माओवादी ‘मार्च’को संकेत

राजनीतिक दलहरू प्रतिस्पर्धात्मक रूपमा जनताको घरआँगनमा पुग्नु चहलपहलशून्य गाउँघरमा रौनक थपिनु हो

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

राजनीतिक पार्टीका लागि जनताको घरदैलो सधैँ नजिकको तीर्थजत्तिकै हुनुपर्ने हो । जनतासँग पार्टी र नेता, कार्यकर्ता जति नजिक हुन्छन्, त्यति नै उनीहरूसितको सम्बन्ध मजबुत र स्थायी बन्छ । जनसम्पर्कले शक्ति आर्जन गर्न, संगठन निर्माण गर्न र नीतिगत प्रशिक्षण गर्न सहयोग गर्छ । यसबाट जनताका समस्या र मर्कालाई नजिकबाट हेर्न, अनुभूत गर्न र समाधान निकाल्न मद्दत पुग्छ । यसबाट जनताका समस्याको वस्तुगत बुझाइ प्राप्त हुन सक्छ । जनतालाई पनि नेताहरू आफ्नो गाउँठाउँमा आइराख्दा अपनत्व महसुस हुन्छ । बेसहारा र असहाय बनेको अनुभूति हुँदैन । माओवादीले तराईकेन्द्रित राजनीतिक ‘लङ मार्च पास’ एक हजार आठ सय ५७ किमि लम्बाइ भएको हुलाकी राजमार्गमा गरिरहेको छ । 

माओवादी केन्द्रका ६ दर्जनजति नेता–कार्यकर्ता स्थानीय नेता–कार्यकर्तासँग घुलमिल गर्दै यस ‘मार्च’मा सहभागी छन् । ‘जनतासँग माओवादी, मधेश–तराई जागरण अभियान’ १२ फागुनमा नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकलनबाट सुरु भएर १२ चैतमा कञ्चनपुर पुगेर समापन हुँदै छ । एकमहिने ‘लङ मार्च पास’ अभियानले जुन तरंग तराई मधेशको स्थानीयस्तरमा ल्याएको छ, त्यसको राजनीतिक फाइदा माओवादीको भागमा जान्छ नै । साथै, यसबाट अन्य दललाई पनि जनतासँग जोडिन दबाब पुग्छ । माओवादीको यस अभियानले मधेशकेन्द्रित दलहरूले बढी दबाब महसुस गरेका प्रतिक्रिया सार्वजनिक भइरहेका पनि छन् । 

राजनीतिक दलहरू प्रतिस्स्पर्धात्मक रूपमा जनताको घरआँगनमा पुग्नु भनेको चहलपहल शून्य गाउँको रौनक थपिनु हो । थुप्रै नेता–कार्यकर्ता गाउँ पुग्दा गाउँको अर्थतन्त्र चलायमान बनाउनदेखि उत्पादन बढ्ने सम्भावना पनि हुन्छ । दलका नेता र गाउँसँगको कडी जोडिन्छ । अझ विशेष के छ भने महँगा रिसोर्टमा पुगेर आफ्नो राजनीतिक प्रतिवेदन लेख्ने नेताहरूले आफ्ना नेता–कार्यकर्ता तथा शुभेच्छुकको घरमा बसेर, सामान्य पकवान सामान्य तवरले ग्रहण गरेर यसपटक ‘रेकर्ड ब्रेक’ गरेका छन् । यसले जनतासितको आत्मीयता अभिवृद्धि गर्छ र नेता भनेका हाम्रै सुखदुःखका सारथी हुन् भन्ने भाव आमजनमासमा जगाउँछ । नेता आफ्नो घरआँगन, बस्ती या टोलमा देखिँदा प्राप्त हुने ऊर्जा र जाँगर उल्लेखनीय हुन्छ । प्रायः चुनावका वेला मात्र गाउँघरमा पुग्ने र जनतासित जोडिने राजनीतिक दलका नेता, कार्यकर्ता बेमौसममा पनि देखिँदा जनयुद्धकालीन झल्को आएको आमजनताको बुझाइ छ । 

एकमहिने ‘लङ मार्च’ले जुन तरंग तराई मधेशको स्थानीयस्तरमा ल्याएको छ, त्यसको राजनीतिक फाइदा माओवादीको भागमा त जान्छ नै । साथै, यसबाट अन्य दललाई पनि जनतासँग जोडिन दबाब पुग्छ ।

