पश्चिमका दक्षिणपन्थीलाई आदर्श मान्छन् भारतीय हिन्दुत्ववादी

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

फेब्रुअरी २१ मा, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले वासिङटन डिसीमा आयोजित ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’मा भिडियो लिंकमार्फत सम्बोधन गरिन् । सम्बोधनलाई उनले वामपन्थीको चर्को आलोचना गर्न प्रयोग गरिन् । त्यस क्रममा उनले विश्वव्यापी दक्षिणपन्थीको उदयले वामपन्थीलाई निराश बनाएको दाबी गरिन् र पछिल्लो समय उदाएका दक्षिणपन्थी नेताहरूको लहरमा नरेन्द्र मोदीको नाम पनि उल्लेख गरिन् :

‘सन् १९९० को दशक बिल क्लिन्टन र टोनी ब्लेयरले विश्वव्यापी वामपन्थी उदारवादी सञ्जाल निर्माण गर्दा उनीहरूलाई राजनेता भनियो । आज डोनाल्ड ट्रम्प, मेलोनी, जेभियरे मिलेई वा सम्भवत नरेन्द्र मोदी बोल्छन्, उनीहरूलाई लोकतन्त्रको खतराको संज्ञा दिइन्छ । यो वामपन्थीहरूको दोहोरो मापदण्ड हो जसमा हामी अभ्यस्त छौँ । राम्रो खबर के छ भने मानिस अब उनीहरूको झुटमा विश्वास गर्न छाडेका छन् । हामीमाथि जतिसुकै हिलो छ्यापे पनि नागरिकहरूले हामीलाई मतदान गर्छन्,’ एक पश्चिमी राजनीतिज्ञले मोदीको प्रशंसा गरेको र उनलाई विश्वव्यापी दक्षिणपन्थीको लहरमा उभ्याउँदा भारतीय जनता पार्टी र यसका हिन्दुत्ववादी समर्थकहरूलाई खुसी पार्ने नै भयो । 

पश्चिमी दक्षिणपन्थीहरूलाई आदर्श, रणनीति र शब्दावलीका लागि ध्यान दिने भारतका हिन्दुत्ववादी विचारकले यसपटक मेलोनीबाट तिनले पश्चिमबाट चाहेजस्तै मान्यता पाएका छन् । 

पश्चिमी दक्षिणपन्थीहरूबाट हिन्दुत्वहरूको अन्धनक्कल
उदाहरणका लागि जर्ज सोरोसलाई नै हेरौँ । गत वर्ष डिसेम्बरमा, भाजपा सांसदहरूले प्रतिपक्षी दल कांग्रेस र हंगेरी मूलका अमेरिकी अर्बपति–परोपकारीबिच मिलिभगत रहेको आरोप लगायो । यसै आरोपमा लोकसभाका कामकारबाहीसमेत प्रभावित बनाइयो । ‘कांग्रेसको हात सोरोसको साथ,’ भाजपा सांसद निशिकान्त दुवेले सम्बन्धलाई कवितात्मक रूपमा समेत राखिन् । केही समयदेखि, भाजपाले कांग्रेसमाथि आक्रमण गर्न सोरोसको नाम जोड्न थालेका छ । सोरोसलाई भारतमा अपेक्षाकृत थोरैले मात्र चिन्ने मानिस भएर पनि उनलाई किन विपक्षीको आक्रमणमा प्रयोग गरिँदैछ त ? यसको उत्तर भाजपाले आदर्शका रूपमा हेर्ने पश्चिमा दक्षिणपन्थीका भाषामा भेटिन्छ? 

भारतमा कमै परिचित भए पनि सोरोस अमेरिकामा उदारवादी मुद्दामा प्रमुख लगानीकर्ताका रूपमा चर्चित नाम हो । यहीकारणले उनी अमेरिकी दक्षिणपन्थीहरूको आक्रमणको केन्द्रमा हुने गर्छन् । अलजजिराका अनुसार सोरोस पछिल्लो समय ‘अमेरिकी रूढीवादी वृत्तका सबैभन्दा ठुला खलपात्र’जस्तो देखिने गरेका छन् । डोनाल्ड ट्रम्प स्वयंले ती अर्बपतिको आलोचना गर्ने गर्छन् । भाजपा अमेरिकी दक्षिणपन्थी राजनीतिबाट यति मोहित हुन थालेको छ कि तिनले भारतमा न्यून परिचित सोरोसको नाम विभिन्न कन्स्पिरेसी थेउरीमा जबर्जस्ती राखेर आयात गरिरहेको छ । अमेरिकी दक्षिणपन्थीप्रति भारतीय दक्षिणपन्थको मोहको थप प्रमाण भारतमा हिन्दुत्वको शब्दावलीमा पाउन सकिन्छ । सन् २०२३ मा, राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले ‘वक’ उदारवादीमाथि आक्रमण सुरु गरे, जबकि यो शब्द उनका श्रोताहरूलाई यति अपरिचित थियो कि उनले त्यसलाई हिन्दीमा ‘जागे हुये(जागेका)’ भनेर हास्यपूर्ण रूपमा वर्णन गर्नुप¥यो । कैयौँ भाजपा राजनीतिज्ञहरूले ‘भारतमा सरिया कानुन ल्याउने’ कथित प्रयासको विरोध जनाउने गर्छन् । यो वाक्यांश अमेरिकी दक्षिणपन्थीबाट प्रत्यक्ष आयात भाष्य हो । मुस्लिम आप्रवासीको बढ्दो संख्यालाई इंगित गर्दै पश्चिमी दक्षिणन्थी नेताले आफ्ना मतदातामाझ भोलि सरिया कानुन लागू हुने डर देखाउने गर्छन् । पश्चिमी बयानबाजीबाट अन्धाधुन्ध शब्दावली सापटी लिँदा भारतीय हिन्दुत्ववादीहरूले यो कुरा बिर्सिन्छन् कि भारतमा अहिले पनि सरिया कानुन लागू छ ।

सन् १९३७ को ‘मुस्लिम व्यक्तिगत कानुन (सरियात) आवेदन ऐन’ एक सरिया वा इस्लामिक कानुन हो । भाजपा र तिनका हिन्दुत्ववादी समर्थकहरूले सन् २००१ सेप्टेम्बर ११ पछि पश्चिममा बढेको मुस्लिम–भय (इस्लामोफोबिया)लाई भाजपाले उत्साहपूर्वक पुँजीकृत गरेको छ । यसलाई तिनले विशेषतः अल्पसंख्यकविरोधी राजनीतिलाई अगाडि बढाउन खुब प्रयोग गर्न सफल भएका छन् । पश्चिमी दक्षिणपन्थीप्रतिको यो आकर्षण डोनाल्ड ट्रम्प र उनको निर्लज्ज इस्लामोफोबिया चिन्तनको उदयसँगै चरम सीमामा पुगेको छ । ट्रम्पप्रतिको मोह कतिसम्म चुलिएको छ भन्ने कुरा भारतमा हिन्दुत्व समर्थकले ट्रम्पका लागि गरेको सार्वजनिक प्रार्थनाले नै इंगित गर्छ । भारतीय प्रधानमन्त्रीका रूपमा मोदी आफैँ असामान्य कदम चाल्दै सन् २०१९ को अमेरिकी चुनावमा राष्ट्रपतिमा ट्रम्पलाई समर्थन गरेका थिए । 

अचानक अहिले विश्वव्यापी दक्षिणपन्थी गठबन्धन सिर्जना गर्ने यो चाहनालाई केले प्रेरित गरिरहेको छ ? यसको आंशिक जवाफ मेलोनीले संकेत गरेझैँ वामपन्थी र उदारवादीहरूको त्यस्तै प्रयासलाई अनुसरण गर्ने देखिन्छ । कम्युनिस्टहरूको घोषित रूपमा अन्तर्राष्ट्रिय रूपमा संगठनात्मक सम्बन्ध हुन्छ । उदारवादीहरूले प्रायः थिंक ट्यांकजस्ता संस्थामार्फत सञ्जाल निर्माण गर्छन् । यस मामिलामा दक्षिणपन्थी अहिलेसम्म पछाडि छन् ।

वामपन्थी र उदारवादीजस्तै अघि बढ्ने चाहनाले पश्चिमी दक्षिणपन्थीका विभिन्न तहबिच पछिल्लो समय घनिष्टता बढ्न थालेको छ । उदाहरणका लागि, ट्रम्पले बेलायतको युरोपेली संघबाट बाहिरिने ‘ब्रेक्जिट’ निर्णयलाई समर्थन गरे र त्यस परिणामले उनलाई पनि लाभ पुग्यो । दक्षिणपन्थी अमेरिकी अर्बपति इलन मस्कले बेलायत र जर्मनीमा उग्र दक्षिणपन्थी राजनीतिलाई खुलेर समर्थन गरिरहेका छन् । सानो स्तरमा भए पनि पश्चिममा श्वेत राष्ट्रवादी र भारतमा हिन्दुत्व समर्थकबिच केही समन्वय पनि छ । बेलायतबाट मैले गरेको स्थलगत रिपोर्टिङमा, मैले बेलायतका उग्र दक्षिणपन्थीहरूले प्रायः ‘ओप–इन्डिया’जस्ता हिन्दुत्व प्लाटफर्मबाट फाइदा उठाएको पाएँ ।

