अफगानिस्तानले विश्व क्रिकेटमा ठुला टोलीलाई स्तब्ध पार्दा नेपाली खेलाडी, समर्थक र शुभचिन्तक भन्ने गर्छन्, ‘नेपालले विश्वकपमा हराएको टोली आज कहाँबाट कहाँ पुग्यो ? हामी भने जहाँको त्यहीँ छौँ ।’ नेपालले सन् २०१४ मार्च २० मा आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो ।त्यो विश्वकपको विशेषता भनेकै सहरकेन्द्रित नेपाली क्रिकेटको लोकप्रियतालाई बाढी नै ल्याउँदै गाउँगाउँमा पुर्याउनु थियो । त्यही विश्वकपले विश्वको ध्यान नेपालतर्फ तानेको थियो । त्यो माहोलबाट झिमरुक–४ बांगे पनि अछुतो थिएन ।
भर्खर बिजुली पुगेको गाउँमा मोबाइल सिमको टावर राम्रोसँग टिप्दैनथ्यो । टिभी भएका घर औँलामा गन्न सकिनेजति मात्रै थिए । सामसुङ र नोकियाका सादा फोन चलाउनेको सान नै फरक थियो । रेडियोका ठुला सेटलाई यी फोनले विस्थापित गर्दै थिए । स्मार्ट फोन र इन्टरनेट सपना थिए । अहिले त भर्खर जन्मेकादेखि लक्का जवान वा वृद्धवृद्धासम्म सबैका हातहातमा स्मार्ट फोन पुगेका छन् । अनि, सामाजिक सञ्जाल र फोन अभिन्न अंग भइसकेका छन् । एक दशकमै सूचना, सञ्चार र प्रविधिले नेपालका गाउँघरमा मारेको फड्को ‘मिराकल’जस्तै छ ।
सन् २०१४ को त्यो विश्वकपको लाइभ हेर्न गाउँका एकजना दाइलाई मैले तीन दिनदेखि फकाउँदा बल्लतल्ल मानेका थिए । खेल दिउँसो ३ बजेपछि हुँदा छुट्ने डरले स्कुल नै गइएन । तर, त्यो दिनभरि गाउँमा बिजुलीको लाइन नै आएन । जिल्लामै १२ मेघावाटको जल विद्युत् उत्पादन भए पनि बत्ती नआउँदा कम्ता रिस उठेको थिएन ।
लाइभ हेर्न नपाएपछि रेडियो र एसएमएसबाट निरन्तर अपडेट सुन्नु र हेर्नुपर्यो । रेडियोमा ब्याट्री अनि फोनमा ब्यालेन्स सकिने डर पनि त्यति नै थियो । तर, सेकेन्ड सेकेन्डमा अपडेट हेर्न मन लाग्ने । टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि सुवास खकुरेलले ५३ बलमा सर्वाधिक ५६ रन जोडे । नेपालले सन् १९९६ र अफगानिस्तानले सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरुवात गरेका हुन् । तर, उदयसँगै अफगानिस्तान नेपालमाथि निरन्तर हाबी बनिरहेको थियो ।
बलिङ त नेपालको सदावहार हतियार नै हो । ब्याटिङ सुधारका लागि सुरुमा उमेर समूह, स्कुल, क्लब, एकेडेमी, कलेज हुँदै जिल्ला र प्रदेशमा सकेसम्म काम गर्नुपर्छ ।
शक्ति गौचन र वसन्त रेग्मी त्यो समयका एसोसिएटका उत्कृष्ट स्पिन जोडी थिए । अनि, भर्खर टोलीमा आएका सोमपाल कामीको जोस र गति तथा जितेन्द्र मुखियाको योर्करले बलिङ निकै मजबुत थियो । त्यसैले नेपालले १४१ रन डिफेन्ड गर्यो । अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्रै जोड्न सक्यो र नेपालले ऐतिहासिक जित हासिल गर्यो । जितेन्द्र ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै नेपालको जितका हिरो बने । अनि योर्कर किंगका रूपमा चर्चित पनि बने ।
