हमासद्वारा चार इजरायली बन्धकको शव हस्तान्तरण

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण
हमासद्वारा चार इजरायली बन्धकको शव हस्तान्तरण

हमासको सशस्त्र शाखा क्वासम ब्रिगेड

हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलोपटक शव हस्तान्तरण गरेको हो। यो हमास र इजरायली पक्षबिच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ। बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदान–प्रदान हुनेछ।

दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफसिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा सहर खान युनिसबाट भएको हो। हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो।

प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ। इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित सिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ।

हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमानजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो।

केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजापट्टीबाट बन्धक–कैदी आदान–प्रदानमा रिहा गरिएको थियो।

गाजामा १५ महिनाभन्दा लामो संघर्षपछि जनवरी १९ मा इजरायल र हमासबिच भएको युद्धविरामको पहिलो ६ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा उनीहरूको शव स्वदेश फिर्ता गरिएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताएका थिए। 

युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार एर्क सयभन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकलाई लडाकुहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन्। पहिलो चरणअन्तर्गत रिहा हुन योग्य गाजाका बाँकी १४ बन्धकमध्ये आठजनाको मृत्यु भइसकेको इजरायलले जनाएको छ।

हमासको आक्रमण र बन्धक बनाइएका घटनासँगै बिबास परिवारका सदस्यहरू इजरायलका लागि चरम निराशाको राष्ट्रिय प्रतीक बनेको थियो। हमासले इजरायली हवाई आक्रमणले युद्धको सुरुमा नै उनीहरूको मृत्यु भएको बताएपछि विदेशमा उनीहरूको मृत्युलाई तथ्यको रूपमा स्वीकार गरिएको छ, तर इजरायलले यो दाबीलाई कहिल्यै पुष्टि गरेको छैन र बिबास परिवारसहित धेरैजना विश्वस्त छैनन्।

इजरायली अभियान समूह ‘द होस्टेज एन्ड मिसिङ फेमिलिज फोरम’ले बिबास परिवारका तीन सदस्यको मृत्यु भएको खबरले आफूलाई स्तब्ध बनाएको बताएको छ। बिबास परिवारले पुष्टिका लागि पर्खने बताएको छ। तेल अभिभस्थित नेसनल फरेन्सिक मेडिसिन इन्स्टिच्युटले पहिचान प्रक्रियालाई तीव्रता दिन १० जना चिकित्सक परिचालन गरेको छ।

इजरायल र हमासले यसै हप्ता र अर्को हप्ता दुई समूहमा बन्धक बनाइएका आठजनाको अवशेष फिर्ता गर्ने र अन्तिम ६ जना जीवित इजरायली बन्दीलाई शनिबार रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए। बन्धकहरूको मञ्चले ती ६ जनाको नाम एलिया कोहेन, ताल साेहम, ओमेर सेम टोभ, ओमेर वेनकर्ट, हिसाम अल–सैयद र एवेरा मेन्गिस्टु रहेको बताएको छ। 

गाजामा दुवै पक्षबाट उल्लंघनको आरोप लागे पनि युद्धविराम जारी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भग्नावशेषले भरिएको गाजालाई नियन्त्रणमा लिने र २० लाखभन्दा बढी प्यालेस्टिनीको जनसंख्या स्थानान्तरण गर्ने व्यापक निन्दा गरिएको योजनाका कारण पनि यो क्षेत्र तनावमा परेको छ।

इजरायलका विदेशमन्त्री गिदोन सारले युद्धविरामको दोस्रो चरणका विषयमा यसै हप्तादेखि वार्ता सुरु हुने बताएका छन्।

सुझावित समाचार