‘रन टू साइन’को उपाधि तामाङ र श्रेष्ठलाई

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको उपाधि पुरुषतर्फ मिंमार सिंगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन्  । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित १० किलोमिटर राष्ट्रिय दौड प्रतियोगिताको उपाधि जितेसँगै उनीहरूले एक-एक लाख रुपैयाँ राशिको पुरस्कार पाएका छन् । 

‘रन टू साइन’ नाराका साथ बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिता बैंकले गरेको हो । प्रतियोगिताको खुलातर्फको उपाधि पुरुषतर्फ तामाङ र महिलातर्फ श्रेष्ठले जितेका छन्। 

पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चाैथो र नारायणी भण्डारी पाँचौँ बनिन् । पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडुवाल पाँचौँ भए। दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पूजा पछाई विजेता बनेका छन् । पुरुषतर्फ अजय पाण्डे दोस्रो, मुकेश थारू तेस्रो र प्रेमलाल कोहार चौथो बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथो बने ।

यस्तै, भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुवेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युवबहादुर राना प्रथम, गोविन्द थापा दोस्रो, केशरसिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथो भएका छन्। दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन्।

तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सय जनाले प्रतिस्पर्धा गरेका थिए। विजयी धावकहरूलाई प्रतियोगिताका सद्भावना दूत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पूर्वमन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका थिए।
 

सुझावित समाचार