मुस्ताङमा हिमपात हुँदा किसान खुसी

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ। स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउलगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।

लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषक केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको मारमा परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाले हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार मुस्ताङको स्याउलगायतका रैथाने अन्नबालीको बगैँचा व्यवस्थापन, रोगकिरा नियन्त्रण र अनुकूल समयमा वर्षासँगै हिमपात भएकाले गत वर्षजस्तै यस वर्ष पनि स्याउ तथा अन्य रैथाने बालीको गुणस्तर र उत्पादन राम्रो हुने अनुमान गरिएको छ । जिल्लामा दुई दिनअघि परेको वर्षासँगैको हिउँले कृषकको खेतीयोग्य जमिनलाई चाहिने चिस्यान पूर्ति भएकाले यस वर्ष स्याउलगायतका अन्नबालीको उत्पादन वृद्धि हुने केन्द्र प्रमुख गुरुङले दाबी गरे ।

कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको विभिन्न स्थानमा पुगेर गरेको स्याउलगायतका रैथाने बालीहरूको स्थलगत सर्वेक्षणमा कृषकहरूले स्याउलगायतका अन्नबालीको बगैँचा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी, कृषि फार्म, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र, कृषि ज्ञान केन्द्र एक्याप एवं सबै सरोकारवाला संस्थाको संयुक्त समन्वय र सहकार्यमा मुस्ताङका कृषकको बगैँचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण कार्यमा सबै बालीको अनुगमन गर्दा राम्रो पाइएकाले गुणस्तर र उत्पादनदर यस वर्ष साबिकभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।

जिल्लामा गत वर्ष स्याउको उत्पादन राम्रो भएको भए पनि जलवायु परिवर्तनका कारण स्याउको परागसेचन हुने वेलामा हुस्सु र वर्षाले गर्दा स्याउको फूल फुल्ने समयमा प्रतिकूल असर पुगेको थियो । यसका कारण त्यस वर्ष जिल्लामा स्याउको उत्पादन तथा गुणस्तरमा ह्रास आएको थियो । जिल्लाको आर्थिक समृद्धिको मेरुदण्ड स्याउखेती भएकाले यहाँका किसानले स्याउखेतीलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसका साथै, रैथाने बाली उवा, फापर, जौ र लोकल आलु जिल्लाका कृषि उत्पादनमा पहिचान बनेको छ ।

जिल्लामा पुस र माघ, महिनामा स्याउको बगैँचा व्यवस्थापन गरिन्छ । स्याउखेतीका लागि अनधिकृत हाँगाबिँगाको काँटछाँट, गोडमेल, मलजल, औैषधिको प्रयोग र खेतीयोग्य जमिनका सिँचाइको व्यवस्था गर्ने गरिन्छ । स्याउका अलावा असोज र कात्तिक महिनामा उवा, फापर, जौ र आलुलगायतका बाली लगाएर त्यसको सम्पूर्ण खेती बगैँचाको व्यवस्थापन गर्ने गर्दछन् ।

उपल्लो मुस्ताङमा भने कृषकले फागुनदेखि उवा, जौ, गहुँ र फापरलगायतका अन्नबाली लगाउने गर्दछन् । पछिल्लो समय जिल्लाका कृषकलाई स्थानीय जातका स्याउ खेतीसँगै नयाँ बगैँचामा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेती गर्दैआइरहेका छन् । दोस्रो वर्षमै थोरै क्षेत्रफलमा धेरै उत्पादन दिन सक्ने भएकाले मुस्ताङका कृषक हाइब्रिड स्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

मुस्ताङको पाँचवटै स्थानीय तहमा स्याउखेती गरिएको छ । राष्ट्रिय गौरवको सडक सञ्जालले यातायात सहज हुन थालेपछि जिल्लाका कृषकले उत्पादन गरेको स्याउलगायतका अन्नबालीको बजारीकरणमा निकै सहज भएको छ । जिल्लामा गग वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा रु. ८३ करोडको स्याउ जिल्लाबाहिर निकासी भएको थियो ।

जिल्लाका पाँच स्थानीय तहमा गरी १४ सय हेक्टरमा स्याउखेती गरिएकोमा ५८५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको स्याउखेतीले कृषक लाभान्वित मात्र भएका छैनन्, यहाँका पर्यटन व्यवसायमा समेत टेवा पुगेको छ । भदौदेखि असोज महिनामा यहाँका स्याउ बगैँचामा लटरम्म स्याउ फल्ने भएकाले मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत स्याउ बगै‌ँचा चहार्ने, फोटो खिच्ने र बगैँचामै यहाँको स्याउ चाख्ने गर्छन् । रासस

सुझावित समाचार