स्ववियुको ऐतिहासिक भूमिका र वर्तमान अवस्था

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

चुनौतीपूर्ण वर्तमान परिस्थितिमा नेपाली विद्यार्थी आन्दोलनको बलियो र जुझारु खम्बा स्ववियुको आवश्यकता पहिलेभन्दा बढी छ

स्ववियु निर्वाचन २०८१ को कार्यतालिका सार्वजनिक भइसकेको छ । त्रिविले जारी गरेको निर्वाचन कार्यविधि २०८१ का सन्दर्भमा विद्यार्थी संगठनबाट त्रिवि सिनेट र त्रिवि विद्यार्थी कल्याणमा प्रतिनिधित्व गर्ने सभापतिका विमतिसमेत निरुपण भइसकेको र संगठन दर्ता गर्ने काम पनि सम्पन्न भइसकेको अवस्थामा निर्वाचन निर्बाध रूपमा हुनेमा अब शंका बाँकी रहेन । 

पृष्ठभूमि : नेपाली राजनीतिमा पञ्चायती व्यवस्थाको प्रादुर्भावपछि राजनीतिक दलहरू प्रतिबन्धित हुँदा समाजको एक सशक्त चेतनशील वर्ग मानिने विद्यार्थी संगठनलाई प्रतिकूल रूपमा प्रभावित गरेको पृष्ठभूमिमा स्ववियुको स्थापना भएको हो । विश्वभरका तानाशाहको चरित्र एवं प्रवृत्ति एकै हुन्छ । पञ्चायती शासकहरू पनि विद्यार्थीलाई कसरी आफ्नो कठपुतली बनाई सरकारी नियन्त्रणमा राख्ने भन्ने चिन्तामा देखिन्थे । उनीहरू सकभर विद्यार्थीलाई नियन्त्रणमा लिने र नसके विद्यार्थी शक्तिलाई विखण्डित गराई विद्यार्थी शक्तिका प्रभावलाई गलत दिशामा मोड्न अहोरात्र प्रयासरत थिए ।

१ पुस, ०१७ को फौजी काण्डले सम्पूर्ण राजनीतिक दलमा संवैधानिक प्रतिबन्ध लगाएको घोषणा भए पनि विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाएको घोषणा गरिएको थिएन । नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन वामपन्थी विद्यार्थी संगठन र नेछासं नेपाली कांग्रेस समर्थक अधिकांश विद्यार्थी नेता जेल परेका र अन्य विद्यार्थी संगठन निष्क्रिय रहेकाले पञ्चायती शासकले विद्यार्थी संघ–संगठन पनि प्रतिन्धित भएको घोषणा गरे । 

कसरी संघसंस्थालाई पञ्चायतको नियन्त्रणमा लिई व्यवस्थाविरोधी गतिविधि गर्नमा रोक लगाउने भन्ने उद्देश्यले ‘राष्ट्रिय निर्देशन ऐन’ तर्जुमा गरियो । अब राष्ट्रिय निर्देशन ऐनअनुसार सरकारको पूर्ण जानकारी र निगरानीमा जम्मा सात किसिमका मात्र वर्गीय संगठनको गठन गर्न पाइने बनाइयो । ती संगठनमध्ये विद्यार्थी संगठन एक थियो । 

संगठनका गतिविधिलाई नियन्त्रण गर्न एक छुट्टै राष्ट्रिय निर्देशन मन्त्रालयसमेत स्थापना भयो । संघसंगठन स्वतन्त्र रूपले खोल्न वा सञ्चालन गर्न पूर्णतः निषेधित गरियो । त्यसरी कुनै पनि संघसंगठनको आफ्नो वर्गीय हितलाई स्वतन्त्र एवं निष्पक्ष भई कार्य सञ्चालन गर्न पाउने नैसर्गिक अधिकारलाई पनि कुण्ठित गरी सरकारबाट निर्देशन ऐनको साङ्लोले मानव स्वतन्त्रताको पखेटालाई बाँध्न खोजियो । पञ्चायती व्यवस्थाको संरचनाबाटै राष्ट्रिय निर्देशन ऐनजस्ता कानुनको सुनियोजित षड्यन्त्रका माखे तानाबाना बुनिँदै गए ।

पञ्चायती कानुनहरूको जोडदार विरोधमा अरू सबै वर्गभन्दा सशक्त रूपमा ती जुझारु विद्यार्थी नै अग्रपंक्तिमा आए । यही बिन्दुदेखि नेपाली विद्यार्थी आन्दोलनको गौरवमय इतिहासमा नयाँ पृष्ठभूमिबाटै नवीन क्रान्तिकारी अध्याय थालनी भयो । यसपछिको विद्यार्थी आन्दोलन नेपाली युवा विद्यार्थीको गौरवपूर्ण संघर्षले भरिपूर्ण छ । त्यही निर्देशन ऐनविरुद्ध विद्यार्थीले ऐक्यबद्धता देखाउँदै स्वतस्फूर्त रूपले चलेको विद्यार्थी आन्दोलन नै ‘स्वतन्त्र विद्यार्थी आन्दोलन’का नामले प्रख्यात छ । वामपन्थी विद्यार्थीले ‘अनेरास्ववियु’को स्थापना गरे भने प्रजातन्त्रवादी विद्यार्थी अलग–अलग संगठन हुनुपूर्व एउटै स्वतन्त्र विद्यार्थी आन्दोलनको परिभाषाभित्र रहेर पञ्चायती व्यवस्थाविरुद्ध लडेको इतिहास छ । समष्टिमा २०१७ देखि ०२६ सालसम्मको विद्यार्थी आदोलनको अवधि स्वतन्त्र विद्यार्थी आन्दोलन थियो, जसले स्ववियु स्थापना र कार्यान्वयनको बलियो जग स्थापना गर्यो । 

अहिले समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न सर्वप्रथम विद्यार्थी संगठन र त्यसपछि त्रिवि प्रशासन इमानदार हुन जरुरी छ । त्यसैले, आगामी ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन सम्पन्न गर्न थप इमानदार र प्रतिबद्ध रहनुको विकल्प छैन । तर, सत्ताको चरम दुरुपयोग र स्ववियु ‘सेबोटेज’ गर्ने खतराप्रति सचेत रहँदै खबरदारी गरी स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन सम्पन्न गराउन परिवर्तनप्रेमी विद्यार्थीले पहरेदारी गर्नु जरुरी छ ।

स्ववियुको आवश्यकता : नेपाली विद्यार्थी आन्दोलनको वर्तमान परिस्थितिमा धेरै चुनौती छन्, जसले बलियो स्ववियुको आवश्यकतालाई पहिलेभन्दा बढी जरुरी बनाएको छ । विश्वविद्यालयमा हुँदै आएको राजनीतिक हस्तक्षेप, शिक्षाको व्यापारीकरण र विद्यार्थी आवाजको सीमान्तीकरणलगायत मुद्दा मुख्य छन् । आज विद्यार्थी आन्दोलनले सामना गरिरहेको सबैभन्दा महत्वपूर्ण मुद्दामध्ये विश्वविद्यालयभित्र मौलाउँदो राजनीतीकरण हो । हालका वर्षमा भएका प्राज्ञिक नियुक्ति राजनीतिक दलबाट धेरै प्रभावित हुने गरेको देखिन्छ । स्वतन्त्र, निष्पक्ष र राजनीतिक पूर्वाग्रहरहित प्राज्ञिक सेवा विद्यार्थीको चाहना भए पनि विश्वविद्यालयजस्तो गरिमामय संस्थाको नेतृत्व एउटा पार्टीको दायराबाट माथि उठ्न सकेको अवस्था छैन । नेपालजस्तो देशमा, जहाँ शिक्षा प्रणालीले अपर्याप्त पूर्वाधार, स्रोतसाधनको अभाव र विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपलगायत असंख्य चुनौतीको सामना गरिरहेको छ, त्यहीँका विश्वविद्यालय ज्ञान, अनुसन्धान र रोजगारको केन्द्र हुनुपर्नेमा राजनीतिक भागबन्डाको केन्द्र बनिरहेको समयमा यसलाई बदल्न स्ववियुले सरकार र शैक्षिक संस्थाहरूलाई जवाफदेही बनाउन आवश्यक छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन सरकारले विश्वविद्यालयमा लिएको मेरिटोक्रेसिको नीतिसमेत पछिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यान्वयन गरिरहेको छैन । यस्ता व्यवहार र कार्यशैलीले विद्यार्थीमा व्यापक वितृष्णा पैदा गरिरहेको छ । यी सीमा अन्त्य गर्न स्ववियुको गरिमा कायम राख्दै वर्तमान परिस्थितिमा सही नेतृत्व प्रदान गर्न, विश्वविद्यालयलाई सही दिशा दिन पनि स्ववियुको आवश्यकता त्यत्तिकै छ ।

