लय गुमाएको स्ववियु

आमविद्यार्थी र जनमानसमा आशा जगाउने काम गर्नुपर्ने विद्यार्थी संगठन र स्ववियु दर्शकको भूमिकामा सीमित देखिनु चिन्ताको विषय हो

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण

नेपालमा स्ववियुको इतिहास ०१९/२० तिर सुरु भएको पाइन्छ । त्रिविमा स्ववियु निर्वाचन ०२० मा भएपछि विद्यार्थी संगठनले आफ्नो अधिकार अभ्यास गरेको पाइन्छ । विद्यार्थीहरू राजाको कडा प्रतिरोधमा उत्रिएपछि विद्यार्थी संगठनलाई बाध्यतावश स्विकारियो । ०२९/३० तिर विद्यार्थी आन्दोलनले जन्माएको स्ववियुलाई बन्द गाराउन शासक वर्ग सफल भए पनि ०३५/३६ तिरको सशक्त विद्यार्थी आन्दोलनले सम्पूर्ण क्याम्पस र माध्यमिक तहमा समेत स्ववियुलाई स्थापित गर्यो । स्ववियुले निरन्तरता पाए पनि ०४० तिर पुनः स्ववियु र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन माध्यमिक तहको स्ववियु अधिकार खोसेर यसलाई केही हदसम्म कमजोर तुल्याउने काम भयो । स्ववियुको जन्म कति कठिनाइसाथ भएको थियो भनेर ०३६ सालको विद्यार्थी आन्दोलनलाई पढ्दा थाहा हुन्छ । 

०३६ मा हेटौँडाको भुटनदेवी माविमा प्रभाकर पौडेललगायत करिब ३० जना विद्यार्थी र मजदुरले ज्यान गुमाउनुपर्यो । स्ववियु जन्माउन विद्यार्थी संगठनले गरेको आन्दोलनमा कति विद्यार्थी घाइते भए, कतिले ज्यान गुमाए, त्यसबारे कमैलाई थाहा होला । विद्यार्थी आन्दोलनकै दबाबमा राजा बहुदलीय प्रजातन्त्र कि सुधारिएको पञ्चायत भनेर जनमतसंग्रह घोषणा गर्न बाध्य भए । ०४६ मा विद्यार्थी संगठनहरू पुनः दलहरूको आह्वानमा आन्दोलनमा होमिए । आन्दोलन पञ्चायतको अन्त्य गरी २०४७ सालको संविधान जारी गराउन सफल भयो । 

०४७ को संविधानले पनि जनताका प्रतिनिधिलाई राम्रोसँग काम गर्न दिएन । किनकि, आफ्नो अधिकारलाई आफ्नो हातमा लिन राजा फेरि संविधान मिच्न उद्यत देखिए । दशवर्षे द्वन्द्वसँगै राजा र दलहरूको दूरी बढ्दै गएपछि बिस्तारै नयाँ आन्दोलनको आधार तयार हुँदै गयो । परिणामतः ०६२/६३ को आन्दोलन सुरु भयो र यहाँ पनि विद्यार्थी संगठनहरूले आफ्नो भूमिका खरो रूपमा निभाए । त्यसैको परिणामस्वरूप आन्दोलन सफल भयो । अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन भयो । नयाँ संविधान बन्यो । र, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । 

स्ववियुको वर्तमान अवस्था :  विद्यार्थी संगठन र स्ववियुलाई हेर्दा हामीले गर्व गर्नलायक धेरै काम भएका छन् । हिजोका दिनमा स्ववियुले गरेका कार्यले समाजमा पारेको प्रभाव र गणतन्त्रसम्मको यात्रामा यसको भूमिकालाई कसैले पनि कम आँक्न मिल्दैन । तर, दलहरूको भ्रातृ संगठनका रूपमा रूपान्तरण भएका स्ववियुले के नामअनुसार स्वतन्त्र भएर आफ्नो अस्तित्व जोगाउन सकेका छन् त ? पहिलेजसरी नै स्ववियु या विद्यार्थी संगठनले आफ्नो स्वायत्ततालाई आफैँसँग राख्न सकेका छन् त ? स्ववियु र विद्यार्थी संगठनमाथि उठ्ने सबैभन्दा यक्ष प्रश्न यही हो ।

