७१ जनाको कोटामा ५१ को मात्रै आवेदन, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाटै गरे फारम भर्न आह्वान
प्राविधिक विषयमा छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी नभएपछि हारगुहार गर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री केपी ओलीले नै सामाजिक सञ्जालमार्फत छात्रवृत्तिमा अध्ययनका लागि फारम भर्न विद्यार्थीलाई आह्वान गर्नुपर्ने अवस्था आएको छ ।
‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्य्राजुएट एमबिबिएस एक, पोस्ट ग्य्राजुएट इन्जिनियरिङमा सात, एग्रिकल्चरमा तीन, पिएचडी इन्जिनियरिङमा एक, भेटेरिनरीमा एक, आइटीमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसनमा एकजनाको सिट अझै खाली रहेको सूचना पाएको छु,’ प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक–दुई दिनभित्रै) आवेदन दिनुहोला । आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ ।’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले निःशुल्क पढाउँछु भन्दा पनि विद्यार्थी नहुनु विडम्बना नरहेको बताए ।
उनका अनुसार छात्रवृत्तिका लागि चीन सरकारबाट अनुदान आएपछि मन्त्रालयले गत २२ माघमा फारम खुलाएको थियो । तर, विद्यार्थीले कोटाअनुसार आवेदन दिएनन् । मन्त्रालयले विभिन्न प्राविधिक विषयमा छात्रवृत्तिमा पढाउन ७१ जना विद्यार्थी माग गरेको थियो ।
तर, ५१ जनाले मात्रै फारम भरे । सबै प्राविधिक विषय गरेर २० वटा कोटा खाली नै भयो । अन्डर ग्य्राजुएट एमबिबिएस, पोस्ट ग्य्राजुएट इन्जिनियरिङ, एग्रिकल्चर, पिएचडी इन्जिनियरिङ, भेटेरिनरी, आइटी, मेडिकल साइन्सलगायत विषयमा छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थीले फारम नभरेपछि शिक्षा मन्त्रालयले पुनः सूचना जारी गरेको छ ।
‘फ्रीमा पढाउन खोज्दा पनि विद्यार्थी नआउनु भनेको राम्रो होइन, पछिल्लो समय विदेश जानेको संख्या पनि बढिरहेको छ । धेरै विद्यार्थी विदेश जाँदै छन् भन्ने किसिमको खबर दूतावासबाट आएपछि प्रधानमन्त्रीज्यूले नै सामाजिक सञ्जालमा लेखेको हुनुपर्छ,’ उनले भने ।
सापकोटाका अनुसार पछिल्लो समय प्राविधिक विषयमा अध्ययन गर्न नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्दो छ । मन्त्रालयका अनुसार चीन सरकारले शैक्षिक सत्र ०२५/२६ का लागि ७१ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो । तर, त्यसमा कोटा नै पूरा नभएपछि सो विषय प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।