ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले पुनः वार्ताको लागि आन्दोलनरत पक्षलाई आह्वान गरेको छ।
गृह मन्त्रालयका सहसचिव एवं सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्।
आन्दोलनरत वार्ता सहजीकरण समितिबिच गत माघ २२ देखि निरन्तर संवाद भइरहेको विज्ञप्तिमा उल्लेख छ। गृहले केबलकार निर्माण कार्य हाललाई स्थगित गरी आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने जनाएको छ।