आत्मविश्वास, दृढता र बलियो मुटु

विचारमा जस्तोसुकै मतभेद हुँदा पनि विषयलाई गम्भीरतापूर्वक हेर्ने र तर्कसंगत रूपमा स्वीकार गर्ने उहाँको क्षमता अद्भूत छ

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

२०४७–४८ सालतिर हो, मैले केपी शर्मा ओलीज्यूलाई त्रिभुवन शिक्षण अस्पतालको आइसियूमा पहिलोपटक देखेको । त्यतिवेला म चिकित्सा अधिकृतका रूपमा आइसियूको ड्युटी गर्थेँ । मैले उहाँलाई व्यक्तिगत रूपमा चिनेको थिइनँ, न उहाँले मलाई । उहाँलाई पेटको समस्या थियो, पेटबाट रगत बगिरहेको थियो र रगत आवश्यक भएको थियो । मलाई सम्झना छ, मेरा सहकर्मीहरूले उहाँलाई योद्धा र एमालेका सशक्त नेता भनेर कुरा गर्दै थिए । तर, म विश्वास गर्दिनथेँ उहाँ यति सामान्य, दुब्लो–पातलो र विनम्र व्यक्तित्व हुनुहुन्थ्यो । कसरी त्यस्तो व्यक्ति पनि यस्तो सशक्त योद्धा हुनुहोलाजस्तो लागेको थियो । 

पछि, उहाँ एकपटक शिक्षण अस्पतालको सर्जिकल ओपिडीमा अर्को शल्यचिकित्सकसँग फलोअपका लागि आउनुभएको थियो । हामीले संक्षिप्त कुराकानी ग¥यौँ । तर, हामीबिच त्यस्तो यादगार केही कुरा थिएन । समय बित्दै गयो, म धेरै कुरामा व्यस्त भएँ । विदेशमा तालिम, शिक्षण अस्पतालको जिम्मेवारी, गंगालाल अस्पतालमा नियुक्ति र त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्राध्यापकका रूपमा फिर्ता । मैले उहाँलाई अलिकति राम्रोसँग चिन्न थालेँ, जतिवेला उहाँ नेपालका प्रधानमन्त्री बन्नुभयो । 

एकपटक महावीर पुन र म मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि चयन भयौँ । पुरस्कार वितरण समारोहमा, राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो र प्रधानमन्त्री केपी शर्मा ओली अतिथि हुनुहुन्थ्यो । उहाँले आफ्नो भाषणमा भन्नुभएको सुनेर म अचम्भित भएँ । उहाँले २० वर्ष पुरानो शिक्षण अस्पतालको घटना उद्धृत गर्नुभयो, सर्जिकल ओपिडीमा एकजना ब्राह्मण डाक्टरले विश्वकर्मा थरका बिरामीको खुट्टा छोएको... पीडितलाई सम्मान र मर्यादाका साथ उपचार गरेको... यस्तै यस्तै ।

केपी ओलीको मुटु सधैँ बलियो थियो । उहाँ यति आत्मविश्वासी देखिनुहुन्थ्यो, जतिवेला उहाँको मेडिकल स्थिति डरलाग्दो थियो । त्यही आत्मबलले उहाँले बिस्तारै रोगलाई जित्नुभयो । 

यो कुरा सुनेर मलाई खुसी र अचम्म पनि लाग्यो । मनमनै सोचेँ– कसरी कुनै व्यक्तिले २० वर्ष पुरानो, यति सामान्य घटना, बिरामी जाँच्ने घटनालाई याद राख्न र चर्चा गर्न सक्छ ! विचारमा जस्तोसुकै मतभेद हुँदा पनि विषयलाई गम्भीरतापूर्वक हेर्ने र तर्कसंगत रूपमा स्वीकार गर्ने उहाँको क्षमता अद्भूत छन् । उहाँले मप्रति देखाउनुभएको सद्भाव म बिर्सिन सक्दिनँ । एक दिन उहाँले मलाई बालुवाटार बोलाउनुभएको थियो र त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदको प्रस्ताव गर्नुभएको थियो । जुन मैले व्यक्तिगत कारण : बाल मुटुरोग अस्पताल स्थापना गर्ने जिम्मेवारी र छोटो समयमै त्रिभुवन विश्वविद्यालय सुधार गर्ने सम्भावना नभएका कारणले शिष्टतापूर्वक अस्वीकार गरेँ । हरेकपटक उहाँलाई भेट्दा, उहाँलाई म निकै स्पष्ट, तीक्ष्ण र आफ्नो लक्ष्यप्रति स्पष्ट देख्छु । उहाँसँग हरेक राष्ट्रिय समस्याको समाधान देख्छु । 

प्रधानमन्त्री भएकै वेला उहाँ पेटको बिरामी पर्नुभयो । पेटको गम्भीर पीडा भएका कारण उपचारका लागि उहाँ शिक्षण अस्पतालमा भर्ना हुनुभयो । एपेन्डिक्स भएकोरहेछ । हामीले उहाँलाई मनमोहन कार्डियोलोजी केन्द्रमा शल्यक्रिया गर्न व्यवस्था गर्यौँ । म कार्डियोथोरासिक सर्जरी र कार्डियोथोरासिक आइसियूको प्रमुख थिएँ । हाम्रो टोलीमा शिक्षण अस्पतालको क्रिटिकल केयर टोली पनि सामेल थियो । उहाँ रातभर आघातमा हुनुहुन्थ्यो, उहाँको रक्तचाप ७० मा थियो । अस्पतालमा तनावपूर्ण माहोल थियो । उपचार गरिरहेका डाक्टरहरूको आफ्नै रक्तचाप बढिरहेको थियो । उहाँको मुटु सधैँ बलियो थियो । उहाँ यति आत्मविश्वासी देखिनुहुन्थ्यो, जतिवेला उहाँको मेडिकल स्थिति डरलाग्दो थियो  । त्यति आत्मबलले उहाँले बिस्तारै रोगलाई जित्नुभयो । 

यस्तै, उहाँको दोस्रो मिर्गौला प्रत्यारोपणका वेला पनि भयो । योपटक म उपचार टोलीमा थिइनँ । तर, आइसियू टोलीबाट रिपोर्ट सुन्दै थिएँ– उस्तै आत्मविश्वास र दृढता उहाँमा थियो । मलाई लाग्छ, उहाँको आत्मविश्वासले नै उहाँलाई जीवनका सबैभन्दा जोखिमपूर्ण दिनमा जित्न सहयोग गर्यो ।
(डा. कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)

सुझावित समाचार