आमजनताका सपना बोकेर सडकदेखि राजाको श्रीपेच फुकाल्नेसम्मका आन्दोलनको अगुवाइ गर्ने विद्यार्थी आन्दोलन र स्ववियु नेतृत्व गणतन्त्र प्राप्तियता पार्टीका ‘एस म्यान’ बन्न पुगेपछि विद्यार्थी आन्दोलन र स्ववियुले आफ्नो लय गुमाउँदै गएको छ

विद्यार्थी संगठनप्रति हिजो जुन किसिमको विश्वास थियो, विद्यार्थी र आमजनमानसमा त्यो बाँकी रहेको देखिँदैन । हिजोका विद्यार्थी संगठनका नेतृत्व आज प्रमुख दलहरूको या सरकारको नेतृत्वमा पटक–पटक पुग्दा पनि देश र जनतालाई केही ‘डेलिभरी’ दिन नसक्नुले पनि विद्यार्थी संगठनप्रति आमविद्यार्थी र जनमानसको विश्वासमा कमी आएको हो । देशको राजनीतिक अस्थिरताले विद्यार्थी संगठन र स्ववियुप्रति विद्यार्थीको वितृष्णा बढ्दै गएको छ । परिवर्तित राजनीतिप्रति विद्यार्थीदेखि आमजनता समेतमा वितृष्णा र राजनीतिक नेतृत्वप्रति आक्रोश पैदा भइरहेको देखिन्छ । यस्तो अव्यवस्थामा आमविद्यार्थी र जनमानसमा आशा जगाउने काम गर्नुपर्ने विद्यार्थी संगठन र स्ववियु दर्शकको भूमिकामा सीमित देखिनु चिन्ताको विषय हो । 

स्ववियु हुँदै देशको नेतृत्वसम्म पुगेकाहरूबाटै स्ववियु इतिहासलाई धमिल्याउने कार्य भइरहेको देखिन्छ । किनकि, स्ववियु निर्वाचनलाई नियमित गराउनसमेत नसक्नु या नचाहनु तिनै नेतृत्वको दोष हो । हामीले विश्वविद्यालयलाई स्ववियुसँग जोड्न त सक्यौँ, तर स्ववियुले गर्नुपर्ने कार्यबाट उसलाई फरक रूपमा प्रस्तुत गर्दै स्ववियुलाई आफ्नो जीवन निर्वाहको स्रोतका रूपमा अगाडि बढायौँ । परिणामतः स्ववियु आमजनमानसदेखि त टाढियो नै, साथमा विद्यार्थीदेखि पनि टाढियो । हामीले परिवर्तित सन्दर्भमा स्ववियुलाई विद्यार्थी र आमजनमानससँग जोड्ने कोसिस नै गरेनौँ ।

राजाको निरंकुशतासँग लडाइँ लडेर ल्याएको स्ववियु गणतन्त्रपछि पार्टीका भ्रातृ संगठनका कार्यकर्ता ‘व्यवस्थापन’ गर्ने थलोका रूपमा अगाडि बढेको स्पष्टै देखिन्छ । स्ववियुले समाजभित्रको समाजलाई बुझेर समाजभित्रको शिक्षालाई विश्वविद्यालयका पाठ्यसामग्री समावेश गराएर यथार्थ नेपालको अवस्थालाई झल्काउने खालका कार्य गर्नुपर्ने थियो । तर, यसतर्फ विद्यार्थी नेतादेखि राजनीतिक दलका नेतासम्म कसैले पनि सोचेकासम्म छैनन् । हाम्रा नेताले भनेजस्तो स्ववियु राजनीतिक अभ्यासको थलो नभई यो त असल राजनीतिज्ञ जन्माउने थलो हुनुपर्ने हो । तर, स्ववियुबाट आजसम्म जन्मेका राजनीतिक व्यक्ति देख्दा ठिक विपरीत अभ्यास भइरहेको आभास हुन्छ । 

विद्यार्थीको दृष्टिकोणमा स्ववियुको औचित्य : दलका नेताहरू स्ववियुलाई ‘मिनी पार्लियामेन्ट’ भन्ने गर्छन् । दलहरूले यसो भनिरहँदा विद्यार्थीको मुख बिग्रेको या तिनले मुख बिगारेको देख्न सकिन्छ । ०३६ सालदेखिका स्ववियु निर्वाचनका सम्पूर्ण विषय र स्ववियु सभापतिले के–के गरे भनेर इतिहासका पाना पल्टाउने हो भने स्ववियुको पद बहालीबाहेकका अन्य उल्लेख्य काम केही गरेको देखिँदैन । आजका विद्यार्थीले आफ्ना बुवाआमाको पुस्तादेखि नै सुन्दै आएका क्याम्पसमा आज आफू पढ्दैगर्दा पनि अवस्थामा परिवर्तन नदेखेर होला, उनीहरूले विद्यार्थी संगठन र स्ववियुमाथि प्रश्न गरिरहेका छन् । क्याम्पसभित्रको कक्षाकोठादेखि शौचालयसम्मको अवस्था आफैँ मूल्यांकन गर्न सक्ने भइसकेका छन् आजका विद्यार्थी ।

विद्यार्थी संगठन र स्ववियुलाई आफ्नो जीविका चलाउने माध्यम बनाउने नेताहरूका कारण आज क्याम्पस र विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिँदै गएको छ । विद्यार्थी संगठनको दादागिरी र दम्भले विद्यार्थीको पढाइ डामाडोल भइरहेको छ । विद्यार्थी संगठनहरूबिचको लडाइँले क्याम्पस हाताभित्र खुकुरी र तरबार देखिन थालेका छन् । क्याम्पस हाताभित्र विद्यार्थीका झोलामा किताबकापीभन्दा खुकुरी देखिँदा पनि निरीह भई हेरिरहने विद्यार्थी संगठन र स्ववियु हामीलाई किन चाहियो ? विद्यार्थीले खोजेको शिक्षा क्याम्पस या विश्वविद्यालयभित्र नपाएपछि नेपाली विद्यार्थीको पलायन दिनदिनै बढिरहेको छ । तैपनि, यसबारे न विद्यार्थी संगठनलाई कुनै चिन्ता छ, न त कुनै स्ववियुलाई नै । 

बाटो बिराएको स्ववियु :  कुनै वेला स्ववियु निर्वाचन भनेपछि विद्यार्थीमाझ छुट्टै रौनक देखिन्थ्यो । त्यति वेला स्ववियुले प्रजातान्त्रिक लडाइँ र निरंकुुश पञ्चायतविरुद्ध लड्दै नेपालको शिक्षा  प्रणालीलाई अगाडि बढाएको थियो । देशका ठुला नेताहरू जेलमै हुँदा पनि आमजनताका सपना बोकेर सडकदेखि राजाको श्रीपेच फुकाल्नेसम्मका आन्दोलनको अगुवाइ गर्ने विद्यार्थी आन्दोलन र स्ववियु नेतृत्व गणतन्त्र प्राप्तियता पार्टीका ‘एस म्यान’ बन्न पुगेपछि विद्यार्थी आन्दोलन र स्ववियुले आफ्नो लय गुमाउँदै गएको छ । पार्टीको निर्देशनबाट मात्र चल्ने र आफ्नो स्वविवेक प्रयोग नगर्ने विद्यार्थी नेता किन चाहियो हामीलाई ? समयसापेक्ष मुद्दा बोक्न नसक्नु आजका विद्यार्थी संगठनको सबैभन्दा ठुलो कमजोरी हो । पार्टीले भनेपछि मात्र सडकमा आन्दोलन गर्ने र अन्य समयमा कुम्भकर्ण निद्रामा रहने स्ववियु र विद्यार्थी संगठनको के काम ? 