माओवादी नेता–कार्यकर्ताले १० वर्षसम्म जनताकै घरदैलोमा बसेर देशमा गणतन्त्र ल्याउने जग बसाएका हुन् । तसर्थ, माओवादीका लागि गाउँ देहात नौलो ठाउँ होइन । माओवादीसँग जनयुद्धका क्रममा दुःख पाएका, परिवार र आफन्त गुमाएका संघर्षको बलिवेदीमा खारिएका नेता–कार्यकर्ताको ठुलो समूह र परिवार देशभर छन् । पाँच हजार सहिद परिवार आज पनि अभाव र शोकसँगै माओवादी समर्थक र भोटर भएर रहेका छन् । माओवादीको जरा गाउँसँग आज पनि जोडिएकै छ । सहरमा माओवादीको जनमत घटेको हो, तर गाउँको जनमत माओवादीले जगाउन नसकेका कारण नबढेको मात्र हो, घटेको छैन भन्न सकिने स्थिति छ । जसको उदाहरण माओवादीको यस मार्चमा देखिएको जनताको उपस्थिति, सौहार्दता र बाक्लो जमघटले पुष्टि गर्छ । प्रचण्डको ‘मर्निङ वाक’मा देखिएको उत्साह सामान्य छैन, चाहे त्यो स्वयं प्रचण्डको होस् या आममान्छेको ? 

प्रचण्डका समकालीन नेताहरू देउवा, ओली, झलनाथ, माधवलाई यसरी आफैँ कस्सिएर हिँड्न सहज छैन । स्वास्थ्यका कारण पनि असजिलो छ । तर, प्रचण्ड फुर्तीसाथ कुनै म्याराथन खेलाडीझैँ आफ्ना नेता–कार्यकर्ताको भुँडीको बोसो पगाल्ने तहमा कुदिरहेका छन् । सायद प्रचण्ड यसरी अब हिँड्न सक्छन् भन्ने धेरैलाई लागेको थिएन । उनको सुरक्षा ‘थ्रेट’लाई लिएर पनि अब प्रचण्ड यसरी गाउँ देहातका बाटोघाटोमा कुद्छन् भन्ने मान्छेले कल्पना गरेका थिएनन् । कतै हिँडे पनि सांकेतिक रूपमा हिँड्छन् र थकाइ मार्छन् भन्ने परेको थियो धेरैलाई । यति लामो त के हिँड्लान् भनेर माओवादी नेताहरू स्वयंमा पनि यो विश्वास थिएन । तर, यस्तै अविश्वास लाग्ने काम गर्ने ‘ब्रान्ड नेम’ भएका छन् प्रचण्ड । राजनीतिमा माओवादी घाटामा भए पनि देशको व्यवस्था परिवर्तन गर्न उसले गरेको योगदान कसैले अवमूल्यन गर्न सक्दैन । 

माओवादीको जरा गाउँसँग आज पनि जोडिएकै छ । सहरमा माओवादीको जनमत घटेको हो, तर गाउँको जनमत माओवादीले जगाउन नसकेका कारण नबढेको मात्र हो, आज पनि घटेको छैन ।

प्रचण्डले यसबिचमा भनेका पनि थिए– मेरो घर जाने, घरमा रमाउने अवस्था छैन, श्रीमती छैनन्, दुई सन्तान छोरा र छोरी बिते ।’ परिवारका प्रिय सदस्यहरू जेठी छोरी, छोरा र पत्नी सीतालाई छोटो अन्तरालमा गुमाएका प्रचण्डलाई घरको मोह कम हुनु स्वाभाविक नै हो । दुइटी छोरीमध्ये रेणु भरतपुरमा छिन् । कान्छी छोरी गंगा उनीसँगै भएपछि प्रचण्डलाई घरको न्यास्रो मेट्न पनि जनताको घरआँगनको वास स्वाभाविक हुने नै भयो । स्थानीयस्तरमा जनताले जसरी र जे पकाएर दिन्छन्, त्यसलाई सहजतापूर्वक लिएर प्रचण्ड आफ्नो टोलीमा रमाइरहेका छन् । जनतासँगको साक्षात्कारले प्रचण्डले स्थानीय समस्या आफ्नै आँखाले देख्ने र कानले सुन्ने मौका पाएका छन् । गाउँगाउँमा युवा नभएको खेतीयोग्य जमिन बाँझिएको जनतालाई अलि–अलि भएको खेती पनि बाँदर, बँदेल, खरायो र अन्य जंगली जनावरबाट जोगाउन मुस्किल भएको तथ्य जान्न सहज हुनेछ । 

