गेटालाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउँछौँ : प्रधानमन्त्री ओली

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने बताएका छन । आइतबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै वर्षदेखि गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउनेदेखि स्वास्थ्य विश्वविद्यालय बनाउने बताएका हुन् ।

‘गेटा मेडिकल कलेज स्वास्थ्य विश्वविद्यालयमा परिणत भए देशकै पहिलो स्वास्थ्य शिक्षातर्फको विश्वविद्यालय हुनेछ,’ ‘प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि सरकारले आवश्यक तयारी अघि बढाएको छ ।’ सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको जिम्मेवारी भविष्यमा विद्यार्थीकै काँधमा आउने भएकाले आफूले सिकेको शिक्षालाई व्यावहारिक जीवनमा प्रयोग गर्नसमेत आग्रह गरेका छन् । 

सुदूरपश्चिममा थुप्रै सम्भावना भएकाले उक्त सम्भावित क्षेत्र पहिचान गरेर सरकारले योजना अघि बढाएको बताए । दार्चुला सदरमुकामदेखि उत्तरीतर्फका नागरिकलाई आफ्नै घरदेखि देश जानका लागि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता आएको भन्दै उनले नेपालबाटै सडक निर्माणका लागि पाँच करोड बजेटसमेत विनियोजन गरिएको बताए । ‘हामीले दार्चुलादेखि सिधै चीनकै सीमासम्म सडक बनाउन लागेका छौँ,’ उनले भने, ‘यसबाट नागरिकलाई आफ्नै भूमि भएर आवतजावत गर्न सहज बनाउँछौँ।’ 

सुदूरपश्चिममा कृषि, जडीबुटी, खानीलगायतको प्रसस्तै सम्भावना भएकाले अब सुन्तला टिप्न भारत होइन स्वदेशमै फलाउनुपर्ने बताए । महाकाली पुल, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह, पञ्चेश्वर योजना, महाकाली करिडोर, हुलाकी राजमार्ग, दैजछेला औद्योगिक क्षेत्रलगायतका योजना अघि बढाउन सरकारले योजना ल्याएको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भारत उत्तराखण्ड अल्मोडाका सोबन सिंह, जिना विश्वविद्यालयका कुलपति प्राडा सत्पालसिंह विष्टले नेपालको सुदूरपश्चिममा प्रसस्तै प्राकृतिक सुन्दर रमणीय ठाउँ भएकाले त्यसको सदुपयोगमा जोड दिएका छन् । 

सुझावित समाचार