पहाडी र हिमाली जिल्लामा बिहीबार हर्षोल्लासका साथ फागुपर्व मनाइएको छ । शुक्रबार तराईका जिल्लामा फागु पर्व मनाइन्छ ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा युवा र विदेशी पर्यटकले होली मनाएका छन् । होली मनाउन बिहीबार सयौैँको संख्यामा उपस्थित भएकाले एक–अर्कामा अबिर लगाउँदै रमाइलो गरेका थिए ।
वसन्तपुरमा हरेक वर्ष होली मनाउन आउनेको भिड लाग्छ । उपत्यकाका तीन जिल्लामध्ये होलीमा वसन्तपुर क्षेत्रमै युवाहरूको भिड लाग्छ । प्रेम, आकर्षण र उमंगको फागुपर्व नेपाल घुम्न आएकाले पनि रमाइलो मान्दै मनाए । मुख्यतः तीन जिल्लाका दरबार क्षेत्रमा पर्यटकहरू होली खेल्न पुगेका थिए ।
उनीहरूले पनि एक–अर्कामा रङ दलेर होली मनाए । होलीको अवसरमा विशेषगरी पाटन दरबार, वसन्तपुर दरबार र भक्तपुर दरबार क्षेत्रका साथै दरबारमार्गमा मानिसहरू भेला हुने गर्छन् । यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने गरिन्छ । बिहीबार होलीका अवसरमा यस क्षेत्रमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ ।
होलीका अवसरमा यसअघिका वर्षहरूमा इच्छाविपरीत पानी र रङ छ्यापाछ्याप हुने गरेकोमा पछिल्ला वर्षहरूमा रोकिएको छ । होलीको अवसर पारेर सरकारले बिहीबार पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।
शुक्रबार भने तराईका जिल्लामा होली मनाइन्छ । सरकारले तराईका जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । होली पर्वमा अप्रिय र उच्छृंखल गतिविधि नभएको नेपाल प्रहरीले जनाएको छ । होलीका अवसरमा हुने तडकभडक र होहल्ला रोक्न झन्डै १२ हजार सुरक्षाकर्मी परिचालन भएको थियो ।
एक हजार ४१८ चालक कारबाहीमा
फागुपर्वका अवसरमा ट्राफिक प्रहरीले उपत्यकाका ८३ ठाउँमा चेकजाँच प्वाइन्ट बनाएर कडाइ गरेको थियो । जसमा ६९४ जना ट्राफिक प्रहरी खटिएका थिए । होलीमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै एक हजार ४१८ चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए । उनका अनुसार नौजनालाई लागुऔषध सेवन गरेको भेटिएपछि पक्राउ गरिएको छ । ‘होलीमा हट्राफिक चेकजाँच कडा पारेका थियौँ, नियम मिच्नेलाई कारबाही पनि भयो,’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौंले ६५ जनालाई पक्राउ र २२१ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले होलीका क्रममा उच्छृंखल गतिविधिमा संलग्न ६५ जनलाई पक्राउ गरिएको र उनीहरूलाई अनुसन्धानपछि साँझ छाडिएको बताए ।
१२० किमि पूरा गरी जनकपुरधाम फर्कियो माध्यमिकी परिक्रमा
जनकपुरधाम - नेपाल र भारतका विभिन्न १५ स्थानको परिक्रमा गर्दै माध्यमिकी परिक्रमा बिहीबार जनकपुरधाम फर्केको छ । धार्मिक तथा ऐतिहासिक पदयात्रा मिथिला मध्यमा परिक्रमावासी जनकपुरधाम फर्केर शुक्रबार अन्तरगृह परिक्रमामा सहभागी हुँदै छन् । नेपालका धनुषा र महोत्तरी तथा भारत बिहारका विभिन्न धार्मिक ऐतिहासिक ठाउँहरू परिक्रमाअन्तर्गत नेपालको ९० र भारतको ३० गरी १२० किलोमिटर भूभागको पैदल यात्रा गरिन्छ । बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट निस्किएको मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित सुरु भएको परिक्रमाको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले बताए ।
परिक्रमाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाका पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), बिसौल (भारत) र यात्राको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुने सुन्दर सदनका कुट्टीका महन्थ नवलकिशोर शरणले बताए । परिक्रमामा भारतको आयोध्या, मथुरा, दरभंगा, सीतामाढी, वैद्यनाथधामलगायतका साधुसन्तको पनि सहभागिता रहने गरेको छ ।