‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नारासहित आन्दोलनका कार्यक्रम तय
एकीकृत समाजवादीले केन्द्रदेखि वडासम्मै आन्दोलनको तयारी गरेको छ । आन्दोलनका लागि उसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा तय गरेको छ । सुशासन र रोजगारीविना वर्तमान समस्याको समाधान नहुने एकीकृत समाजवादीको ठहर छ । त्यसका लागि कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई एकीकृत समाजवादीले प्राथमिकतामा राखेको छ ।
राजनीतिक नेतृत्व प्रतिबद्ध भए खाद्यान्न, तरकारी, माछामासु र फलफूलमा तीन वर्षमा नयाँ कृषि व्यवस्था बनाउन सकिने र त्यसबाट कृषिमा आश्रित ५१ प्रतिशत जनताको बेरोजगारी, अर्ध–अल्प बेरोजगारी समस्या समाधान हुने र मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुने दाबी एकीकृत समाजवादीको छ । हरेक लगानीलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्ने, विप्रेषण र गैरआवासीय नेपालीको पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्वपूर्ण स्रोतका रूपमा परिचालन गर्दै १० वर्षमा औद्योगिकीकरणको पहिलो चरण पूरा गर्न सकिने एकीकृत समाजवादीको दाबी छ ।
राजनीतिक र नीतिगत स्थिरतामार्फत विकास गर्ने वातावरण पाउँदा १० वर्षमा बर्सेनि कम्तीमा ४० लाख पर्यटक भित्र्याउन सकिने र हाल तीन लाखले रोजगारी पाएको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीलाई रोजगारी पुर्याउन सकिने एकीकृत समाजवादीको विश्वास छ । योजनाबद्ध पूर्वधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गरिरहने उसले औँल्याएको छ ।
एकीकृत समाजवादीले सार्वजनिक शिक्षाको निराशाजनक अवस्था फेर्न आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षलाई निःशुल्क र गुणस्तरीय बनाएर गुणस्तरका हिसाबले निजी–सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । सबै सार्वजनिक शिक्षण संस्थामा आधुनिक सूचना प्रविधि पुर्याउनुपर्ने, आठ वर्षसम्मका सबै बालबालिकालाई ओगट्ने गरी हरेक वडामा प्रारम्भिक बाल विकास कार्यक्रम लागू गर्नुपर्ने, माध्यमिक तहका विद्यार्थीलाई पारिवारिक, सामाजिक तथा नागरिक जीवनका दायित्वबारे अध्ययन गराइने, १२ कक्षादेखि प्राविधिक शिक्षाको विशेष व्यस्था गरेर विद्यार्थीलाई उत्पादन र सेवाका क्षेत्रका मर्यादित रोजगारीका साथ बाँच्न सक्ने बनाइनुपर्ने एकीकृत समाजवादीको माग छ । शिक्षामा डिजिटल प्रविधिलाई जोड दिँदै भविष्यमा डिजिटल उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सकिने गरी विकास गर्ने, उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाउने, शिक्षा व्यवस्थालाई मुलुकको समृद्धि र समाजवादको ध्येयअनुसार बनाउनुपर्ने माग गरिएको छ ।
यस्तै, सबैको पहुँचमा भएको सार्वजनिक स्वास्थ्य सेवा–सुविधाको जिम्मामा राज्यले लिनुपर्ने एकीकृत समाजवादीले जनाएको छ । राज्यले ध्यान दिँदा पाँच वर्षभित्रै आपत्कालीन शल्यक्रिया, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्न सकिने एकीकृत समाजवादीको दाबी छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्न एकीकृत समाजवादीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै छ । मुलुकको अर्थराजनीतिक संकट र त्यसको समाधानसम्बन्धी अभियानबारे जानकारी दिने र सार्वजनिक रूपमा सुझाव आह्वान गर्ने एकीकृत समाजवादीका महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले जानकारी दिए ।
२ देखि ५ चैतमा प्रदेशगत आधारमा जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक गरेर सुझाव लिने, २ देखि ४ चैतमा संसद्मा विशेष समय लिएर बोल्ने, ५ चैतमा सम्पादकसँग सुझाव लिने, ६ चैतमा सुशासन र संविधानबारे सुझाव लिने, ७ चैतमा आर्थिक सामाजिक रूपान्तरणबारे बुद्धिजीवीसँग सुझाव लिने, १९ चैतमा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहमा सुझाव संकलनका विभिन्न कार्यक्रम गर्ने, २० चैतसम्म नेपाल सरकारलाई मागपत्र बुझाउने कार्यक्रम तय भएको छ । महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय कमिटीका सदस्यहरूको केन्द्रीय आन्दोलन संयोजक कमिटी गठन गरिएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूले आन्दोलनको अनुगमन गर्नेछन् ।