मोरङमा ओलीलाई धक्का, भण्डारीपक्षीय प्यानल नै विजयी

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

एमाले मोरङको नयाँ नेतृत्वमा इतर प्यानल विजयी भएको छ । १०औँ जिल्ला अधिवेशनबाट इतर समूहका अजम्बर राई ४४६ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।  संस्थापन समूहबाट अध्यक्षका उम्मेदवार राजकुमार ओझाले ४०७ मत मात्र पाए । 

मोरङमा इतर समूहको नेतृत्व गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूह विजयी भएको हो । यो नतिजाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीलाई धक्का लागेको छ । 

उपाध्यक्षमा पनि इतर समूहका सागर थापा ४२२ मतसहित विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी शान्ति लिम्बूले ३९१ मत पाइन् । इतर सचिवमा सोमराज थापा ४६२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रविन थापाले ३६८ मत पाएका छन् ।

उपसचिवमा इतर समूहका सन्तोष बान्तवा ४९० मत पाएर विजयी भए भने प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३११ मत पाएका छन् । उपसचिव महिलातर्फ पनि इतर समूहकी उषा झा ४१८ मत पाएर विजयी भएकी छिन् भने संस्थापन पक्षकी शिल्पा कार्कीले ४०५ मत प्राप्त गरेकी छिन् । 

सदस्यतर्फ भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।  

१७ फागुनदेखि सुरु एमाले मोरङको १०औँ जिल्ला अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा थिए । पाँच पदाधिकारीसहित १६५ सदस्यीय कमिटीका लागि बुधबार मतदान भएको थियो ।
 

सुझावित समाचार