स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्मविपरीत : अर्थमन्त्री

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावनाविपरीत हुने बताएका छन् । आर्थिक वर्ष ०८२/८३ वर्षको बजेटसम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताएका हुन् ।

०७२ सालमा संविधानसभाबाट जारी संविधानमा संघको एकल अधिकार अनुसूची ५ मा, प्रदेशको एकल अधिकार अनूसूची ६ मा, स्थानीय तहको एकल अधिकार अनूसूची ८ र संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार उल्लेख छ । यसैगरी अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार उल्लेख छ । संविधानमा उल्लेख भएका अधिकारहरूलाई कार्य विस्तृतीकरण प्रतिवेदनले अझ विस्तृत गरेको छ । 

अर्थमन्त्री पौडेलले संघीय सरकारको सीमामा रहेर मात्र नयाँ बजेटमा कार्यक्रम पेस गर्न आग्रह गरे । उनले सहकारी, जमिनको खण्डीकरण, बाँझो जमिन, अस्थायी बसोवास, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंक, अभिलेखहरूको डिजिटलाइजेसनलगायतलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम प्रस्ताव पेस गर्न पनि आग्रह गरे । छलफलमा अर्थसचिव, भूमिसचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो । नयाँ बजेट निर्माणसम्बन्धी यसअघि अर्थ मन्त्रालयले भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य, उद्योग, खानेपानी, संघीय मामिला, कृषि मन्त्रालयबारे छलफल गरेको थियो ।

सुझावित समाचार