खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोकनजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी नियमित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, ‘हाल म नेपाल र भारत सरकारबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँदिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी नियमित गर्न निर्देशन दिइसकेको छु ।’
यसैगरी, मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौँ ।’
मन्त्री यादवको निर्देशनपश्चात् अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाई आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।