औपचारिकतामै सीमित स्रोत समितिको बजेट सिलिङ

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई दिने ‘बजेट सिलिङ’ औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ । सरकारले अपवादबाहेक पछिल्ला कुनै वर्षमा पनि समितिले दिएको सिलिङभित्र बसेर बजेट ल्याएको छैन । समितिको सिलिङलाई लत्यार सरकारले हरेक वर्ष ठुलो आकारको बजेट ल्याउने गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने समितिले दिएको बजेट सीमा तथा खर्च संरचनाको खाकाका आधारमा बजेट तर्जुमा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, कानुनअनुसार स्रोत समितिले दिने बजेट सिलिङलाई भने सरकारले औपचारिकताका लागि मात्रै स्वीकार गर्ने गरेको देखिन्छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति रहने व्यवस्था गरिएको छ । 

योजना आयोगको उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिका सदस्यहरूमा आयोगकै सदस्य (समष्टिगत आथिक क्षेत्र हेर्ने), नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव र महालेखा नियन्त्रक रहने व्यवस्था छ । त्यस्तै, सदस्यसचिव भने योजना आयोगका सदस्यसचिव नै रहने उल्लेख छ । अर्थतन्त्रका महत्वपूर्ण अंगका प्रमुख संलग्न स्रोत समितिले दिने बजेट सिलिङलाई भने अवज्ञा गर्ने प्रवृत्ति सरकारमा देखिँदै आएको छ । 

चालू आर्थिक वर्षका लागि स्रोत समितिले १८ खर्बको बजेट सिलिङ दिएको थियो । तर, तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सिलिङभन्दा ६० अर्ब बढीको बजेट ल्याए । तर, बढाएर ल्याएको बजेट खर्च गर्न भने सरकारले सकिरहेको छ । सरकारले चालू आवमा १६ खर्ब ९२ अर्ब मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ । त्यसअघि आव ०८०/८१ मा समितिले १६ खर्ब ८८ अर्बको बजेट सिलिङ दिएको थियो । तर, सरकारले सिलिङभन्दा ६३ अर्बले बढी हुने गरी १७ खर्ब ५१ अर्बको बजेट ल्यायो । 

किन सार्वजनिक गरिएन ‘खर्च सीमा र राजस्व अनुमान’ ?
राष्ट्रिय योजना आयोगको स्रोत समितिले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि १९ खर्ब ६५ अर्बको बजेट सिलिङ दिएको जनाएको छ । यद्यपि, यो सिलिङ हालसम्म सार्वजनिक गरिएको छैन । अर्थ मन्त्रालयले सोमबार बजेट निर्माणका लागि मार्गदर्शन सर्कुलर एवं सार्वजनिक गरेको छ । तर, स्रोत समितिले गरेको ‘खर्च सीमा र राजस्व अनुमान’ भने सार्वजनिक गरिएको छैन । आयोगले कानुनअनुसार अर्थ मन्त्रालयलाई ‘खर्च सीमा र राजस्व अनुमान’को प्रतिवेदन बुझाइसकेको बताएको छ । ‘हामीले बुझाइसेका छौँ, अब त्यो अर्थ मन्त्रालयको डकुमेन्ट भयो,’ आयोगका उपाध्यक्ष शिवराज अधिकारीले भने, ‘सार्वजनिक गर्नै नहुने भन्ने विषय त होइन ।’

खर्च र राजस्व परिचालनमा व्यापक सुधारको खाँचो छ : मीनबहादुर श्रेष्ठ पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग 
स्रोत समितिले दिने खर्च र राजस्वको सीमा एवं अनुमान नै बजेटको मुख्य आधार हो । यही आधारमा बजेट बन्छ । सिलिङभित्रै रहेर बजेट बन्छ भन्ने हुँदैन, तत्कालीन परिस्थतिअनुसार सानो–ठुलो हुन सक्छ ।

मूल कुरो बजेट सिलिङभित्र बन्यो कि बनेन भन्दा पनि कार्यान्वयनयोग्य भयो कि भएन भनेर पनि हेर्नुपर्छ । हाम्रो राजस्व संलकन र पुँजीगत खर्चमा व्यापक सुधारको खाँचो छ ।

हाम्रोजस्तो देशमा सकेसम्म ठुलो आकारको बजेट ल्याउनुपर्छ, विकास गर्नुपर्छ । यस वर्ष खर्च भएन भनेर अर्को वर्ष सानो बजेटको परिकल्पना गर्नुहुँदैन, त्यसले अझ संकुचनतर्फ लैजान्छ । राज्यका सबै पक्ष जिम्मेवार भएर राजस्व संकलन गर्ने र पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्छ ।

See More On

सुझावित समाचार