केपी ओली कपको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। तेस्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मच्छिन्द्र २–० ले विजयी हुँदै नयाँ कीर्तिमान बनाएका हो।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र विदेशी खेलाडी स्टेफन जमाह जलीले गोल गरे। मच्छिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो।
खेलको २९औँ मिनेटमा सनिसले गोल गरेका थिए। पेनाल्टी क्षेत्रबाहिर राइट साइडबाट सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भयो।
७३औँ मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए। जलीले मलिक युसुफको क्रसमा गोल गरे।
यसपछि थप गोल नहुँदा मच्छिन्द्र लगातार तेस्रोपटक च्याम्पियन बनेको हो। मच्छिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो।
प्रतियोगिताको सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। मच्छिन्द्र फुटबल क्लबले आयोजक केपी एफसीलाई ४–० ले पराजित गरेको थियोे।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेता बनेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा चित्त बुझाएको आर्मीले पाँच लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल पाएका छन् ।
प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए।
फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटालीका लिजेन्ड तथा विश्व विजेता गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रूपमा छन्।