उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनालाई ३ प्रश्न

सोमबार, ४ चैत, २०८१
डिजिटल संस्करण

उपभोक्ता अदालतको महत्व कति छ ?
यसको अत्यन्त ठुलो महत्व छ । त्यसैले हामीले वर्षौँदेखि यसको गठनका लागि दबाब सिर्जना गर्दै आएका थियौँ । यसले वस्तु र सेवासित सम्बन्धित जुनसुकै मुद्दामा न्याय निरूपण गर्छ । सामान्यतः नुनदेखि सुनसम्मका वस्तु खरिद गर्ने व्यक्ति उपभोक्ता हुन् । साथै, दूरसञ्चारदेखि इन्टरनेट, हवाई सेवा, स्वास्थ्य सेवालगायत अनेकौँ सेवा उपभोग गर्ने पनि उपभोक्ता नै हुन् । त्यसैले, सामान्य किसानदेखि राष्ट्रपतिसम्म सबै उपभोक्ता हुन् र जोकोही वस्तु र सेवा उपभोगमा ठगिएका हुन सक्छन् । त्यसैले, त्यस्ता ठगीको उजुरी अब उपभोक्ता अदालतमा गर्न सकिन्छ । र, त्यसैले न्याय निरूपण गर्छ । 

उपभोक्ताले के–कस्ता मुद्दा लिएर अदालत जान सक्छन् ?
उपभोक्ताले आफू ठगिएको महसुस गरेको अवस्थामा जुनसुकै मुद्दा लिएर अदालत जान सक्छन् । यसका लागि उपभोक्ता जानकार र सचेत हुन जरुरी छ । हाम्रा उपभोक्ता सचेत भइदिएको भए या नियमनकारी निकाय प्रभावकारी भइदिएको भए छुट्टै अदालत गठन गरिरहनु जरुरी नै हुन्नथ्यो । ढिलै भए पनि अदालत गठन भएको छ । अब वस्तु तथा सेवामा अनुचित व्यापारिक क्रियाकलाप तथा एकाधिकारलगायत अनेकौँ मुद्दा यस अदालतको क्षेत्राधिकारभित्र पर्छन् । दण्डसजायसम्बन्धी मुद्दा सरकारवादी हुने भएकाले सरकारले लड्छ भने क्षतिपूर्तिसम्बन्धी मुद्दाचाहिँ व्यक्तिगत रूपमा लड्नुपर्छ । 

उपभोक्ताले अदालतसम्म जाने बाटो कस्तो छ ? 
आफू ठगिएको महसुस गर्ने उपभोक्ता सजिलै अदालतसम्म पुग्ने बाटो राज्यले बनाइदिनुपर्छ । आइतबार पहिलो दिन तीनवटा मुद्दा दर्ता भएका छन् । अब अदालतले फास्ट ट्र्याकबाट तिनको छिनोफानो गरिदिनुपर्छ । वर्षौँसम्म अल्झाएर जागिर खुवाउनकै लागि यो अदालत गठन गरिएको होइन । अन्यायमा पर्नेलाई उपभोक्ता अधिकारवादी संघ, संस्थाले पनि सघाउनुपर्छ । यस्तो सञ्जाल जिल्लाजिल्लासम्म फैलिनुपर्छ । 

सुझावित समाचार