पाल्हिनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित अन्य दुईजनालाई लागुऔषधमा कसुर ठहर गरेको हो।

कसुर ठहर हुने अर्कामा रघुनाथप्रसाद धोबी छन्। उनी धोबी गाउँपालिकाका नगर प्रहरी हुन्। २६ असोज ०७९ मा दायर भएको मुद्दाको फैसला मंगलबार भएको हो। गाउँपालिका अध्यक्ष गुप्तालाई दोषी ठहर गरे पनि सजाय तोक्न भने बाँकी रहेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए।

सोही मुद्दाका दोषी नगर प्रहरी धोबी भने २६ असोज ०७९ देखि पुर्पक्षका लागि थुनामै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूचना अधिकारी नारायण थापाले बताए। सजायको फैसला आइनसकेकोले गाउँपालिका अध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा नलिएको थापाले जानकारी दिए। उनले भने, ‘हामीलाई पनि यस विषयमा खासै जानकारी थिएन। प्रहरी अधिकारी फेरिरहने हुनाले पुराना मुद्दाहरू भुल्दै जाने हुँदो रैछ। अब बुझ्दै छौँ।’

उक्त मुद्दाका अन्य दुईजनाले भने सफाइ पाएका छन्। सफाइ पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवान छन्। उनीहरू भारतीय नागरिक हुन्। अभियोग लागेका पाल्हिनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन्।

अध्यक्षसहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने आउँदो २९ फागुनमा पेसी तोकिएको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए। गाउँपालिका अध्यक्ष गुप्ता माओवादीबाट दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

सुझावित समाचार