लिबरल पार्टीको नेतृत्वले सर्वसाधारणमा उत्साह जगाउँदा प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टी भने अलमलमा
केही महिनाअघि मात्र क्यानडाको सत्तारुढ लिबरल पार्टी आगामी आमचुनावमा ठुलो हारको लागि तयार देखिन्थ्यो । जनवरीमा गरिएको एक मत सर्वेक्षणले प्रधानमन्त्री जस्टिन ट्रुडोको पार्टी विपक्षी कन्जर्भेटिभहरूभन्दा २६ प्रतिशत अंकले पछि परेको देखाएको थियो । महँगी र ट्रुडोप्रतिको व्यापक घृणाले लिबरलहरूको समर्थन घटेको थियो । आसन्न संघीय मतदानअघि विवादित प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान बढिरहेको थियो । तर, पछिल्लो एक महिनामा विभिन्न कारणले पार्टीको राजनीतिक भाग्य उल्टिएको देखिएको छ । विज्ञहरूका अनुसार मुख्यतः ट्रुडोको राजीनामा दिने निर्णय, नेतृत्वका लागि भइरहेको गतिविधि र क्यानडाविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार धम्कीलगायत विभिन्न कारणले लिबरलको लोकप्रियतामा अचानक वृद्धि भएको छ ।
पछिल्ला सर्वेक्षणमा लिबरलहरूले कन्जर्भेटिभहरूसँगको मतभिन्नतालाई द्रुत गतिमा घटाएका छन् । फेब्रुअरी २५ मा प्रकाशित एउटा सर्वेक्षणले सन् २०२१ पछि पहिलोपटक लिबरल प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टीभन्दा बढी लोकप्रिय देखिएको छ । ‘दुई महिनाअघि लिबरल संकटमा थिए । धेरैले आगामी निर्वाचनमा तिनको हार निश्चित ठानेका थिए । तर, निकै छोटो अन्तरालमा तिनको पुनरोत्थान भएको छ,’ टोरन्टो विश्वविद्यालयका राजनीतिशास्त्रका सहायक प्राध्यापक सेमरा सेवीले भनिन् ।
ट्रुडोको राजीनामा
जनवरीको सुरुमा ट्रुडोले आफ्नो उत्तराधिकारी चयन भएपछि प्रधानमन्त्री र लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिने निर्णय गरे । यो निर्णय पार्टीको बढ्दो लोकप्रियताका लागि जिम्मेवार मुख्य कारकमध्ये एक भएको विज्ञहरू बताउँछन् । ट्रुडो सन् २०१५ देखि प्रधानमन्त्री पदमा छन् । उनले कोभिड–१९ महामारीविरुद्ध चालेको कदमबाट आमक्यानडेली असन्तुष्ट बने । साथै आकासिँदै गएको घरबार मूल्य र उच्च महँगीले पनि उनको सरकार अलोकप्रिय थियो । ट्रुडोको नेतृत्वमा प्रधानमन्त्री कार्यालय र उनको पार्टीले कन्जर्भेटिभ पार्टी र यसका चर्का नेता पियरे पोलिएभको वर्षौंदेखिको आक्रमणको प्रभावकारी रूपमा सामना गर्न पनि असफल भएको थियो । पोलिएभले क्यानडाका सबै समस्याहरूका लागि ट्रुडोलाई दोष दिँदै आफू प्रधानमन्त्री भए सबै परिवर्तन हुने वाचा गर्दै आएका छन् ।
ट्रुडोको राजीनामाको घोषणासँगै राजनीतिक गतिशीलता परिवर्तन भएको इप्सोस पब्लिक अफेयर्सका सिइओ ड्यारेल ब्रिकरले भने । यही फर्मले फेब्रुअरीको अन्त्यमा गरेको मत सर्वेक्षणमा लिबरलहरू चार वर्षमा पहिलोपटक कन्जर्भेटिभभन्दा बढी लोकप्रिय देखिएका थिए । ब्रिकरका अनुसार केही मतदाता कन्जर्भेटिभ पार्टीको एजेन्डा वा पोइलिभ्रेप्रतिको आकर्षणभन्दा परिवर्तनको चाहनाले कन्जर्भेटिभ क्याम्पमा सामेल भएका थिए । ‘यो वर्गले परिवर्तनका लागि अर्को विकल्प हुन सक्ने सोच्न थालेको छ । तिनले लिबरल पार्टीका सम्भावित नेता मार्क कार्नीमा त्यो विकल्प देखेको छ,’ ब्रिकरले भने ।
