नेपाल-क्यानडा सम्बन्धको ६०औँ वर्षगाँठ : दिगो विकासमा सहयोग बढाउने क्यानडाको घोषणा

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल र क्यानडाले आफ्नो कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइरहेका वेला नेपालस्थित क्यानडेली दूतावासले नेपालको दिगो विकासमा समर्थन कायमै रहने जनाएको छ। सोमबार आयोजित विशेष समारोहमा क्यानेडेली दूतावासका प्रथम सेक्रेटेरी इयान राइट्सले यस्तो प्रतिबद्धता जनाएका हुन्।

नेपालमा लैंगिक समानता, दिगो विकास, समावेशी आर्थिक वृद्धिलगायत विषयमा क्यानडाले गर्दै आएको सहयोगबारे पनि कार्यक्रममा जानकारी दिइएको थियो। क्यानेडियन फन्ड फर लोकल इनिशियटिभ्स कार्यक्रममार्फत क्यानडाले नेपालमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। कार्यक्रम व्यवस्थापक जसविन्दर कौरले कार्यक्रमले नेपालको सीमान्तकृत र किनाराकृत समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको बताइन्। उनले आगामी मार्चमा नयाँ प्रस्ताव आह्वान गरिने घोषणा पनि गरिन्। 

यस कार्यक्रमले पछिल्लो समय हासिल गरेका सफलताबारे पनि उनले जानकारी दिएकी थिइन्। जसअन्तर्गत फेयर ट्रेड ग्रुप नेपालले १४५ जना कफी किसान र सयजना महिला हस्तकला व्यवसायीलाई दिगो हस्तकला र उद्यमशीलताको तालिम प्रदान गरेको छ। 

त्यस्तै, हस्पिटल एन्ड रिह्याबिलिटेसन सेन्टर फर डिसएबल्ड चिल्ड्रेनले २५० जना अपांगता भएका बालबालिकालाई स्वास्थ्य शिविर, शल्यक्रिया तथा सहायक उपकरणहरू प्रदान गरेको छ भने तीन सय समुदाय सदस्यलाई अपांगता व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ। माइती नेपालले धनुषा जिल्लामा बालविवाहमा १० प्रतिशन कमी ल्याउन सफल भएको छ। ४० जना महिलालाई जीवन उपयोगी सिप तालिम प्रदान गर्ने तथा ३० जना महिला तथा बालबालिकालाई लैंगिक हिंसाबाट जोगाउने काम पनि सफल भएको छ।

मिडिया एड्भोकेसी ग्रुपले ८१ जना महिला पत्रकारलाई राजनीतिक रिपोर्टिङबारे प्रशिक्षण दिएको थियो। दृष्टिविहीन महिलाको क्षेत्रमा काम गर्ने प्रयत्न नेपाल, अपांगता भएका यौनिक अल्पसंख्यकहरूको संस्था (रेन्बो डिसएबिलिटी नेपाल), सीमान्तकृत समुदायका लागि काम गर्नेलगायत विभिन्न सामाजिक संस्थालाई क्यानेडियन फन्ड फर लोकल इनिसियटिभ्सले सहयोग गर्दै आएको छ।

सुझावित समाचार