समाजशास्त्री प्रकाश राईलाई ३ प्रश्न

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

नेपालका पहाडी बस्ती किन रित्तिँदै छन् ?
नेपालका पहाडी बस्ती रित्तिँदै जानुका बहुआयामिक कारण छन् । अहिलेको विश्व व्यवस्था यसको एउटा मुख्य कारण हो । यसले विभिन्न आर्थिक संरचनासँगै निश्चित आर्थिक केन्द्रहरू निर्माण गर्छ । अनि, तिनै केन्द्रले मानिसका सपनालाई आफूसँगै जोडेर हाम्रा गाउँबस्तीलाई रित्तिन बाध्य बनाउँछन् । ती आर्थिक केन्द्रले मानिसलाई गाउँबाट सहर र सहरबाट विदेशतिर आकर्षित गर्छन् । त्यस्ता आर्थिक केन्द्रहरूले हाम्रा गाउँबस्तीलाई परनिर्भर बनाउँछन् । अनि, मानिसहरू सुविधा खोज्दै आफ्नो थातथलो छाड्न बाध्य हुन्छन् । 

यसले हाम्रो सामाजिक बनोटमा के प्रभाव पार्छ ?
यसले हाम्रो सामाजिक बनोटमा निश्चित रूपमा प्रभाव पार्छ । गाउँबाट सहर आउँदा या विदेश जाँदा उसले आफ्नो शरीर मात्र लिएर आउँदैन । आफूसँगै भाषा, संस्कृति, परम्परा, रहनसहन आदि पनि साथै लिएर आउँछ । तर, नौलो ठाउँमा उसका लागि ती भाषा, संस्कृति जोगाउने या अवलम्बन गर्ने परिवेश भेटिन्न । अनि, नौलो ठाउँको परिवेशअनुसार ऊ आफूलाई ढाल्न बाध्य हुन्छ । यसले उसको हिजोको पहिचान मेटिँदै जाने र नयाँ पहिचान कायम हुने परिस्थिति सिर्जना हुन्छ । 

यसलाई रोक्न सकिन्न ?
अहिलेको विश्व व्यवस्थामा यसलाई ठ्याक्कै रोक्न त सकिन्न । आदिम युगदेखि नै मान्छे बसाइँ सरिरहने प्राणी हो । मान्छे सिर्जनशील हुन्छ । ऊ बहुआयामिक पनि छ । एउटा सपना पूरा भएपछि अर्को सपना देख्नु उसको स्वभाव नै हो । त्यसैले, सुविधा या अवसरको खोजीमा मान्छेले गाउँ छाडिरहन्छ, यसलाई रोक्न सकिन्न । तर, कृषिलाई आधुनिकीकरणसँगै आर्थिक क्रियाकलापसित जोड्नुका साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई सहज बनाउने हो भने केही हदसम्म यस्तो प्रवृत्ति न्यूनीकरण गर्न भने सकिन्छ । 

सुझावित समाचार