बैंक अफ क्यानडाका पूर्वगभर्नर कार्नी, लिबरल पार्टीका आगामी नेताका रूपमा सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । उनी लिबरल नेता निर्वाचित भए सो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने मत सर्वेक्षणले देखाएको छ । अर्थात्, मार्की आगामी प्रधानमन्त्रीको दौडमा अग्रणी छन् । लिबरल पार्टीभित्रको चुनावी प्रतिस्पर्धाले पार्टीको आधारलाई पुनः तरंगित गर्न मद्दत गरेको छ । यसले पार्टीप्रति अहिले राष्ट्रिय मिडियाकाले विशेषतः ध्यान दिन थाल्दा पार्टीप्रतिको चासो बढेको छ । ‘मार्क कार्नीमा नयापनको ताजगी छ, जसलाई मानिसहरूले मन पराएका छन्,’ ब्रिकरले लिबरल पार्टीको नेतृत्वको जारी प्रतिस्पर्धाबारेमा भने । पार्टीले मार्च ९ मा नेतृत्वका लागि निर्वाचन गर्दै छ ।
अलमलमा कन्जर्भेटिभ
लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाले आममतदातामाझ उत्साह छाउँदा प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टी भने ट्रुडोको राजीनामापछि अलमलमा देखिन्छ । ट्रुडोविरुद्ध सशक्त सावित भएको पार्टी रणनीति उनको बहिर्गमनपछि कसरी अघि बढ्ने भनेर संघर्ष गरिरहेको छ । ‘ट्रुडोको बहिर्गमनपछि अब उनलाई दोष दिने ठाउँ रहेन, त्यसैले अब कसरी अघि बढ्ने भनेर कन्जर्भेटिभ रनभुल्ल भएको छ,’ ब्रिकरले भने । हुन त कार्नी लिबरल नेता चुनिने सम्भावना बढेसँगै पोलिएभ र कन्जर्भेटिभ पार्टीले उनलाई लिबरल सरकारको रेकर्डसँग जोड्ने प्रयास गर्न थालेको छ । कार्नी विगतमा ट्रुडोको आर्थिक सल्लाहकार पनि थिए ।
विगतमा कार्नीले सार्वजनिक रूपमा समर्थन जनाएको अलोकप्रिय ‘कार्बन प्राइसिङ’ कार्यक्रमसँग जोडेर कन्जर्भेटिभले उनलाई ‘कार्बन ट्याक्स कार्नी’ भनेर सम्बोधन गर्न थालेका छन् । कार्नीले विगतको निर्णयमा युटर्न लिँदै अहिले आफू निर्वाचित भएमा यो कानुन खारेज गर्ने बताएका छन् । पोलिएभ अहिले सामाजिक सञ्जालमा ‘कार्नी–ट्रुडो लिबरलहरू’ भनेर दुई नेतालाई आक्रमण गर्छन् । तर, ब्रिकरका अनुसार पछिल्लो समय क्यानेडेलीहरू विगत १० वर्षको लिबरल नीतिमा भन्दा हिजोआजको राजनीतिक घटनाक्रममा चासो दिन थालेका छन् । यो परिवर्तन छिमेकी अमेरिकामा आएको नयाँ सरकारका कामकारबाहीले ल्याएको हो ।
ट्रम्प फ्याक्टर
जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेदेखि सीमापारिबाट आउन सुरु भएका चर्का बयानबाजीले लिबरलको पुनरुत्थानमा भूमिका खेल्यो । केही विश्लेषक त लिबरल पार्टीको पुनरोत्थानमा यसको सबैभन्दा ठुलो भूमिका रहेको बताइरहेछन् । अमेरिकी राष्ट्रपति बनेदेखि नै ट्रम्पले छिमेकी क्यानडाबाट हुने आयातमाथि भारी शुल्क लगाउने धम्की दिन थाले । यस्तो करले क्यानडाको अर्थतन्त्रमा ठुलो असर गर्ने अर्थशास्त्रीको चेतावनीका बाबजुद अन्ततः ट्रम्प उक्त वाचामा अघि बढेका छन् । मार्च ४ बाट उनले क्यानडेली आयातमाथि भारी भन्सार वृद्धिको योजनालाई कार्यान्वयनमा लगेको घोषणा गरे । सोही दिनदेखि अमेरिका जाने अधिकांश क्यानडेली सामानमा २५ प्रतिशतको कर लागू हुन थाल्यो । अमेरिकाको कदमपछि ओटावाले पनि अमेरिकी सामानमाथि भन्सार वृद्धि गरेको छ । यसले दुई देशबिच व्यापार युद्धको डरलाई बढावा दिन्छ ।
