राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर खुला राजनीतिमा आउन सुझाव दिएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले देश बनाउने भए संसदबाट प्रधानमन्त्री बनेर काम गर्न चुनौती दिए। प्रजातन्त्र दिवसका अवसरमा शाहले जारी गरेको सन्देश सबै नेपाली नागरिकले सुनेको भन्दै गौतमले संघीय संसद्ले पनि सुन्नुपर्ने बताए।
नेपाललाई राष्ट्रको रूपमा विकास र संरक्षण गर्न राजासहित जनता, नेता र असंख्य नेपाली योद्धाहरूको भूमिका सम्माननीय रहेको उल्लेख गर्दै उनले भने, ‘तर, यथार्थ के हो भने नेपालमा राजाको शासन राजाहरूले नै समाप्त गरेका हुन्। एउटा राजा रहने नेपालमा श्री ५ र श्री ३ बनाएर दुई राजाको द्वैध शासन कायम गर्ने पनि राजाहरू नै हुन्।’
महेन्द्र र वीरेन्द्रसहित उनको परिवारको हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति भएका उल्लेख गर्दै गौतमले भने, ‘राजा वीरेन्द्रको हत्यापछि राजा भएका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्विकारेकै थिए। तर, राष्ट्रको मालिक भइसकेका नेपाली जनतालाई रैती बनाएर शासन गर्न चाहने पूर्वराजा ज्ञानेन्द्रलाई जनआन्दोलनको माध्यमबाट नेपाली जनताले गद्दीबाट जनताको स्तरमा झारिदिएका हुन्।’
नेताहरूले देशको विकास, उन्नति र प्रगति गर्न नसकेकाले आफूलाई राजा बनाउनुपर्ने ज्ञानेन्द्रको भनाइ उचित नभएको गौतमको भनाइ छ। देश विकास गर्ने चाहाना भए संसदीय राजनीतिबाटै प्रधानमन्त्री बनेर काम गर्न उनले शाहलाई चुनौती दिए।
‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गर्न सकेनन्, त्यसो भएर मलाई राजा बनाउ भन्नु उचित हुँदैन। मेरो उहाँलाई सहृदयी सल्लाह के छ भने– तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्। र, केही समयपछि २०८४ मा हुन गइरहेको निर्वाचनमा भाग लिनुस्। निर्वाचित भएर संसदबाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस्।’