पछि हङकङले पनि चमत्कार गर्दै बंगलादेशलाई हरायो । समान ४–४ अंक भएपछि नेट रनरेटका कारण नेपाललाई पछि पार्दै बंगलादेश सुपर १० पुग्यो । तर, विश्व क्रिकेटले नेपालको तारिफ खुलेरै गर्यो । अब एसोसिएटमा नेपालले राज गर्ने र चाँडै टेस्ट मान्यता पाउने अनुमान लगाउनेको संख्या ठुलै थियो । मैदानमा दम देखाए पनि देशमा हरेक कुरामा कन्तबिजोगको अवस्था थियो । स्वदेश फर्केपछि खेलाडी सेवा सुविधा माग राख्दै नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आन्दोलनमै उत्रिए । चुनाव विवादका कारण आइसिसीले २०१६ मा क्यानलाई निलम्बन गर्यो । क्यान निलम्बन, कमजोर घरेलु संरचना, लगानी र अन्तर्राष्ट्रिय खेलको अभावमा नेपाल अघि बढ्न सकेन । नेपालले एक वर्षपछि छनोटमा खराब प्रदर्शन गर्दै भारतमा हुने विश्वकप गुमायो । त्यसपछि नेपालको दुर्गति सुरु हुँदा अफगानिस्तान भने अघि बढेकोबढ्यै भयो ।
पछिल्ला दुई वर्षको अन्तर्राष्ट्रिय सफलताले नेपाली क्रिकेट फेरि जुर्मुराएको छ । सरकार र निजी क्षेत्रले लगानी गर्न तँछाडमछाड गरिरहेका छन् । विश्व क्रिकेटको ध्यान नेपालतर्फ तानिएको छ ।
नेपालसँगको त्यो हारपछि अफगानिस्तानले आइसिसीका सबै विश्वकप (तीन एकदिवसीय र चार टी–२०) नियमित खेलेको छ । त्यति मात्रै होइन, २०२४ को टी २० विश्वकपमा त विश्व क्रिकेटकै सबैभन्दा सफल देश अस्ट्रेलियालाई हराउँदै सेमिफाइनल नै खेल्यो । तर, नेपाललाई पुनः विश्वकप खेल्न १० वर्ष लाग्यो । घरेलु मैदानमा छनोट हुँदा पुनः विश्वकपमा फर्किन सहज भयो । हालसम्म टेस्ट टोलीलाई नेपालले हराएको छैन । अफगानिस्तानले भारतबाहेक अन्य सबै शीर्ष टोलीलाई स्तब्ध पारिसकेको छ । २०२३ को एसिया कपमा भारतसँग खेल्ने अवसर पाएको नेपालले अस्ट्रेलिया र इंग्ल्यान्डसँग मैदानमा उत्रिने मौका भने पाएको छैन ।
सन् २०१७ जुनमा आयरल्यान्ड र अफगानिस्तानले सँगै टेस्ट मान्यता पाए । नेपाल डिभिजन टु मा घटुवा भयो । क्यानडाविरुद्ध करण केसीको मिराकल खेल प्रस्तुतिले सन् २०१८ मार्चमा ओडिआई मान्यता पायो । अघिल्लो महिना मात्रै अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा विश्वकप विजेता इंग्ल्यान्डलाई ८ रनले स्तब्ध पा¥यो । गत वर्ष नोभेम्बरमा टी–२० विश्वकपमा क्रिकेटको पावर हाउस अस्ट्रेलियालाई ४ रनले स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनल खेल्यो । उसले सन् २०२३ को टी–२० विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तानलाई स्तब्ध पारेको थियो । २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई ९१–७ को अवस्थामा पु¥याए पनि ग्लेन म्याक्सवेलले इतिहासकै उत्कृष्ट २०१ रनको इनिङ्स खेल्दै अफगानिस्तानको सेमिफाइनल सपना तुहाएका थिए ।
आखिर अफगानिस्तानको मिराकलको राज के हो त ? सन् २०२३ को एकदिवसीय विश्वकप होस् वा सन् २०२४ को टी–२० विश्वकप, जहाँ स्पिनर सहयोगी पिच हुन्छ, त्यहाँ अफगानिस्तानको राज चलेको देखिन्छ । दमदार प्रदर्शनको मुख्य कारण त्यही हो । रासिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान, नुर अहमद र अल्लाह घजान्फरजस्ता एक से एक विश्वस्तरीय स्पिनर अफगान टोलीमा छन् । इंग्लिस, अफ्रिकन र युरोपेली टोलीको कमजोरी नै स्पिन हो । त्यसको भरपूर फाइदा अफगानिस्तानले उठाउँदै आएको छ ।
