अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदकाे माग

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन्। 

बैठकको आकस्मिक समयमा सांसद रामहरि खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका वेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने  माग गरे।

उनले भने, ‘अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गरियोस्। गैरसरकारी संस्था वा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामार्फत प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस्।’ उनले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसदकाे पास स्थगन गरिएको भन्ने विषय उठानबारे पनि सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्दै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताए। उनले भने, ‘दुबई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ। त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिनुपर्छ।’

सांसद हरि ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाब दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृत्रिम अभाव सिर्जनाको स्थिति बनेको बताए। त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताए। उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको धारणा पनि उनले राखे।

सुझावित समाचार