स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
आज मडिया ब्रिफिङका क्रममा उनले भने, ‘साताभरिका नीतिगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।’
यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू दिँदै आएको छ ।
प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए ।
मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा. बुढाथोकीले बताए ।
उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७८९ लाई खोप प्रदान गरिएको जानकारी दिए । हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरूलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि ३० देखि ४९ वर्षसम्मका ९२ हजार २७३ जना महिलाले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा. बुढाथोकीले जानकारी गराए ।
भिआइए विधिबाट ६० हजार ९३७, एचपिभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् । प्रवक्ता डा. बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान चलिरहेको बताए ।
यही फागुन ५ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका– ४ मा हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।