जनताले कसरी दुःख पाएका छन् ? आज पनि जनतालाई मिटर ब्याजले कसरी सताएको छ ? गाउँघरको सहकारी र लघुवित्तको स्थिति के छ ? गाउँ किन उत्पादन छाडेर सहर पलायन भयो ? सहरमा पनि किन युवा पढ्न र बस्न छाडेर वैदेशिक यात्रामा निस्कनुपर्‍यो ? चुरे किन मासियो ? पानी किन रसाउन छोड्यो ? यी तमाम आमजनसरोकारका प्रश्न सुन्ने मौका प्रचण्डले पाएका छन् । देशको कला, संस्कृतिको नजिक गएर अवलोकन गर्ने अवसर पाएका छन् । स्थानीयकै लवजमा तिनका समस्या, गुनासा र दुःख हेर्न, सुन्न र बुझ्न पाएका छन् । मलाई लाग्छ, ग्रामीण अर्थतन्त्र पुनर्जीवित पार्ने मन्त्र लिएर प्रचण्ड टोली काठमाडौंमा फर्केर अर्थविद्हरूको टोलीसँग छलफलमा बस्नेछ । यहीँबाट अन्योल, अनिश्चय र दुश्चक्रमा फसेको अर्थतन्त्रको दिशानिर्देशको ‘प्रेसक्रिप्सन’ लेख्नेछन् प्रचण्डले । 

प्रचण्डलाई थाहा छ, चिनियाँ लङ मार्चपासपछि माओ कसरी शक्तिशाली भएर निस्के र आजको चीन बन्यो । सन् १९३४ मा चीनको जियान्सीस्थित रुइजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेर ३८१ दिनको दिन २० अक्टुबर १९३५ मा ग्रेटवालमा पुगेर आफ्ना पाइला रोकेका थिए । जसको नेतृत्व माओ त्से तुङ, देङ सियाओपिङलगायत नेताले गरेका थिए । यस अभियानले चीनमा धर्मराउँदो कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दियो र चीनको कम्युनिस्ट पार्टीमा माओ त्से तुङको नेतृत्वलाई झनै बलियो गरी स्थापित गरायो ।

प्रचण्ड यसकारण पनि उत्साहित छन् । गत उपचुनावको सांकेतिक नतिजाले पनि माओवादीलाई जनतासँग सम्पर्क स्थापित गर्न ऊर्जा भरेको छ । माओवादीले २०७९ को स्थानीय चुनावमा गठबन्धन गरेर लड्दाभन्दा अहिले एक्लै प्रतिस्पर्धा गर्दा दश हजार दुई सय ५४ मत बढी प्राप्त गरेको छ । यसर्थ, माओवादी यो मत देशभर बढोत्तरी गरी आफ्नो पुरानो साख आगामी ०८४ को निर्वाचनमा फर्काउन चाहन्छ । प्रचण्डले देहातका बस्तीको अनुभूतिमा २०६४ को झल्को आएको भन्दै आएका छन् । यही अभिप्रेरणाले प्रचण्ड लङ मार्चपासमा तराई, मधेशका जिल्लामा छन् । 

अन्य पार्टीका नेता–कार्यकर्तालाई झैँ माओवादीलाई पनि सुविधाभोगी भएको र सहरमुखी भएको, गाउँ बिर्सेको आरोप लाग्ने गरेको छ । यति मात्र होइन, गणतन्त्रको विस्थापन गरेर संघीयता, धर्म निरपेक्षता खारेजसहित राजसंस्था पुनस्र्थापनाको नारा, स्वर र देशका विभिन्न भागको प्रदर्शन तथा पूर्वराजाको ७ फागुनको सन्देशमा अन्तर्निहित उद्देश्य र सक्रियताले प्रचण्डलाई विशेष दबाब दिएको पनि हुनुपर्छ । प्रचण्ड नेतृत्वको माओवादीले नै सबैभन्दा बढी त्याग र क्षति व्यहोरेर देशमा संघीय गणतन्त्र स्थापना भएको हो । त्यसैले, यसको जरा गाउँगाउँमा कस्तो छ, त्यसको अवलोकन गर्नु पनि प्रचण्डको ध्येय देखिन्छ । 

माओवादीको जरा गाउँगाउँसम्म आज पनि फैलिएको छ । तसर्थ, यसलाई आफ्नो शक्तिको विस्तार र क्षय रोक्ने अवसर पनि प्रशस्त छ । तर, सामान्य प्रयासले मात्र माओवादी नेता–कार्यकर्ताको फेरिएको जीवनशैलीमाथिको प्रश्न शान्त हुनेछैन । चुनावका वेला मात्र जनता जनार्दनलाई न्यायाधीश र भाग्य विधाता ठान्ने अन्य वेला बेवास्ता गर्ने परिपाटीमा परिवर्तनको खाँचो छ । यसका साथै, नेता–कार्यकर्ताको पारदर्शिता र कम्युनिस्ट चरित्रमा पुनरागमन नभएसम्म हिजोको विश्वास र आस्था पुनः आर्जन गर्न देखावटी निष्ठा, प्रतिबद्धताले मात्र सम्भव छैन, मानक दृष्टान्त र चरित्रकै खाँचो छ । 
(कार्की अध्येता हुन्)

सुझावित समाचार