यतिखेर स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थी र विद्यार्थी संगठन नै होमिएका छन् । यतिखेर हामीले कुनै पनि शैक्षिक संस्थामा खुुकुरी र तरबार काण्ड देख्न र सुन्न नपरोस् । स्ववियु कार्यालयमा हतियार राखेर विद्यार्थी हकहितका कुरा नउठाइयोस् । शैक्षिक संस्थालाई विद्यार्थी संगठन र दलका नेताहरूले दलीयकरण गरेको देख्न र सुन्न नपरोस् । राजनीतिक परिवर्तनको संवाहक स्ववियुलाई राजनीतिक नेताले आफ्नो राजनीतिक ‘ब्याक फोर्स’का रूपमा विकास गरिरहेको देख्दा सच्चा विद्यार्थीलाई स्ववियुको औचित्यमाथि बारम्बार सन्देह हुने गरेको छ ।आजको विद्यार्थीमा स्ववियुप्रति विश्वास जाग्न नसक्नुको कारण पनि यही हो । अब बन्ने स्ववियुले यसलाई चिर्न सक्नुपर्छ । स्ववियुलाई स्ववियुकै रूपमा अगाडि बढाउँदा अबका दिनमा पनि यसलाई ‘आहा ! हाम्रो स्ववियु’ भनेर  विद्यार्थीले गर्व गर्न सक्ने दिन आउन सक्छ । यसका लागि विद्यार्थी संगठन र राजनीतिक दलहरू टाढा बसेर स्ववियुलाई स्वतन्त्र नै रहन दिनुपर्छ । 

स्ववियुले गर्नुपर्ने कार्य :  स्ववियुले विद्यार्थीका मुद्दा उठाउने र तिनको समाधान खोज्ने काम गर्नुपर्छ । विश्वविद्यालयका पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै लैजान स्ववियुले दबाब सिर्जना गर्न सक्नुपर्छ । अहिले स्ववियु निर्वाचनको माहोल चलिरहेको छ, तर निर्वाचन हुनुपर्ने क्याम्पसहरूमा कहीँ लडाइँ झगडा त कहीँ तालाबन्दी चलिरहेको छ । स्ववियुलाई कस्तो बनाउने, त्यो स्ववियुका उम्मेदवारको घोषणपत्रले देखाउने हो, तर विद्यार्थी संगठनका घोषणापत्र पनि पार्टीको चुनावी घोषणापत्रजस्तै आधारविहीन देखिन्छन् । त्यसैले, तिनले विद्यार्थीलाई आकर्षित गर्न सकेका छैनन् । पार्टीगत भ्रातृ संगठनका रूपमा निर्वाचनमा जाँदा स्ववियुको ओज र गरिमा स्वाट्टै घटेको देखिन्छ । 

स्ववियुले विद्यार्थीलाई कस्तो किसिमको शिक्षा प्रणाली चाहिने हो, कस्तो शिक्षाले देशमा रोजगारी सिर्जना गर्न सक्छ, कस्तो शिक्षा अपनाउँदा विद्यार्थी पलायन रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर बहस उठाउन सक्नुपर्ने हो । साथै, यसले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर कार्यान्वयनमा तीव्र दबाब र सहयोग दुवै दिन सक्नुपर्ने हो । तर, यस्तो रचनात्मक काममा भन्दा स्ववियु विद्यार्थी संगठन गुन्डागर्दीको थलोको रूपमा अगाडि बढेको देखिनु चिन्ताको विषय हो । समग्रमा भन्नुपर्दा हिजोको गौरवशाली स्ववियुले आज कार्यबाट बाटो बिराएको छ । स्ववियुले आफ्नो लय गुमाएको छ । स्ववियुको साख बचाइराख्ने हो भने स्ववियु निर्वाचन तोकेकै समयमा सम्पन्न गरी यसलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ । 
(जैशी विद्यार्थी नेता हुन्)

See More On

सुझावित समाचार