दुर्भाग्यवश, दक्षिणपन्थीका सामु अन्तर्राष्ट्रिय सम्बन्ध सिर्जना गर्ने कुरामा आधारभूत तहमै विरोधाभास छ । किनकि लगभग सबै दक्षिणपन्थी विचारधारामा संकीर्णता मुख्य विशेषताको रूपमा रहेको हुन्छ । जस्तो, ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि भारतमा हिन्दुत्वको सन्दर्भमा यो विरोधाभाषबाहिर आएको छ । आफ्नो ‘अमेरिका फस्र्ट’ विचारधारा कार्यान्वयन गर्ने क्रममा ट्रम्पले भारतीय अवैध आप्रवासीहरूलाई अपमानित गरेर घर फर्काए । स्वदेश फर्काइएका भारतीयहरूलाई उडान अवधिभर साङ्लाले बाँधिएको थियो । उनले भारतलाई ‘भन्सार शुल्क’को सम्राट घोषित गर्दै यसमाथि भन्सार बढाउने धम्की पनि दिएका छन् । 

मोदीले यी अपमानलाई चुपचाप निलेका छन् । यसका पछाडि अमेरिकी शक्तिसँग उनी र उनको पार्टीले अपनाएको सतर्कताले पनि भूमिका खेलेको छ । साथमा भाजपा अहिले लामो समयदेखि प्रशंसा गर्दै आएको व्यक्ति(ट्रम्प)विरुद्ध कसरी आक्रमण गर्ने भन्ने अन्यौलमा छ । वाशिंगटन डीसीमा रहेको नेसनल कन्जरभेटिजम कन्फरेन्सले सन् २०२४ मा गरेको एक ट्वीटले यस समस्यालाई औँल्याएको छ । पोस्टमा भाजपाका राम माधवले नमस्ते गरेको तस्बिर प्रस्तुत गर्दै अर्को सम्मेलन भारतमा आयोजना गर्नुपर्छ कि भनेर सोधिएको थियो । तर, जवाफमा समर्थकहरूको व्यापक कुरूप जातिवादी प्रतिक्रिया देखियो ।

‘पश्चिमी देशहरूमा बाढी आउने लाखौँ भारतीयहरूलाई हाम्रो संस्कृतिको वास्ता छैन, उनीहरू एक आक्रामक जाति हुन्,’ एक गोरा राष्ट्रवादीले सो पोष्टको कमेन्ट सेक्सनमा जवाफ लेखेको थियो । धेरै हिन्दुत्व समर्थकहरूले प्रेरणाका लागि पश्चिमी दक्षिणपन्थीलाई हेरे पनि गोरा राष्ट्रवादले हिन्दुत्ववादीप्रति उस्तै न्यानो भावना व्यक्त गरेको पाइँदैन । यही दक्षिणपन्थीबिचको संकीर्णताले अन्तर्राष्ट्रिय सहयोग असम्भव नभए पनि गाह्रो बनाउने गर्छ ।

यसका बाबजुद, हिन्दुत्व समर्थक पश्चिमी दक्षिणपन्थीबाट मोहित हुनबाट रोक्दैन । हिन्दुत्व भारतमा गहिरो जरा गाडेको आन्दोलन हो । भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ एक शताब्दीअघि स्थापित भएको थियो । भारतीय जनता पार्टीअघि संघको राजनीतिक शाखा जनसंघ सन् ​​१९५१ मा जन्मिएको थियो । मोदीको राजनीतिको पछाडि दशकौँको वैचारिक र संगठनात्मक इतिहास छ । हिन्दुत्वको सफलतासँग पश्चिमी दक्षिणपन्थीको थोरै मात्र सम्बन्ध छ । यदि तिनले भारतको सबैभन्दा ठुलो पार्टीलाई अँगाले भने पनि बदलामा तिनले कुनै ठोस फाइदा लिन सक्दैनन् ।  सबैभन्दा महŒवपूर्ण कुरा, पश्चिम र भारतका दक्षिणपन्थी राजनीतिलाई जोड्ने विषय थोरै मात्र छ । उनीहरूलाई अहिले जोड्ने एक मात्र मुद्दा इस्लामोफोबिया मात्र रहेजस्तो देखिन्छ । यही क्षेत्रमा हिन्दुत्वले पश्चिमका दक्षिणपन्थीहरूबाट धेरै भाष्य उधारो लिएको छ । पश्चिमले आतंकवादविरुद्धको युद्धको दुई दशक लामो अवधिमा मुस्लिमलाई राक्षसी जो बनाएका छन् । 

ड्यानियल भारतीय पत्रकार हुन् 

द स्क्रोलबाट

सुझावित समाचार