राष्ट्रिय महिला टोली अन्तर्राष्ट्रिय उपाधिका लागि आज १३औँपटक भिड्दै

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

फिफा वरीयतामा ४८ स्थानमाथि रहेको म्यानमारविरुद्ध फोर नेसन्स कपको उपाधिका लागि नेपालले प्रतिस्पर्धा गर्दै 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बुधबार फोर नेसन्स कप च्याम्पियनसिपको उपाधि भिडन्तमा म्यानमारको सामना गर्दै छ । महिला टोलीको यो १३औँ अन्तर्राष्ट्रिय उपाधि भिडन्त हो । दशरथ रंगशालामा नेपालले आफूभन्दा फिफा वरीयतामा ४८ स्थानमाथि रहेको म्यानमारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने अपेक्षा छ । 
राउन्ड रोबिन लिगमा यी टोलीहरू शीर्ष दुई स्थानमा रहँदै फाइनलको स्थान सुरक्षित गरेका हुन् । दुवैले समान सात अंक जोडे पनि गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा रह्यो । राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो । जस खेलमा स्ट्राइकर सावित्रा भण्डारीले अलराउन्ड खेल प्रस्तुत गरेकी थिइन् । 

फिफा डेमा आयोजना भइरहेको प्रतियोगितामा लेबनान र किर्गिस्तान लगातार दुई खेलमा पराजित हुँदै राउन्ड रोबिन लिगबाट बाहिरिएका थिए । नेपाल र म्यानमारबिच अन्तर्राष्ट्रिय फुटबलमा दोस्रोपटक उपाधि भिडन्तमा आमनेसामने हुन लागेको हो । सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपको फाइनलमा म्यानमारले नेपालमाथि ३–१ को जित निकालेको थियो । फोर नेसन्सको राउन्ड रोबिन खेलमा म्यानमारले नेपालविरुद्ध पहिलो तथा दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो ।

तर, उपाधि भिडन्तमा भने म्यानमारले प्रमुख खेलाडीलाई खेलाउने सम्भावना छ । दशरथ रंगशालामा घरेलु मैदानमा समर्थकबिच म्यानमारलाई रोक्ने योजना नेपालको छ । यद्यपि, यो त्यति सहज देखिँदैन । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई दिन रेस्टका कारण फाइनलको तयारी राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले फाइनलको तयारी राम्रो गरेका छौँ, अघिल्ला खेलमा भएका गल्ती सुधार गर्ने मौका पायौँ,’ तामाङले भने । नेपालकी कप्तान अन्जिला तुम्बापो सुब्बाले यसपटक नेपाल पहिलो हुनकै लागि प्रतिस्पर्धा गर्ने बताइन् । ‘घरमै आयोजना भइरहेको प्रतियोगिताको उपाधि रक्षा गर्ने योजना छ,’ उनले भनिन् । 

गत कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पिनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो । नेपालले लगातार १२औँ फाइनल गुमायो । महिला टोली उपाधि भिडन्तमा चुकिरहेको छ । यसपटक फाइनलमा व्यहोरिरहेको हारको ‘जिंक’ तोड्ने विश्वास छ । यद्यपि, नेपालले अहिलेसम्म म्यानमारविरुद्ध जित निकाल्न सकेको छैन । 

See More On

सुझावित समाचार