व्यापारबाहेक ट्रम्पले बारम्बार क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने भन्दै आएका छन् । एकातर्फ कर वृद्धिको असर त्यसमाथि राष्ट्रितामाथिको प्रहारले क्यानडेलीमा राष्ट्रवादी भावना वृद्धि भएको छ । धेरै क्यानेडियनले तिनको देश र अमेरिकाबिच कायम घनिष्ट सम्बन्धलाई तोड्नुपर्ने आह्वान गर्न थालेका छन् । ओटावा विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक जेनेभिभ टेलियरका अनुसार क्यानडाको आगामी चुनावको मुख्य मुद्दा कुन दलले ट्रम्पविरुद्ध बलियो प्रतिक्रिया दिन सक्छन् भन्ने विषय बनेको छ ।
‘पहिले लिबरलहरूले कन्जर्भेटिभहरूलाई हराउन सक्छन् भनेर सोधिन्थ्यो । अहिले मतदाताको मुख्य ध्यान आर्थिक नेतृत्वमा गएको छ । अमेरिका कदमविरुद्ध नेताले कस्तो आर्थिक कदम चाल्छ भन्नेमा मतदाताको ध्यान केन्द्रित भएको छ,’ जेनिभिभले भनिन् । पोलिएभको लडाकु शैलीले विपक्षमाझ उनलाई लोकप्रिय बनाएको छ । तथापि, आममतदाता भने उनले सबै क्यानडेलीलाई अमेरिकाविरुद्ध एक गरेर अघि बढ्न सक्नेमा आशंका गर्न थालेका छन् ।
‘पोलिएभको बोल्ने शैली प्रायः डोनाल्ड ट्रम्पजस्तै छ । धेरै कुरामा हामी दुई नेताबिच समानता देख्छौँ,’ जेनिभिभले भनिन् । उता ट्रम्पविरुद्ध सम्पूर्ण क्यानडालाई एक मोर्चाका रूपमा अघि बढाउने लिबरल पार्टीको शैलीलाई धेरै मतदाताले स्वागत गरेका छन् । यसले पनि लिबरलहरूको लोकप्रियतामा सघाउ पु¥याएको छ । ‘यसपटक अमेरिकाविरुद्ध सरकारले छिटछिटो कदम उठाएको छ, जुन पहिले देखिँदैनथ्यो,’ जेनिभिभले भनिन् ।
समयअगावै चुनावको सम्भावना
यसबिच, ट्रम्प प्रशासनका नीतिप्रति क्यानडेली चिन्ता कायम रहेकै समयमा संघीय चुनावको महŒव बढेको छ । पूर्वनिर्धारित कार्यसूचीअनुसार चुनाव अक्टोबर २० सम्ममा हुनुपर्छ । तर, सत्तारुढ दलका हिसाबले लिबरलहरूले त्यसअघि नै चुनाव घोषणा गर्न सक्छन् । टोरन्टो विश्वविद्यालयकी सेवीका अनुसार मार्च ९ मा नयाँ नेता छनोट गरेपछि लिबरलहरूले छिटै चुनाव आह्वान गर्ने सम्भावना छ । त्यसले पार्टीको हालको गतिलाई कायम राख्न मद्दत गर्न सक्छ । ‘विशेषगरी भन्सारका असर देखिन थाल्ने खतरा र घरबार तथा मुद्रास्फीतिजस्ता आर्थिक चिन्ताहरूलाई सम्बोधन गर्ने दबाबका कारण पनि चुनाव छिटै हुने सम्भावना देखिन्छ,’ सेवीले भनिन् ।
जेनिभिभ पनि समयअगावै गरिने चुनावको आह्वानले लिबरलहरूलाई जटिल राजनीतिक निर्णयबाट बच्न सहज बनाउने विश्वास गर्छिन् । ट्रुडोले जनवरीको सुरुमा राजीनामा घोषणा गरेसँगै संसद् निलम्बन गरेका थिए । यो आगामी मार्चको अन्त्यतिर पुनः बस्ने तय भएको छ । यदि सांंसदहरू संसद् फर्किए भने नयाँ चुनिएका लिबरल नेताको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्नेछ । सो अल्पसंख्यक सरकारले आफ्ना प्राथमिकताको रूपरेखा प्रस्तुत गर्दै संसद्मा भाषण दिनुपर्नेछ । यी दुवै कदम विवादास्पद सावित हुन सक्छन् । तर, अक्टोबरअगाडि नै चुनावको घोषणा गर्दा यीमध्ये कुनै काम गर्नुपर्दैन । तर, मतदान जहिले तोकिए पनि क्यानडा केही महिनाअघि सोचिएभन्दा धेरै फरक खालको प्रतिस्पर्धामा गइरहेको विश्लेषक बताउँछन् । आगामी चुनाव पहिले अपेक्षा गरिएभन्दा धेरै प्रतिस्पर्धी हुन गइरहेको सेवी बताउँछिन् । ‘विदेश नीति, नेतृत्व र आर्थिक मुद्दाहरू सबैले प्रमुख भूमिका खेल्दै छन्,’ सेवीले भनिन् ।
अल जजिराबाट