राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा उनको जन्मस्थानको एक क्षेत्रलाई ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय भएको छ। मर्स्याङ्दी गाउँपालिका–९ खुदी पुलवारिको क्षेत्रलाई उनको नामबाट नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। गुरुङका अनुसार सावित्राको फोटोसहितको होडिङ बोर्ड राख्दै औपचारिक रूपमा ‘साम्बा चोक’ नामकरण गरिनेछ।
२०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९, पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छन्। यो क्षेत्र अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङ जाने मुख्य मार्ग मर्स्याङ्दीको प्रसिद्ध खुदीबजार क्षेत्रमा अवस्थित छ।
गाउँपालिकाले यो नामकरणले सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। सन् २०१४ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएकी २७ वर्षीया सावित्राले हालसमम ५३ खेलमा सर्वाधिक ५७ गोल गरिसकेकी छिन्। उनले नेपालको एपिएफ क्लब हुँदै माल्दिभ्स, भारत र इजरायलका व्यावसायिक फुटबल क्लबबाट खेलिसकेकी छिन्।
हाल सावित्रा फ्रान्सेली क्लब एन अभान्ट ग्वेङगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन्। शुक्रबार मात्रै उनले पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध दुई गोल गरेकी थिइन्। यद्यपि उनको टिम ६–२ ले पराजित भएको थियो।