पछिल्लो समय त भारतपछिको सबैभन्दा राम्रो स्पिन आक्रमण टोलीका रूपमा अफगानिस्तानले आफूलाई उभ्याएको छ । यी पाँच स्पिनरसँगै रहमानउल्लाह गुरबाज, आजमतुल्लाह ओमरजाई, फजलहक फारुकी, गुलाबदिन नाइबलगायत पहिलो रोजाइका खेलाडी आइपिएलसँगै विश्वभरका लिग निरन्तर खेलिरहेका छन् । विश्वभरका लिगमा चर्चित खेलाडीसँग खेल्दा अफगान खेलाडीको क्षमतामा आमूल परिवर्तन भएको छ । अफगानिस्तानले आर्थिक अभावमा ठुला टोलीसँग निकै कम सिरिज खेल्ने गरेको छ । तैपनि उसको खेलमा अकल्पनीय सुधार हुँदै गइरहेको छ ।
२०२१ मा तालिबानको कब्जापछि धेरै खेलाडी अफगानिस्तानबाहिरै बस्न रुचाउँछन् । अफगानिस्तानमा निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छन् । ठुला टोलीहरू अफगानिस्तान जान नमान्ने हुँदा उसले युएईमा बढी सिरिज खेल्दै आएको छ । इंग्ल्यान्डका पूर्वब्याटर जोनाथन ट्रट मुख्य प्रशिक्षक बनेपछि ब्याटिङमा पनि त्यति नै सुधार आएको छ ।
नेपालले अफगानिस्तानबाट सिक्ने कि थकथकी गर्ने ? यो प्रश्न यतिखेर ज्वलन्त रूपमा खडा भएको छ । नेपाल २०२४ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध भयो भने बंगलादेशविरुद्ध उसले उत्कृष्ट बलिङ गरेको थियो । तर, क्रिकेटमा जित्न ब्याटिङ र बलिङ दुवै उत्कृष्ट हुनुपर्छ । बलिङ त नेपालको सदावहार हतियार नै हो । ब्याटिङ सुधारका लागि सुरुमा उमेर समूह, स्कुल, क्लब, एकेडेमी, कलेज हुँदै जिल्ला र प्रदेशमा सकेसम्म काम गर्नुपर्छ । कम्तीमा हरेक जिल्ला र प्रदेशमा स्तरीय प्रशिक्षक हुनुपर्छ । ६ महिना घरेलु क्रिकेटमा व्यस्त हुनुपर्छ । अनि, विश्वस्तरीय अनुभव बोकेका ब्याटिङ प्रशिक्षक, मुख्य प्रशिक्षकसँगै सम्भावना बोकेका खेलाडीलाई विदेशमा निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउनुपर्छ । सिनियर टोली मात्रै होइन, घरेलु प्रतियोगिता खेलेर पनि खेलाडी बाँच्न सक्ने वातावरण बन्न सक्नुपर्छ ।
पछिल्ला दुई वर्षको अन्तर्राष्ट्रिय सफलताले नेपाली क्रिकेट फेरि जुर्मुराएको छ । सरकार र निजी क्षेत्रले लगानी गर्न तँछाडमछाड गरिरहेका छन् । विश्व क्रिकेटको ध्यान नेपालतर्फ तानिएको छ । बिस्तारै खेलाडीले विदेशी लिग खेल्न थालेका छन् । घरेलु प्रतियोगिता बढ्न थालेका छन् । युवा खेलाडीको उदय त्यति नै उत्साहजनक छ । नेपालले ठुला टोलीविरुद्ध खेल्न थालेको छ । खेलाडी खेलेर बाँच्ने आधार बन्दै छ । यिनै कुरा सन् २०१४ लगत्तै भएको भए सायद आज अफगानिस्तान जहाँ छ, त्यहाँ नेपाल पनि हुन सक्थ्यो । किनभने स्पिन नेपालको पनि मुख्य हतियार हो । स्पिनसँगै अन्य ‘डिपार्टमेन्ट’ पनि अफगानिस्तानले जस्तै सुधार गर्नु आवश्यक छ ।
(जिसी खेल पत्रकार हुन्)