्काले ‘माक्र्सवादी प्रोपगान्डा’ अमेरिकी सार्वजनिक शिक्षाको उत्पत्तिदेखि नै चलिआएको दाबी गरेका छन् । यस्ता कट्टरपन्थी समर्थक र ‘माक्र्सवादी’ प्राज्ञिक प्रभावको सामना गर्न चाहने ट्रम्पले २९ जनवरीमा कार्यकारी आदेश जारी गरेका छन्, जसमा ‘क्याम्पस एन्टी–सेमिटिज्म’ (क्याम्पसमा हुने यहुदीद्वेष) विरुद्ध लड्ने र ‘के–१२ विद्यालयमा कट्टरपन्थी प्रोपगान्डा’ अन्त्य गर्ने बताएका थिए । 

३. विद्यालय छनोट र अभिभावक अधिकार : ट्रम्प समर्थकले ‘वोक’ विचारधारायुक्त संघीय सार्वजनिक शिक्षा नीतिले मानिसको आधारभूत स्वतन्त्रता र अधिकारलाई उल्लंघन गर्ने दाबी गर्छन् । यो विचार ट्रम्प समर्थकले भन्ने गरेको ‘अभिभावक अधिकार पुनस्र्थापना’सम्म पुग्छ, जसमा बच्चाले लिंग परिवर्तन गर्छ वा सार्वजनिक विद्यालयमा लैंगिक एवं यौनिक पहिचानबारे सिक्छ भन्ने पनि समावेश छ ।

ट्रम्पले २९ जनवरीमै ‘परिवारका लागि शैक्षिक स्वतन्त्रता र शैक्षिक अवसर विस्तार’ नामक कार्यकारी आदेश जारी गरेका छन्, जसले सरकारले उपलब्ध गराउने भौचर प्रयोगको विस्तारका लागि मार्गप्रशस्त गर्छ । यो भौचरले अभिभावकलाई आफ्ना सन्तानलाई घर वा धार्मिक विद्यालयमा भर्ना गर्ने छुट दिन्छ । यसले ट्रम्पको प्रोजेक्ट २०२५ लाई प्रत्यक्ष रूपमा प्रतिध्वनित गर्छ जसमा शिक्षा विभागलाई परिवारलाई विविध छनोट गर्न शैक्षिक छनोटको सुविधा दिन निर्देशन दिइन्छ ।

४. कर्मचारीतन्त्रको ढिलासुस्ती : मागा अनुयायीका लागि शिक्षा विभाग सरकारी अकुशलता र ढिलासुस्तीको उदाहरण हो । प्रोजेक्ट २०२५ ले उदाहरण दिँदै सन् १९७९ मा कार्टर प्रशासनले स्थापना गरेदेखि शिक्षा विभाग आकारमा फुलेको छ र विशेष स्वार्थ समूहको प्रभावमा परेको छ र अहिले अकुशल ‘वोक शिक्षा’ सिन्डिकेटका रूपमा काम गर्छ । यसलाई सम्बोधन गर्न प्रोजेक्ट २०२५ ले विभागका सबै संघीय कार्यक्रम र पैसा अन्य एजेन्सी र राज्यलाई स्थानान्तरण गर्न सिफारिस गरेको छ । यो सिफारिस ट्रम्पको व्यापक प्रयाससँग मेल खान्छ, जसले उनी र उनका मागा समर्थकले मान्ने गरेको बेतुके खर्चलाई समाप्त गर्न र सरकारलाई नियमनमुक्त पार्छ ।

ट्रम्पले २० जनवरीमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जहाँ अर्बपति इलोन मस्कको नेतृत्वमा नियमनकारी सरकारी कुशलता विभाग स्थापना पर्छ । मस्कले ४ फेब्रुअरीमा ट्रम्प ‘शिक्षा विभागलाई अन्त्य गर्न सफल हुनेछन्’ भनेका थिए ।

ट्रम्पले शिक्षा विभागलाई समाप्त पार्न सक्ने सम्भावना : ट्रम्पको शिक्षा विभाग बन्द गर्ने कार्यकारी आदेशले निश्चित रूपमा अदालतमा कानुनी चुनौती खडा गर्नेछ । साउथ डकोटाका रिपब्लिकन सिनेटर माइक राउन्ड्सले नोभेम्बर २०२४ मा विभाग बन्द गर्ने विधेयक पेस गरेका थिए । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अन्य सरकारी एजेन्सी पनि बन्द गरेका छन्, जसमा मुख्यतः युएसएड पर्छ । एक संघीय न्यायाधीशले १८ मार्चमा युएसएड बन्द गर्ने कार्यले संविधान उल्लंघन गरेको भन्दै ट्रम्प प्रशासनलाई युएसएडका सबै कर्मचारीलाई इमेल र कम्प्युटरमा पहुँच दिन आदेश दिएका छन् ।

शिक्षा विभागलाई बन्द गर्न कानुनी रूपमा कांग्रेसको मन्जुरी र सिनेटमा ६० मत आवश्यक छन्, जसको सम्भावना कम छ, किनभने रिपब्लिकनसँग मात्र ५३ सिट छन् । यी कानुनी चुनौतीका बाबजुद ट्रम्पको २० मार्चको कार्यकारी आदेशले शिक्षा विभागलाई थप कमजोर भने बनाउनेछ । 

(हिन्टन रुट्जर्स विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट

 

सुझावित समाचार