रोल्पामा जारी सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत समूह चरणको खेल सकिएको छ। मधेश प्रदेश र आयोजक सनस्टार युवा क्लब समूह चरणबाटै बाहिरिएका छन्।
सोमबार भएको पहिलो खेलमा मधेश प्रदेशले कोशी प्रदेशसँग हार व्यहोर्यो। २५–११, २५–१२ र २५–१८ को सोझो सेटमा मधेशविरुद्ध कोशीले जित निकालेको हो। नेपाल पुलिस क्लब र आयोजक सनस्टार युवा क्लबबिचको दोस्रो खेलमा फराकिलो अंक अनुपातमै पुलिस क्लबले जित हासिल गर्यो। २५–१४, २५–१० र २५–१३ अंकसहित सोझो सेटमा सनस्टार पुलिससँग पराजित भएको हो। योसँगै मधेश प्रदेश र सनस्टार युवा क्लब समूह चरणबाटै बाहिरिएका छन्। कर्णाली प्रदेश यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
त्यस्तै, समूह चरणकै अन्तिम खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच सम्पन्न भएको छ। निकै कडा प्रतिस्पर्धा रहेको यो खेल अन्ततः पाँच खेलमा तीन खेल आफ्नो पक्षमा पार्दै त्रिभुवन आर्मी क्लबले जित निकाल्यो। आर्मी र लुम्बिनीबिच क्रमशः २५–२३, २७–२९, २५–१७ र २३–२५ अंक अनुपातमा खेलहरू भएका थिए।
दुई–दुई खेल आफ्नो पक्षमा पारेपछिको अन्तिम अर्थात् पाँचौँ खेल निकै रोचक रहेको थियो। घरेलु टिमका रूपमा रहेको लुम्बिनी प्रदेशलाई दर्शकको निकै साथ मिलेको थियो। यहीबिचमा लुम्बिनीका क्विकर–ब्लकर विकास गिरी घाइते भएपछि उनलाई लोचन आलेले रिप्लेस गरेका थिए। योसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका छन्।
लुम्बिनी र आर्मीबिचको खेलको पाँचौँ सेटमा लुम्बिनीको १४ र आर्मीको १५ अंक रहेको समयमा विवादसमेत भएको थियो। लुम्बिनीका कोचले रेफ्रीलाई अपशब्द बोलेको भन्दै रेफ्रीले उनलाई रेड कार्ड दिएका थिए।
सनस्टार युवा क्लब रोल्पाको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी सात टिममध्ये नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबिच सेमिफाइनलका खेलहरू हुनेछन्।