कपिलवस्तुमा बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रथम दिन ९१ विद्यार्थी अनुपस्थित रहेका बताइएको छ। अंग्रेजी विषयको पहिलो दिन नियमित र ग्रेडवृद्धि गरी ९१ अनुपस्थित रहेको शिक्षा तथा समन्वय इकाइकी प्राविधिक सहायक सीता घिमिरेले बताइन् ।
जिल्लाका १६७ विद्यालयका सात हजार ७२२ नियमिततर्फ र ३७९ ग्रेड वृद्धि गरी कुल आठ हजार ३१९ जना परीक्षामा उपस्थित रहेका थिए । जिल्लामा कुल नौ हजार ४६१ जनाले परीक्षामा सहभागी हुने गरी तयारी गरिएको बताइएको छ ।
जिल्लामा तीनजना दृष्टिविहीन र एकजना शारीरिक अपांगले समेत परीक्षा दिएको घिमिरेले बताइन्। सूर्योदय मावि बरवामा, वाणगंगा मावि सिद्धिपुर वाणगंगा मावि लौगाईमा एक–एक जना दृष्टिविहीन र दुधाधारी मावि गुगौलीमा एकजना अपांगसमेत परीक्षामा सामेल रहेको बताएको छ।
परीक्षा शान्त र मर्यादित रूपमा भएको शिक्षा तथा समन्वय इकाइ कपिलवस्तुका अधिकृत अर्जुन कुँवरले बताएका छन्। जिल्लाका ३४ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्कसमेत खडा गरिएको बताएको छ।