भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्त्विक बुद्धस्थलहरूको पर्यटन प्रवर्द्धनका लागि आयोजित ‘बुद्ध ज्ञान साइकलयात्रा’ शुभारम्भ भएको छ ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपालको झन्डा फहराएर साइकलयात्राको शुभारम्भ गराएका थिए ।
दुईदिने यात्रामा सबैभन्दा कम उमेरका बालक आठ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी छन् । त्यसैगरी, ज्येष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन सहभागी छन् । यात्रामा विश्व साइकलयात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० साइकलयात्री सहभागी छन् ।
साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकलयात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्यकुमार सारुमगरले बताए । साइकलयात्रमा सहभागिता जनाउन नेपाल, भारतलगायत विभिन्न स्थानबाट १३० साइकलयात्री बिहीबार भैरहवा आइपुगेका थिए । उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो ।