आर्मीलाई हराउँदै पुलिसले जित्यो सनस्टार कप

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

रोल्पामा गत शनिबारदेखि सुरु भएको सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। बुधबार लिबाङमा बाक्लो दर्शकका बिच सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो।

फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच पाँच खेल भए। जसमा २५–१८, २०–२५, २५–१४ र २५–२३ को अंक अनुपातमा पुलिस क्लबले जित निकालेको हो। योसँगै नेपाल पुलिस क्लबले पाँच लाख राशिको पुरस्कारसँगै सनस्टार कप हात पारेको छ। फाइनलमा पराजित त्रिभुवन आर्मी क्लबले दुई लाख ५० हजार रुपैयाँ जितेको छ।

यसैगरी, बुधबार बिहान कोशी र लुम्बिनी प्रदेशबिच भएको खेलमा कोशीले लुम्बिनीमाथि चौथो खेलको अनुपातमा तीन अंक आफ्नो पक्षमा पार्दै जित निकाल्यो। कोशी र लुम्बिनीबिच २६–२४, १६–२५, २५–१६ र २८–२६ को अंकभार रहेको छ। योसँगै कोशी प्रदेश तेस्रो र लुम्बिनी प्रदेश चौथो भएका छन्। तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ जितेकाे सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।

सनस्टार युवा क्लब रोल्पाको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागीय टिम र आयोजक टिमसहित चार प्रदेशका टिम सहभागी थिए।

सोही अवसरमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता पनि सम्पन्न भएको छ। महिला भलिबल प्रतियोगिताको उपाधि परिवर्तन गाउँपालिकाले जितेको क्लबका अध्यक्ष केसीले जानकारी दिए।
 

सुझावित समाचार