विराट गोल्डकप : मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

विराटनगरमा जारी विराट गोल्डकपमा  विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे हो। पहिलो हाफको ३७औँ मिनेटमा खेलाडी नीरज चौधरीले गरेको गोल नै प्रतियोगिताको निर्णायक गोल बन्यो । खेलाडी पथेमन गलेले मध्यभागबाट निकालेको क्रस पासलाई नीरजले आकर्षक गोलमा परिणत गरेका थिए।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ– ११ ले बराबरीमा ल्याउन निकै संघर्ष गर्यो । तर, सफल हुन सकेन। दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ– ११ ले खेल बराबरीमा ल्याउन आक्रामक खेल खेले पनि सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ– ११ पहिलो हाफमा १–० ले पछि पर्यो । खेलको पहिलो हाफमा आर्मीका लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ३३औँ मिनेटमा नीरज चौधरीले गरेको कडा प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जुङले बचाए ।

३४औँ मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन। आर्मीका ५०औँ मिनेटमा दिनेश हेमजङले डिबक्सभित्रदेखि गरेको प्रहारमा मोरङका गोलकिपर पूर्ण चेम्जुङ बाधक बने । त्यसलगतै नीराजन धामीले गरेको सशक्त प्रहार बाहिरिँदा गोल हुन सकेन। खेलको ५१औँ मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका  गोलरक्षक पूर्णले विफल पारिदिए।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो। खेलको ५३औँ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगत्तै सुशील राईले गोल गर्ने गतिलो अवसर गुमाए। मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो। ७०औँ मिनेटमा  दोर्जे तामाङले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस्टमाथिदेखि बाहिरिँदा बराबरीमा ल्याउने अवसर खेर गयो । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीका गोलरक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए।  

बिहीबारको दोस्रो क्वार्टरफाइनल खेल सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लबबिच हुनेछ।

सुझावित समाचार