तीन ठुला पम्प स्टोरेज जलविद्युत् परियोजना बनाउने तयारीमा प्राधिकरण

धादिङ र चितवनमा १५ सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज बनाइने

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणले थप तीनवटा पम्प स्टोरेज जलविद्युत् परियोजना अघि बढाउने भएको छ । प्राधिकरणले देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राख्ने नीति ल्याएको छ । त्यसका लागि प्राधिकरणको आयोजना विकास विभागले देशभरि एक सय ५६ वटा पम्प स्टोरेज आयोजनाको पहिचान गरेको थियो । त्यसमा अहिले ४२ हजार मेगावाटका ३३ वटा आयोजना छनोटका लागि स्क्रिनिङ तथा स्तरीकरण गरिँदै छ । त्यसमा १,५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज, तीन सय ३२ मेगावाटको स्यार्पु ताल पम्प स्टोरेज र दुई सय मेगावाटको दुधकोशी पम्प स्टोरेज गरेर तीन परियोजनाको विकास तत्काल अघि बढाउने तयारी प्राधिकरणको छ । 

पम्प स्टोरेज आयोजनामा विद्युत्गृहमाथि र तल गरेर दुईवटा ड्याम हुन्छन् । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युत्गृहमा पानी खसालिन्छ र विद्युत्गृहबाट खेर जाने पानीलाई तल्लो ड्याममा जम्मा गरिन्छ । सोही तल्लो ड्याममा जम्मा भएको पानीलाई पम्प गरेर पुनः माथिल्लो ड्याममा पठाइन्छ । सोही पानीबाट पुनः बिजुली उत्पादन गरिन्छ । विदेशी मुलुकमा यस्ता पम्प स्टोरेज आयोजना बने पनि नेपालका लागि भने यो नयाँ प्रविधि हो । नेपालमा यो प्रविधिबाट विद्युत् उत्पादन गर्न आवश्यक देखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘नेपालको विद्युत् आपुर्तिलाई १२ महिना र २४ घण्टा भरपर्दाे र गुणस्तरीय बनाउन पम्प स्टारेज परियोजनाको आवश्यकता देखिएको छ । सोहीअनुसार यस्ता परियोजना बनाउने गरी प्राधिकरणले अध्ययन अघि बढाएको छ,’ उनले भने, ‘यो भविष्यमा निजी क्षेत्रका लागि पनि लगानी गर्न राम्रो क्षेत्र हुनेछ ।’
प्राधिकरणका अनुसार रुकुम पश्चिमस्थित स्यार्पु तालमा तीन सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजना बनाउन सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । निर्माणको तयारीमा रहेको ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा पनि थप दुई सय मेगावाटको पम्प स्टोरेज बनाउने गरी अध्ययन भइरहेको प्राधिकरणको भनाइ छ । 

यस्तै, धादिङको बेनीघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५ सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि प्राधिकरणको आयोजना विकास विभागले आयोजनाको डेस्क अध्ययन गरिरहेको छ । यी तीन आयोजनामध्ये हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना नै बढी आकर्षक देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

उक्त ठाउँ काठमाडौं उपत्यका एवं विद्युत् भारकेन्द्रनजिकै रहेको छ । पहुँच सडक, प्रसारणलाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमतासमेत त्यहाँ रहेको छ । त्यही क्षेत्रमा अहिले दुई सय २० केभीको प्रसारणलाइन छ । एमसिए नेपालले निर्माण गर्ने चार सय केभीको प्रसारणलाइनसमेत त्यही क्षेत्रमा पर्नेछ । त्यसले गर्दा भविष्यमा त्यही प्रसारणलाइनमार्फत यस परियोजनाको विद्युत् भारतमा निर्यात गर्नसमेत सकिनेछ । यसैगरी, त्यहाँ मानव बस्ती पनि न्यून हुँदा मुआब्जालगायतका सामाजिक लागत पनि सस्तो पर्ने देखिएको छ । त्यसले गर्दा उक्त परियोजना आर्थिक रूपमा समेत सम्भाव्य देखिएको छ । 

यसका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुईवटा जलाशय निर्माण गरिनेछ । विद्युत्गृह मोवा खोलामा निर्माण गरिनेछ । हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । आयोजनालाई विद्युत्को बढी माग हुने समय (पिक)मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधानलगायतको टोलीले शनिबार धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा सामाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत् प्रवाहका लागि प्रसारणलाइनको उपलब्धता र विद्युत् भारकेन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाको तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताए । 

आयोजनालाई पहिलो चरणमा करिब पाँच सय १० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्ण क्षमताको बनाउन सकिने उनको भनाइ छ । आयोजनाबाट वार्षिक रूपमा करिब तीन अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब पाँच लाख ८७ हजार अमेरिकी डलर (करिब सात करोड ७५ लाख रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । अहिले नेपालमा जलविद्युत्को लागत औसत २० करोड रुपैयाँ हाराहारीमा छ । तर, यो परियोजनाको लागत अनुमान त्योभन्दा धेरै कम गरिएको छ ।

सुझावित समाचार