भोलि र पर्सि कहाँ-कहाँ हुन्छ वर्षा र हिमपात ?

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

हिउँदको उत्तरार्धमा नेपाली आकाशमा प्रवेश गरेको पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीले भोलि बिहीबार र पर्सि शुक्रबार वर्षा र हिमपात गराउने देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यो प्रणालीका कारण बुधबारबाट फाट्टफुट्ट वर्षा र हिमपात सुरु गरेको छ। काठमाडौं उपत्यकामा पनि बादल लाग्नुका साथै चिसो हावा चलेको छ। यसको प्रभावका कारण पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने देखिएको उनले बताए। 

बिहीबार सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए। अन्य प्रदेशमा पनि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। तर, बाँकी प्रदेशमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ। 

शुक्रबार भने वर्षा र हिमपातको सम्भावना अझ धेरै छ। सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए। सुदूरपश्चिमको तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने देखिन्छ। त्यस्तै, लुम्बिनी र गण्डकीका थोरै तथा बागमती र कोशीका पहाडी भूभागका केही स्थानमा वर्षाको आकलन गरिएको छ। 

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो ठाउँमा हिमपात हुने देखिएको उनले बताए। त्यस्तै, गण्डकीका उच्च पहाडी र हिमाली भूभागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ।

सुझावित समाचार