शिक्षाको व्यापारीकरण विद्यार्थी आन्दोलनले सामना गरिरहेको अर्को प्रमुख चुनौती हो । नेपालमा शिक्षा क्षेत्र बढ्दो रूपमा व्यपारिक केन्द्र बनेको छ, निजी शैक्षिक संस्थाले अत्यधिक शुल्क लिने र गुणस्तरीय शिक्षाभन्दा पनि नाफालाई प्राथमिकता दिने भएकाले यसले कम आय भएका पृष्ठभूमिका विद्यार्थीलाई सीमान्तकृत गरेको छ । सबैका लागि निःशुल्क, गुणस्तरीय र पहुँचयोग्य शिक्षाको वकालत गर्न र निजी शिक्षाको नियमन र खबरदारी गर्नकै लागि पनि स्ववियुको खाँचो छ ।

यसबाहेक, निर्णय प्रक्रियामा विद्यार्थी आवाजको सीमान्तीकरण अर्काे महत्वपूर्ण मुद्दा हो । धेरै अवस्थामा, विद्यार्थीलाई उनीहरूको शिक्षा र भविष्यलाई प्रत्यक्ष रूपमा असर गर्ने छलफल र निर्णयबाट बञ्चित गरिन्छ । यी मामिलामा विद्यार्थीको आफ्नो अधिकार सुनिश्चित गर्न र नीति–निर्माता र शैक्षिक संस्थालाई विद्यार्थीप्रति जवाफदेही र उत्तरदायी बनाउँदै सर्वसुलभ शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चितता गर्नुपर्नेछ ।

यी चुनौतीका अतिरिक्त नेपालको वर्तमान राजनीति अस्थिरता र अनिश्चितताले ग्रस्त छ । हालैका वर्षमा देशले संघीय शासन प्रणालीको स्थापना र नयाँ संविधान अपनाउनेजस्ता महत्वपूर्ण राजनीतिक परिवर्तन सुनिश्चित गरेको छ, जसमा शैक्षिक अधिकारलाई संविधानमै मौलिक अधिकारका रूपमा सूचीबद्ध गरेको छ । जसको कार्यान्वयन पनि विद्यार्थी संघसंगठनको प्रमुख दायित्व हो । यी परिवर्तनले विद्यार्थी आन्दोलनका लागि अवसर र चुनौती दुवै सिर्जना गरेका छन् । राजनीतिक प्रक्रियामा विद्यार्थी सीमान्तकृत नहोऊन् र नीति–निर्माताले तिनका चासोलाई सम्बोधन गरून् भन्ने कुरा सुनिश्चित गर्न स्ववियुले भूमिका निर्वाह गर्नुपर्नेछ । जसले सबै विद्यार्थीको हितलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सकोस् ।

स्ववियु निर्वाचनको महत्व : स्ववियु धेरै कारणले महत्वपूर्ण छ । स्ववियुले विद्यार्थीको राजनीतिक सामाजिकीकरणमा योगदान पुर्याउँछ । विद्यार्थी संगठनमा संलग्न भएपछि युवा विद्यार्थी लोकतान्त्रिक प्रक्रिया, नेतृत्व र सामूहिक कार्यको महत्वबारे अभ्यस्त हुन्छन् । यो राजनीतिक शिक्षा लोकतान्त्रिक समाज विकासका लागि र राजनीतिमा नयाँ पुस्ताको आगमनका लागि पनि निकै महत्वको छ । यसले राजनीतिक प्रक्रियामा भाग लिन सक्षम हुने परिपक्व र योग्य नेतृत्व निर्माणमा मद्दत गर्छ । त्यसैले, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनीतिक रूपमा मिनी जनमतसंग्रहका रूपमा परिभाषित गरिएको छ । जसबाट प्रमुख दलको नयाँ पुस्तामा प्रभाव र जनमतको अवस्था कस्तो रहेको छ भन्ने निष्कर्षसमेत निकाल्ने गरिन्छ । साथै, स्ववियुलाई भविष्यमा शासन सत्ताको बागडोर सम्हाल्ने नेता उत्पादनको नर्सरीका रूपमा पनि लिइन्छ । नयाँ सन्दर्भ र परिस्थितिमा यसको झनै महत्व बढिरहेको छ । 

नेपालका सामाजिक र राजनीतिक आन्दोलनका पछाडि एक प्रेरक शक्तिका रूपमा स्ववियु रहेको छ । विद्यार्थी संगठनले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार र शैक्षिक परिवर्तनको वकालत गर्न प्रमुख भूमिका खेल्दै आएका छन् । परिवर्तनशील विद्यार्थी अधिनायकवादी शासन, भ्रष्टाचार र असमानताविरुद्ध विरोधको अग्रपंक्तिमा रहेको इतिहास छ । यस अर्थमा, स्ववियु केवल एक विद्यार्थीको साझा संस्था मात्र होइन, यो नेपालको आमूल परिवर्तनको एक महत्वपूर्ण नेतृत्वदायी अंग हो ।

वर्तमान अवस्थामा पनि स्ववियुको महत्व झनै बढेको छ, किनभने यसले विद्यार्थीलाई आलोचनात्मक चेत र बहसमा संलग्न हुने प्लेटफर्म प्रदान गरिरहेको छ । द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा विश्वव्यापी प्रभावको सामना गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । यस्तोमा स्ववियुले विद्यार्थीलाई उनीहरूको जीवन र देशलाई असर गर्ने मुद्दामा छलफल र विश्लेषण गर्ने प्लेटफर्म प्रदान गरिरहेको छ । यो बौद्धिक संलग्नता जीवन्त र गतिशील समाज विकासका लागि महत्वपूर्ण छ ।

निष्कर्ष : नेपालमा स्ववियुको गौरवशाली र ऐतिहासिक इतिहास छ । यसले देशको राजनीतिक र शैक्षिक परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । शैक्षिक सुधारका लागि प्लेटफर्मका रूपमा प्रारम्भिक दिनदेखि नै व्यापक सामाजिक र राजनीतिक आन्दोलनमा यसको सशक्त संलग्नता छ । स्ववियु परिवर्तनका लागि एक शक्तिशाली केन्द्रका रूपमा स्थापित भएको छ । वर्तमान सन्दर्भमा नेपाली विद्यार्थी आन्दोलनले असंख्य चुनौतीको सामना गर्नकै लागि पनि बलियो र स्वतन्त्र स्ववियुको आवश्यकता पहिलेभन्दा बढी छ । स्ववियुले विद्यार्थीलाई आफ्ना चिन्ता व्यक्त गर्न, आफ्ना अधिकारका लागि वकालत गर्न र राजनीतिक सामाजिकीकरणमा संलग्न हुन प्लेटफर्म प्रदान गरिरहेको छ । यो नेपालको राजनीतिक र शैक्षिक परिवर्तनको एक महत्वपूर्ण अंग पनि हो, जसले लोकतन्त्र, सामाजिक न्याय, शैक्षिक परिवर्तन र मानव अधिकारका लागि व्यापक संघर्षमा योगदान पुर्याउँछ । राजनीतिक हस्तक्षेप, शिक्षाको व्यापारीकरण र विद्यार्थी आवाजको सीमान्तीकरणको सामना गर्दै, स्ववियुले विद्यार्थीको अधिकार र हितका लागि लडिरहनुपर्छ ।

नेपालले आफ्नो जटिल राजनीतिक परिदृश्यमा निरन्तर परिस्कृत गर्दै जाँदा स्ववियु विद्यार्थीको सशक्तीकरण र लोकतान्त्रिक मूल्यको प्रवद्र्धनका लागि एक आवश्यक संस्था रहनेछ । विद्यार्थी संगठनहरूको सामूहिक कार्यमार्फत नै युवाको आवाज सुन्न सकिन्छ र अर्थपूर्ण परिवर्तन हासिल गर्न सकिन्छ । स्ववियु केवल एक विद्यार्थी संगठन मात्र होइन, यो सबै नेपालीका लागि उज्ज्वल र अधिक समतामूलक भविष्यका लागि आशाको किरण हो । यसका लागि नियमित र समयभित्रै स्ववियु निर्वाचन सम्पन्न गर्न र स्ववियुलाई वास्तविक साझा संस्थाका रूपमा अभ्यास गर्दै राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय निर्माण, शैक्षिक निजीकरणविरुद्ध सशक्त आन्दोलनको नेतृत्व र राजनीतिमा युवापुस्ताको हस्तक्षेपकारी भूमिकाका लागि यसलाई अझ विकसित र परिमार्जित गर्न स्ववियु सतिसालझैँ उभिएको छ । र, भोलि पनि उभिइरहनेछ ।

(सिंह अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष हुन्)

See More On

सुझावित समाचार