नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् । उनले सरकारले आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ– सरकारले नचाहिने ठाउँमा हात हाल्नुहुँदैन, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनुहुँदैन । जुन कुरा चलाउनै हुँदैन र आवश्यक नै छैन ।’ थापाले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सबका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए ।