राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चुनौती

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए । 

जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमूक कुलमा जन्मिएकै आधारमा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको पुनको भनाइ थियो  । ‘केही राजावादीहरू सडकमा अढाई सय वर्षसम्म वंश पराम्परामा चलेको राजतन्त्र ल्याउने कुरा गर्दै हिँडेको सुन्दा अचम्म लाग्छ,’ पुनले भने, ‘आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा जनता छैनन् । गणतन्त्र भनेको पाँच वर्षका लागि राष्ट्रपति चुन्ने र मन नपरे फेरि अर्को ल्याउने प्रजातान्त्रिक व्यवस्था हो । राजतन्त्र ल्याउने कुरा गरेर राजावादीहरूले रमाइलो गरिरहेका छन् ।’ 

सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहीन लोकप्रियतावादीहरूको नेपालमा राजनीतिक भविष्य नरहेको पुनले बताए । एकात्मक राजतन्त्रात्मक व्यवस्था मुलुकको माटो सुहाउँदो नरहेको निष्कर्षसहित दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण उनले गरे । संविधान र कानुनभन्दा माथि अमूक राजा–महाराजा नहुने र जनता नै सबै अधिकारको केन्द्र भएको पुनले स्पष्ट गरे ।
 

सुझावित समाचार